आदरणीय जनसमुदाय,
हामी निर्वाचनको उपयोगको प्रक्रियामा यस सभामा उपस्थि भएका छौं । यस १० नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उठ्नु भएका क.सुरेश श्रेष्ठ, प्रदेश सभामा उठ्नु भएका क. रत्न महर्जन, सुरेश तामाङ्ग लगायत समानुपातिक सदस्यमा उठ्नु भएका देशैभरिका सम्पूर्ण उम्मेदवारहरुलाई विजयको दिशामा उन्मुख हुन हार्दिक शुभकामना एवं बधाई छ ।
अहिले देशको परिस्थिति जटील छ । देश, समाजलाई रुपान्तरण गर्न, अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्न देशमा महान् दशवर्षे जनयुद्ध भयो । हामी त्यसमा होमियौं । आदरणीय जनसमुदायलाई अवगत भएकै कुरा हो यो । त्यो बेला देशमा संसदीय व्यवस्था थियो, त्यसको विरुद्धमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्न जनयुद्धको थालनी भयो, विकास भयो । त्यस प्रक्रियामा थुप्रै नेपाली आमाका वीर सपुतहरुले रगत बगाए, योद्धाहरुले बलिदान दिए, सहादत भए । कयौं योद्धाहरु बेपत्ता भए, अपाङ्ग, घाइते बने । हज्जारौंको बलिदानले सिञ्चित महान् जनयुद्ध विजयको सन्निकट पुग्दै गर्दा गम्भीर धक्का खान पुग्यो । ठुलो धोका भयो । यदि त्यस किशिमको धोका र धक्का नखाएको भए आज देश अर्कै स्थितिमा हुन्थ्यो । महान् जनयुद्धमा धोका कसबाट भयो ? आज घाम जत्तिकै छर्लङ्ग छ । जनयुद्धको नेतृत्व गर्ने र धोका दिने, एउटै ब्यक्तिबाट भयो । त्यसबेला क्रान्तिकारीहरुले पनि बुझ्नमा सिमा रह्यो । इतिहासको विडम्बना हो यो । क्रान्तिकारीहरुले जनयुद्धका उपलब्धी, जनताका बलिदानलाई रक्षा कसरी गर्ने, कसरी जाने भन्ने विषयमा सिमा रह्यो । यसलाई गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
पहिलो संविधानको निर्वाचन, विघटन हुँदै दोश्रो संविधान सभाको निर्वाचनपछिसम्म आउँदा उही पुरानै सत्ता दोहोरिएको छ । पहिले पनि उही, अहिले पनि उही छ । संसदीय व्यवस्थाको विरुद्धमा लड्दाखेरी सत्तामा उही काँग्रेस, उही एमाले, उही राप्रपा थियो, अहिले पनि उहि छन् । परिवर्तन कहाँ भयो ?
राष्ट्रिय स्वाधिनताको विषयमा हेर्ने हो भने देश सिक्किमीकरणको दिशामा अगाडि बढीरहेको छ । नेपाल प्राकृतिक श्रोत साधन एवं मानवीय श्रोतका हिसावले पनि समृद्ध देश हो । तर दुबै ठुलो जनशक्ति विदेशीन बाध्य छ । पहाददेखि तराईका अधिकांश जमिन बाँझै छन् । युवा शक्तिहरु रोजगारी र अवसरको अभावमा विदेशीन बाध्य छ । नदी नाला, प्राकृतिक श्रोत साधनहरु विदेशीलाई सुम्पिदिएर कमिशन पचाइरहेका छन् । विदेशीको हातमा श्रोत साधन दिएर यहाँका नेताहरु रमाइरहेका छन् । तसर्थ परिवर्तन खासै आएको छैन, रुपान्तरण खासै भएको छैन । त्यसैले देशमा परिवर्तन आवश्यक छ, क्रान्ति आवश्यक छ । क्रान्ति विना राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान सम्भव छैन । हिजो क्रान्तिमा धोका भएर आम जनसमुदाय, क्रान्तिकारी पंक्ति लगायत सबै सबै पिडामा छन्, क्रान्ति गर्ने नेतृत्वबाटै धोका पाएर समग्र क्रान्तिकारी शक्ति नै बदनाम भएको अवस्था छ । क्रान्ति ल्याएको शक्ति माओवादी बदनाम भएको छ । अब, समग्र प्रक्रियामा भएका कमि कमजोरी सच्याउँदै नयाँ ढंगले रुपान्तरण प्रक्रियामा जाने पार्टीले अठोट गरको छ । यस अवस्थामा पार्टी दर्ता गरेका छैनौं । यही अवस्थामा रहेर पार्टी अगाडि बढ्न सक्दैन । त्यसैले पार्टीले आफु सन्निकट रहेका संगठनहरुलाई, मोर्चाहरुलाई समर्थन गर्दछौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले एउटा खवरदारी गरेको छ । मोर्चाले आफ्नो नीति तथा कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्र स्थापना र जनजीविकाका लागि जनताका वीचमा जान्छौं भनेर प्रतिवद्धता गर्नु भएको छ । घोषणा पत्रमा पनि प्रतिवद्धता दोहो¥याउनु भएको छ ।
लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको जुन हौवा अहिले पिटिरहेको छ, वास्तवमा ती गठबन्धन न त लोकतान्त्रिकै न त वामै । लोकतन्त्रको नै रक्षा गर्ने नसक्ने र नगर्ने शक्तिहरु कसरी लोकतान्त्रिक हुन्छ ? अनि चरित्र, कार्य सबै हिसावले दक्षिणपन्थी हुने, प्रतिक्रियावादमा अगाडि बढिरहने पनि कहिँ वाम हुन्छन् त ? त्यसैले ती गठबन्धनले जनताका समस्या, देशको समस्या समाधान गर्दैन, गर्न पनि सक्दैन । बरु यो मोर्चाले स्वतन्त्र पहिचानको आधारमा राष्ट्रियताको रक्षा, जनतन्त्र स्थापना गर्न र जनजीविकाको समस्यालाई समाधान गर्ने प्रतिवद्धता सहित अगाडि आएको हुनाले हाम्रो पार्टीले मोर्चा र मोर्चाका उम्मेदवारहरुलाई समर्थन गरेका छौं । साथै सम्पूर्ण आमजनसमुदाय, शुभचिन्तक, शुभेच्छुक, समर्थक र पार्टी सदस्यहरुमा मोर्चाका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मतदान गरी जिताउन हाम्रो अनुरोध छ । अहिले लोकतान्त्रिक र वाम गठबन्धन भन्नेहरुले सत्ता शक्तिको दुरुपयोग, पैसाको खोलो बगाई जनतालाई प्रभावित पार्ने र चुनाव जित्ने प्रपञ्च गर्दैछ, त्यसले जनता, देशको हितमा काम गर्र्दैन । यस्तो अनैतिक, भ्रष्ट कार्यको विरुद्ध, देशको दुर्गतिका कारकहरुका विरुद्धमा आम जनसमुदायले मोर्चाका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मतदान गरी तिनीहरुलाई पाठ सिकाउन जरुरी छ । जनताको शक्ति देखाउन जरुरी छ ।
जहाँसम्मको काठमाण्डौ १० नं क्षेत्रको सवाल छ, त्यो भनेको वामपन्थीहरुको गढको रुपमा लिने गरिन्छ । अहिले वामपन्थी कोही सक्कली छन्, कोही नक्कली । आदरणीय जनसमुदायहरुले को सच्चा हो को नक्कली सबै चिन्नु भएको छ, पहिचान गर्नु जरुरी छ । देजमोका उम्मेदवारहरुलाई यहाँ जनसमुदायहरुले भोट दिई सच्चा वामपन्थीहरुलाई बलियो पार्न विशेष अनुरोध गर्दछु ।
हाम्रो पार्टी, मोर्चा नयाँ विकल्प हौं । देशमा क्रान्ति भएको छैन, रुपान्तरण भएको छैन, धोका भएको छ, यसको विरुद्ध नयाँ क्रान्ति गर्न आवश्यक छ । हाम्रो पार्टी नयाँ क्रान्ति गर्न गइरहेका छौं । मोर्चाका उम्मेदवारहरुलाई आमजनसमुदायले मतदान गरी जिताउनु भएमा त्यही मञ्च उपयोग गरेर प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र तिनका पक्षधरहरुविरुद्ध राजनैतिक विरोध र भण्डाफोर गर्न सहयोग हुने, क्रान्ति तयारी एवं सम्पन्न गर्न सहयोग हुने छ । जनयुद्धको क्रममा चुनाव बहिष्कार गरेका थियौं, त्यो तत्कालिन हिसावले एकदम सही थियो । र अहिले, हामीले उपयोगको नीति लिएका छौं जुन आजको वस्तुगत आवश्यकतासँग नजिक छ । चुनावको उपयोगको क्रममा जनता वीच घनिभूत रुपमा गएर क्रान्तिको तयारी एवं प्रतिक्रियावादीहरुको भण्डाफोर सहयोग भएको छ । २०४८ सालमा पार्टी एकता भएको थियो । निर्मल लामा, रुपलाल विश्वकर्मा, पातलो मसाल र हामी मोटो मशाल मिलेर एकता केन्द्र बनाएका थियौं । यसको उद्देश्य जनयुद्धको तयारी र शुरुवात गर्ने भन्ने थियो । त्यहीक्रममा त्यसबेलाको संसदीय चुनावको उपयोग गरियो र जनताले तीन नम्वरको राजनैतिक शक्तिको रुपमा स्थापित गराइदियो । इतिहासको यसै अनुभव र पाठलाई ध्यान दिएर अब गर्ने नयाँ क्रान्तिको तयारी र शुरुवातको लागि पनि चुनाव आवश्यक र सहयोगी हुनेछ । यसअर्थमा यी गठबन्धन नामका संसदीय दलहरुले चुनावमा भाग लिनु र हामीले उपयोगको कोणबाट चुनावमा जानु गुणात्मक रुपमा अन्तर रहेको छ । भ्रम फैलाइएको छ कि काँग्रेस, एमाले, माकेसँगै क्रान्तिकारी माओवादी समर्थित देजमो पनि चुनावमा आयो । पुरानै राज्यसत्ता, व्यवस्था र बाहिरी–भित्री प्रतिक्रियावादीहरुसित एकाकार हुँदै पुरानै राज्यसत्ता र व्यवस्थालाई बचाउन, सुदृढ गर्न संसदीय दलहरु चुनावमा भाग लिइरहेका छन् भने हाम्रो भने त्यही पुरानो राज्यसत्ता र व्यवस्थालाई फाल्नका निम्ति चुनाव उपयोग गरिरहेका छौं । यो विचारको झिल्को हो । यही अन्तरलाई सम्पूर्ण जनसमुदाय, शुभचिन्तक, समर्थक, पार्टीपंक्तिले ध्यान दिन आवश्यक छ ।
(शनिबार काठमाडौं–१० मा गरिएको जनभेटघाट तथा अन्तक्र्रियामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणबाट व्यक्त विचारमा आधारित)