एजेन्सी । अमेरिकाले कोरियाली प्रायद्वीपको वरिपरि अहिलेसम्मकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास गरेपछि उत्तर कोरियाले सो क्षेत्रमा ‘हालसम्मकै सबैभन्दा खराब परिस्थिति उत्पन्न भएको’ बताएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत जा सङ नामले महासचिव एन्टोनियो गुटेर्रेसलाई एक पत्र पठाउँदै अमेरिका ‘अन्धाधुन्ध युद्ध अभ्यासमा लागेको’ आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरिया भ्रमणको छेक पारेर तीन विमानबाहक जहाजसहित अमेरिकाले दक्षिण कोरिया र जापानसँग गरेको संयुक्त नौसैनिक अभ्यास मंगलबार सकिँदैछ ।
शनिबार सुरु भएको सो अभ्यासमा युएसएस रोनाल्ड रिगन, युएसएस थियोडोर रुजवेल्ट र युएसएस निमित्ज नामक एक लाख टनभन्दा बढी तौलका तीन विमानवाहक जहाज र तिनका अन्य आक्रमणकारी जहाज र क्षेप्यास्त्रवाहकहरु समावेश छन् । अभ्यासमा अन्य अनेकाँै दक्षिण कोरियाली र जापानी जहाज पनि सहभागी भएका छन् । करिब १० वर्षपछि सो क्षेत्रमा यसरी तीन ठूला विमानबाहक जहाज एकसाथ भेला भएका हुन् ।
‘अमेरिकाले वर्षैभरी नबिसाइ आफ्ना पिछलग्गुहरुको साथमा हाम्रो गणतन्त्रलाई विनाश गर्न ठूलो मात्रामा गरेको आणविक युद्ध अभ्यास र ब्ल्याकमेलले एउटै कुराको पुष्टि गरेको छः त्यो हो, हामीले रोजेको बाटो सही छ र हामी अन्तिमसम्म त्यही बाटोमा जानुपर्छ,’ राजदूत जा सङ नामले भनेका छन् ।
‘बी–१बी र बी–२ बमवर्षक विमान दक्षिण कोरियाको आकाशमा लगातार उडाएर अमेरिकाले आक्रमणकारी मुद्रा अपनाएको’ पनि उनले आरोप लगाए । उनले ‘सिंगो मानवतामाथि भयानक प्रलय निम्त्याउन लागिपरेको अमेरिकाप्रति आँखा चिम्लिएको’ भन्दै संयुक्त राष्ट्रसंघको आलोचना पनि गरे ।




























