
काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलाई सार्वजनिक गरिएको हो । त्यस्तै, ३५ वर्षीया सिर्जे महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए ।
पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ । गत असोज २३ गते गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो । २३ गते दिउँसो दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।




पक्राउ परेकाहरुमाथि संगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । उनीहरुलाई अहिले महानगरीय नगर प्रहरी कार्यालय प्रदर्शनीमार्गमा राखिएको छ ।
असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्स्पेक्टर छन् ।