नेपालगन्ज, ३० कात्तिक । नेपाल एयरलाइन्सको नेपालगन्ज–काठमाडौं उडान सुरु भएको दुई महिना नबित्दै फेरि टिकट बिक्री बन्द गरिएको छ । एयरलाइन्सका नेपालगन्जस्थित अधिकारीहरूले केन्द्रबाटै उडान बन्द गरिएको जानकारी दिए ।
टिकट बिक्री बन्द गरिएका कारण नेपालगन्ज–काठमाडौं आउजाउ गर्ने सर्वसाधारण मारमा परेका छन् । केन्द्रले जानकारी नदिँदा एयरलाइन्सका अधिकारी अन्योलमा छन् । गत सेप्टम्बर २ तारेखबाट नेपाल एयरलाइन्सले उडान सुचारु गरेको थियो । नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज–काठमाडौंका लागि मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको थियो ।
सरकारी भएका कारण २ हजार ८ सयदेखि ३ हजार २ सय रुपैयाँ एकतर्फी भाडा तोकिएको छ । तर, निजी एयरलाइन्सले भने ६ हजारदेखि ९ हजार रुपैयाँसम्म एकतर्फी भाडा लिँदै आएका छन् । सरकारी जहाज बन्द भएपछि निजी एयरलाइन्सले त्योभन्दा बढी महँगो भाडा लिने गरेका छन् । नेपाल एयरलाइन्सको जहाज बिहीबार नोभेम्बर १६ तारेखमा उडान हुने तालिका छ ।
‘काठमाडौंका लागि धेरै यात्रु जहाज टिकट लिन आइरहनुभएको छ । तर, केन्द्रबाटै टिकट ओपन नगरिएपछि कसरी टिकट बिक्री गर्नु,’ नेपाल एयरलाइन्सका क्षेत्रीय प्रमुख मुक्तिराम पाण्डे भन्छन्, ‘केन्द्रबाट अधिकारिक पत्र आएको छैन । टिकट बिक्री भने बन्द गरिएको छ ।’ नेपाल एयरलाइन्सको जहाजले निजी एयरलाइन्सको भीडमा सरकारी उपस्थिति देखाउँदै आएको थियो ।
नेपालगन्ज–काठमाडौंका लागि बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सलगायतका जहाजहरू दैनिक उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले भने साताको तीन दिन मात्र उडान गर्दै आएको थियो । तर, सरकारी जहाज उडान नियमित हुन सकेको छैन । नेपाल एयरलाइन्सका नायब महाप्रबन्धक गणेशबहादुर थापाले पाइलटलाई बिदा दिनुपर्ने भएका कारण उडान नभएको हुन सक्ने प्रतिक्रिया दिए । ‘पाइलटले आफ्नो डयुउटीको समयबाहेक थप उडान भर्दैनन् । त्यसले समस्या भएको हुन सक्छ,’ उनले भने, ‘नेपालगन्ज–काठमाडौं उडान बन्द गरिएका छैन ।’
नेपाल एयरलाइन्सका नेपालगन्ज स्टेसन म्यानेजर तुलसी उपाध्यायले सर्वसाधारणहरू टिकट किन्न आइरहेको बताए । तर, केन्द्रबाटै खुला नगरिएका कारण बिक्री गर्न नसकेको जनाए । ‘बिहीबार हुने उडानका लागि टिकट बिक्री गर्न सकेका छैनौं । केन्द्रबाटै बुझ्नुपर्छ,’ उनले भने, ‘नेपाल एयरलाइन्सको जहाज सञ्चालन भएपछि निजीलाई पनि भाडा वृद्धि नगर्न दबाब पर्दै आएको थियो ।