एसीसी यू–१९ एसिया कपमा नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

एसीसी यू–१९ एसिया कपमा नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

मलेसिया, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनाउन सक्यो ।

वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाएका थिए ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । यस्तै नेपालका कप्तान दीपेन्द्र ऐरी र शाहब अलामले २–२ र अनिलकुमार साहले १ विकेट लिएका थिए ।

सुरुआतमा मलेसियाका ओपनर नेपालका पेस बलरमाथि हावी भएका थिए । उसका लागि अजिजले सर्वाधिक २० र कप्तान विरनदिपले १० रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

४.३ ओभरमा मात्र ८ रन दिएर ५ विकेट लिएका नेपालका सन्दीप ‘म्यान अफ दी म्याच’ घोषित भए ।