हामीले खोजेको जनगणतन्त्र हो : अध्यक्ष गजुरेल

हामीले खोजेको जनगणतन्त्र हो : अध्यक्ष गजुरेल

सिरहा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सिरहाको सुखीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मंगलबार मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरुले खोजेको जनगणतन्त्र भएको बताउनु भएको छ ।
चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, “अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र यो देशका नोकरशाही तथा दलाल संसदवादी पुँजीपतिवर्गले कब्जा गरेको छ । यो तथाकथित लोकतान्त्रिक गणतन्त्र गुण्डा नाइके, तस्कर, भ्रष्टाचारी, माफिया, विदेशी दलाल, नवधनाढ्य, सम्भ्रान्त वर्गको लागि मात्र भयो, जनताको लागि हुन सकेन । त्यसैले हामीले खोजेको जनताको गणतन्त्र हो, जनगणतन्त्र हो ।”
अध्यक्ष गजुरेलले अहिले संसदवादी दलहरु जनतालाई खरिद गर्न लागिरहेको उल्लेख गर्दै एमाले– मोकेको कथित वाम र कांग्रेस–राप्रपालगयतको कथित लोकतान्त्रिक गठन्धन प्रतिक्रियावादी भएकोले यी दुवै गठबन्धन जनविरोधी र राष्ट्रविरोधी रहेको दावी गर्नुभयो । सरकार पनि जनविरोधी र राष्ट्रघाती रहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले भन्नुभयो, “अरु देशमा नायकहरुले देश चलाउछन्, नेपालमा खलनायकहरुले देश चलाइरहेका छन् ।”
मुलुकका समग्र स्रोत साधनहरुलाएई अधिकतम उपयोग गरेर समृद्ध बनाउनुको सट्टा विदेशीहरुलाई कौडीको भाउमा बेच्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले देश र जनताको रक्षाका लागि मुलुकमा नयाँ जनवादी क्रान्ति गर्नु अनिवार्य रहेको बताउनु भयो । संसदीय व्यवस्था, सत्ता र संविधानलाई फालेर मुलुकमा जनताको गणतन्त्र स्थापना नगरेसम्म गरिखाने जनताको हित नहुने दावी गर्दै अध्यक्ष गजुरेलले नयाँ जनवादी क्रान्तिको आधार निर्माण गर्नकै लागि आफूहरुले निर्वाचनको उपयोग गरेकोले जनसमुदायलाई देजमोका उम्मदेवारहरुको पक्षमा मतदान गर्न अपील गर्नुभयो ।
उक्त चुनावी सभामा देजमोका कार्यालय सदस्य कमल चौधरी, सिरहाको देजमोका उम्मेदवार जितेन्द्र सिंह, मोर्चाका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेल, मोहन तामाङलगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन क्रान्तिकारी माओवादीका जिल्ला संयोजकसमेत रहनुभएका सुरेन्द्र साहले गर्नुभएको थियो । धानुक मण्डलले अध्यक्षता गरेको सभालाई संजय सिंहले स्वातग गर्नुभएको थियो ।
यता बुधबार सर्लाहीको २ नं. निर्वाचन क्षेत्रको बसतपुरमा आयोजित सभालाई पनि मोर्चाका अध्यक्ष गजुरेलले सम्बोधन गर्नुभएको छ । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशलाई स्वतन्त्र बनाउनुपर्छ, उत्पीडितहरुलाई अधिकार सम्पन्न गराउनु पर्छ भनेर हामी लडिरहेका छौं । ०५२ सालमा जनयुद्ध सुरु गरेर १३ हजारभन्दा बढीको रगत त्यसैका लागि बगेको थियो । तर संसदीय व्यवस्थाका विरुद्ध हतियार उठाएका प्रचण्ड–बाबुरामहरु त्यही संसदीय व्यिवस्थालाई मजबुत बनाउन लागिपरिरहेका छन् । हामी अहिले पनि संसदीय व्यवस्था बदल्नका लागि आन्दोलनलाई निरन्तरता दिन चाहन्छौं ।”
जनयुद्ध लोकतान्त्रिक गणतन्त्रको लागि नभएर जनताको गणतन्त्र, जनगणतन्त्रका लागि लडिएको स्मरण गर्दै अध्यक्ष गजुरेलले जनगणतान्त्रिक व्यवस्थाले मात्र किसान, मजदुर, उत्पीडित, दलित, महिला मुस्लिमहरुको अधिकारको सुनिश्चित गर्ने दावी गर्नुभयो ।
उक्त सभामा नेकपा (क्रान्तिकारी माओवादी)का नेता कृष्णदेवसिंह दनुवार, कमल चौधरी, मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेल र उक्त निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार धर्मराज दाहालले मन्तव्य राख्नुभएको थियो ।
देजमोका जिल्ला नेता सुरेश शाहले अध्यक्षता गरेको सभाको संचालन संजय यादवले गर्नुभएको थियो भने क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी बलराम न्यौपानेले स्वागत गर्नुभएको थियो । सभामा देजमो जिल्ला सयोजक ठकन महतो लगायत समानुपातिक तर्फका प्रतिनिधसभा र प्रतिनिधिसभाका उम्मदेवारहरुको पनि उपस्थिति रहेको कार्यक्रममा उपस्थित मोर्चा कार्यालय सचिव गजुरेलले बताउनु भयो ।