काठमाडौं, २८ कात्तिक । सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ । समूह एफमा फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको यमनको ४ खेलबाट ६ अंक छ ।

छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । घरेलु दर्शकको साथ पाएको नेपालले बहादुरीपूर्ण प्रदर्शन गर्दै फिलिपिन्सलाई बराबरीमा रोकेको हो ।

अनिल गुरुङको सन्यास

फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।

सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनी पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीमा पर्न संघर्षरत थिए । अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर