
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको निर्वाचन चिन्ह “मुठ्ठी” चुनाव चिन्ह लिएर आधा दर्जन जनयुद्धकालीन युद्ध पत्रकारहरु प्रदेश र प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका छन् । क्रान्तिकारी पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कुमार शाह, बरिष्ठ पत्रकार तथा साहित्यकार हिरामणि दुःखी, क्रान्तिकारी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरु गोविन्द काफ्ले, केशव अधिकारी अविरल, क्रान्तिकारी पत्रकार महासंघका वर्तमान केन्द्रीय उपाध्यक्ष नारायण पंगेनी र महासंघका कार्यालय सदस्य लोकराज जैसी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
मुलुकमा गरिखाने श्रमजीवि जनताको लागि परिवर्तन आएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको वास्तविक समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै मुलुकमा जनताको वास्तविक गणतन्त्रको स्थापना हुनै पर्दछ । त्यसका लागि वर्तमान दलाल संसदीय व्यवस्था, सत्ता र संविधानलाई ध्वस्त पार्न जरुरी छ भन्ने सन्देश जनतामा प्रवाह गर्न नै आफूहरुले उम्मदेवारी दिएको उहाँहरुको स्पष्टोक्ति छ । उहाँहरु भन्नुहुन्छ– ‘क्रान्तिको विकल्प छैन ।’
जनादेशका पूर्वसम्पादक दुःखी भन्नुहुन्छ– क्रान्तिको आधार निर्माणका लागि उम्मेदवारी
वाम गठबन्धनबाट हिराचन्द्र केसी र लोकतान्त्रिक गठबन्धनबाट दिपक गिरीसँग दाङको ३ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका पत्रकार तथा साहित्यकार हिरामणि दुःखीले ३० वर्ष नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारामा गुजारीसक्नुभएको छ । ०४३ सालमा मोटो मशालको पार्टी सदस्य लिएदेखि ०४७ एरिया कमिटि, ०५० एरिया सेक्रेटरी, ०५३ सालदेखि जिल्ला कमिटी, ०५८ सालदेखि क्षेत्रीय व्यूरो सदस्य हुँदै ०७० को सातौ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिको जिम्मेवारीमा रहँदै आउनुभएका दुःखीले जनउभार, जनादेश, नवचेतना, जनक्रान्ति, दायित्ववोध साप्ताहिकको सम्पादक भएर पनि जिम्मेवारी सम्हालीसक्नुभएको छ भने वेदना, कमल मासिकको पनि उहाँ सम्पादक हुनुहुन्थ्यो । उहाँका कविता संग्रह– २, कथा संग्रह र संस्मरण संग्रह प्रकाशित छन् । दुःखी भन्नुहुन्छ, “दक्षिणपन्थी र वामको नाममा भएको दुई प्रतिक्रियावादी ध्रुवीकरणले जनतामा भ्रम पारेको अवस्था, पार्टी तथा क्रान्तिकारीहरुको अवस्था कमजोर रहेको अवस्थामा क्रान्तिको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनको उपयोग गरेका हौं ।”
पश्चिमा देशहरुको नक्कल गरेर संसदवादीहरुले मुलुकमा दुई दलीय निरंकुशता लाद्न खोजेका छन् र उनीहरु क्रान्तिकारी शक्तिमाथि निर्मम दमनमा उत्रिन खोजिरहेका छन्, त्यसको प्रतिरोध गर्न र नयाँ जनवादी क्रान्तिविना जनताको अधिकार स्थापित गर्न सम्भव छैन भनेर जनतालाई बुझाउन पनि निर्वाचनको उपयोग गरेको दुःखीको विश्लेषण छ । दुःखीले माओवादी आन्दोलन र जनयुद्धको धाराको रक्षा र विकासका लागि आफूले उम्मेदवारी दिएको भन्दै जनतामा जाँदा सकारात्मक सmुभाव सल्लाह पाएको बताए । जनतामा संसदवादी दलहरुप्रति तीव्र घृणा र आक्रोश रहेको पनि दुःखीले जानकारी दिनुभयो ।
जनदिशाका पूर्वसम्पादक कुमार शाहको पूर्वअर्थमन्त्री वर्षमानलाई चुनौती
अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका कुमार शाह शिक्षक पेशा छोडेर जनयुद्धको थालनीसँगै युद्धमा होमिनुभयो । जनयुद्धकालमा जेल, नेल र यातना भोग्नुभएका शाह जनदिशा दैनिक÷साप्ताहिकका सम्पादक, रेडस्टार अंग्रेजी पत्रिकाका सम्पाद हुँदै क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय अध्यक्ष रहीसक्नु भएको छ । उहाँ अहिले क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकोे सचिवालय सदस्य समेत हुनुहुन्छ । शाहले मंसिर १० मा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यको लागि रोल्पाबाट उम्मेदवारी दिनुभएको छ । जिल्लाका बौद्धिक तप्कादेखि जनसर्वसाधारणसम्म लोकप्रिय रहेका शाह पूर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता बर्षमान पुनसँग चुनावी मैदानमा हुनुहुन्छ । दशवर्षे जनयुद्धको उद्गम थलो रहेको, जनयुद्धको विरासतको नेतृत्व गरेको र नयाँ जनवादी क्रान्तिको मार्गमा हिडिरहेको हुनाले पनि रोल्पाली जनताले कुमार शाहको पक्षमा मतदान गर्ने पनि स्थानीय बुद्धिजीवीहरुको विश्लेषण छ । जनयुद्ध र बलिदानमाथिको सम्मानका लागि पनि रोल्पाली जनताले “मुठ्ठी” चिन्हमा मतदान गर्ने उनीहरुको बुझाइ छ । वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गरेको, जनयुद्धका एजेण्डाहरुलाई छोडेको र प्रतिक्रियावादी वर्गमा पतन हुन पुगेको भन्दै बर्षमान पुनलाई रोल्पाली जनताले मतदान गर्न ठाउँ ठाउँमा अस्वीकार गरेको पनि क्रान्तिकारी माओवादीका स्थानीय नेताहरुले बताएका छन् । कुमार शाह भन्नुहुन्छ, “रोल्पाली जनताले आफ्नै महान र गौरवशाली इतिहासमाथिको सम्मानका लागि पनि “मुठ्ठी” चिन्हमा मतदान गर्ने र नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महान अभियानमा साथ दिने कुरामा म विश्वस्त छु ।”
महासंघका उपाध्यक्ष नारायण पंगेनी गठबन्धनलाई चुनौती
एमाले गठबन्धनका तिलक महत र कांग्रेस गठबन्धनका विष्णु कार्कीका लागि क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष नारायण पंगेनीको उम्मेदवारी चुनौतीपूर्ण बनेको छ । नवलपुर–२ बाट प्रतिनिधिसभाका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट उम्मेदवारी दिएका पत्रकार पंगेनीबाट कांग्रेस एमालेका उम्मेदवारहरुले चुनौतीको महसुस गर्न थालेको स्थानीय पत्रकारहरुले टिप्पणी गरेका छन् । एमाले र कांग्रेसका उम्मेदवारहरु ठेकेदारी र तस्करी पृष्ठभूमिका व्यक्तिहरु भएकोले मूलधारका दर्जनौं मिडियामा काम गरिसक्नुभएका पत्रकार पंगेनीको उम्मेदवारीबाट उनीहरु त्रस्त बन्न थालेको बुझिएको छ । जनयुद्धकालदेखि नै पत्रकारिता गर्दै आउनु भएका पत्रकार पंगेनीले जनादेश, रेडियो पश्चिामाञ्चल, जनदिशा दैनिक, अनलाइनखबर, राटोपाटी, बुटबल दैनिक, बुटबल टुडे, खबर डवली, जनता टेलिभिजनलगायत दर्जनौं मिडियामा काम गरिसक्नुभएको छ । दलाल संसदीय व्यवस्थाका विरुद्धमा नयाँ जनवादी क्रान्तिको सांगठानिक आधार तयार पार्ने उद्देश्यले उम्मेदवारी दिएको पत्रकार पंगेनीको भनाइ छ । ठेकेदार, तस्कर, गुण्डा नाइकेहरुले करोडौं खर्च गरेर जित्ने यो चुनाव र यो व्यवस्थाबाट श्रमजीवि, शोषित उत्पीडित जनताको कुनै पनि हित नहुने उहाँको ठहर छ ।
दोलखामा गोविन्द काफ्लेको चर्चा
क्रान्तिकारी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गोविन्द काफ्ले नेकपा (क्रान्तिकारी माओवादी) दोलखाको सेक्रेटरी समेत हुनुहुन्छ । उहाँले जनादेश, जनदिशा, नेपाल एफएम, नेपाल टेलिभिजनलगायतका मिडियाहरुमा काम गरिसक्नुभएको छ । उहाँले एमाले गठबन्धनका उम्मदेवार पार्वत गुरुङविरुद्ध प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । माओवादी जनयुद्धबाट आएका जिल्लाका धेरै युवाहरु निजी स्वार्थको पछि लागेर संसदीय राजनीतिको फोहरी आहालमा डुबुल्की मार्दै गर्दा काफ्ले भने दशवर्षे महान जनयुद्ध र ऐतिहासिक बलिदानको विरासत बचाउँदै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने अभियानमा सरिक छन् । नैतिकता, इमान्दारिता, मूल्य र आदर्शको राजनीति स्थापित गर्दै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गरेर यो व्यवस्थाबाट गरिखाने जनताको कुनै अधिकार प्राप्त हुँदैन भन्ने तथ्य जनतालाई बुझाउन एकदमै आवश्यक रहेकोले पार्टी र मोर्चाको नीति अनुसार आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
एमालेका बामदेवसँग भिड्दै पत्रकार जैसी
राजनीति शास्त्रमा स्नाकोत्तर गरी हाल कानुनमा अधिवक्ताको विद्यार्थी रहेका लोकराज जैसी क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य हुनुहुन्छ । रेडियो जनआवाज बाँके, नेपाली एक्प्रेस राष्ट्रिय दैनिक, नेपालगंज दैनिक, रातोपाटी अनलाईन, खबर डबली अनलाईन, अनुगमन मासिक, आवाज एफएम लगायत मिडियामा काम गरिसक्नुभएका जैसी बार्दिया–१ बाट प्रतिनिधिसभाका लागि एमाले गठबन्धनका नेता वामदेव गौतमसँग चुनावी प्रतिस्पर्धामा हुुनुहुन्छ । देजमो उद्देश्य अनुसार जिल्लामा संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तारमा जोड दिंदै चुनावी घरदैलोमा जुटेका जैसीको बर्दिया–२ मा चर्चा बाक्लिएको छ ।
एमालेका प्रदीप ज्ञवालीविरुद्ध गुल्मीमा केशव अधिकारी
कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीसँग गुल्मी–१ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका जिल्लाका युवा नेता केशव अधिकारी ‘अवीरल’ पनि युद्ध पत्रकार हुनुहुन्छ । उहाँले पनि जनयुद्धकालमा जनादेश, जनदिशालगायतका पत्रिकामा काम गर्नुभयो । उहाँ पनि क्रान्तिकारी पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
संसदीय व्यवस्थालाई ध्वस्त पार्दै मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म श्रमजीवि जनताको मुक्तिको सपना पूरा नहुने उहाँको ठहर छ । संसदीय व्यवस्थाको जनविरोधी चरित्रको भण्डाफोर गर्न र नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत सिर्जना र संगठित गर्न आफूले उम्मदेवारी दिएको उहाँको स्पष्टोक्ति छ ।