जनकपुरका वाम बुद्धिजीवीहरुले मनाए अक्टोबर क्रान्तिको सतबार्षिकी

जनकपुरका वाम बुद्धिजीवीहरुले मनाए अक्टोबर क्रान्तिको सतबार्षिकी

काठमाडौं । धनुषाको जनकपुरका वाम बुद्धिजीवीहरुले महान अक्टोबर समाजवादी क्रान्तिको सतवार्षिकी समारोह मनाएका छन् । माक्र्सवादी लेखक तथा चिन्तकको रुपमा परिचित रोशन जनकपुरीको संयोजकत्वमा गठन गरिएको अक्टोबर क्रान्तिको सतवार्षिकी समारोह समितिको आयोजना सम्पन्न गरिएको समारोहमा नेता जनकपुरीले वर्तमान शासकहरुले निषेधको राजनीति गरेको भन्दै दलाल पुँजीवादी अधिनाकयत्व लादेको आरोप लगाउनु भयो । त्यस्ता अधिनायकवादीहरुले सर्वहारावर्गको अधिनायकत्वको विरोध गर्नुको कुनै तुक नरहेको पनि बताउनु भयो । सर्वहारावर्गको अधिनायकत्व स्थापित हुने गरी राज्यव्यवस्थामा परिवर्तन ल्याउन सबै श्रमजीवि, शोषित उत्पीडित वर्ग एकभई लड्नु पर्ने जनकपुरीको भनाइ थियो ।

उक्त समारोहमा बोल्दै प्रा.डा. सुरेन्द्र लाभले देशमा वैचारिक संघर्षको अभावले गर्दा विभिन्न कालखण्डमा भएका आन्दोलनहरु सफल हुन नसकेको बताउनु भयो ।

मुलुकमा आमूल परिवर्तनका निम्ति लेनिन जस्तो नेताको खाँचो रहेको पनि उहाँले औल्याउनुभयो ।

त्यस्तै समारोहलाई सम्बोधन गर्दै निवर्तमान सांसद शितल झाले नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न चरणको आन्दोलनको चर्चा गर्नु भयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता शीतल कर्णले नेपालमा माओवादीले गरेको जनयुद्धको दुरुपयोग गरेकाले क्रान्तिकारी शक्तिहरु एकजुट भई क्रान्तिका निमित्त जुट्न आवश्यक रहेको बताउनु भयो ।

उक्त समारोहमा नेकपा एमालेका नेता कामेश्वर महतो, देशभक्त जनगणतान्त्रिक मोर्चा धनुषाको संयोजक नन्दकुमार झा, अधिवक्ता किशोरी साह, रामानन्द नारायण सिंह, नेता विपती मण्डल, रामचन्द्र दास, यूवा राजिव रञ्जन झा, सुमित कर्ण, नबल मण्डल, शम्भु यादव, अधिवक्ता दिपक केसी र मदन अधिकारी लगायतकाले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।