क्रान्तिकारी माओवादीले भोली अक्टोबर क्रान्तिको शत्बार्षिकी मनाउने 

क्रान्तिकारी माओवादीले भोली अक्टोबर क्रान्तिको शत्बार्षिकी मनाउने 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ क्यालेण्डर अनुसार नोभेम्बर ७ मा पर्ने अक्टोबर क्रान्तिको शत्बार्षिकी नोभेम्बर ७ अर्थात् कात्तिक २१ गते मनाउने भएको छ । पार्टीको ३ नं. प्रदेशको आयोजनामा पार्टी कार्यालय कुपण्डोलमा उक्त कार्यक्रम गर्न लागिएको क्रान्तिकारी माओवादीको ३ नं. प्रदेश कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य‘किरण’, बरिष्ठ नेताहरु सीपी गजुरेल, रामसिंह श्रीसलगायतका नेताहरुको उपस्थिति रहने बताइएको छ ।

 रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको १०० वर्ष पुगेको सन्दर्भ पारेर बर्षभरि नै अक्टोबर क्रान्तिको शत्वार्षिकी विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरुले मनाइरहेका छन् । नेपालमा पनि क्रान्तिकारी माओवादी लगायतका कम्युनिष्ट क्रान्तिकारीहरुले पनि विभिन्न कार्यक्रम गरी अक्टोबर क्रान्तिको शत्बार्षिकी मनाइरहेका छन् । 

यसैबीच, अक्टोबर क्रान्तिको सतवार्षिकी समारोह सम्बन्धी रुसको राजधानी मास्को, पुरानो नाम प्रेत्रोग्राद, विचमा सेयन्ट पिटर्सवर्ग र हालको लेनिनग्रादमा सञ्चालन गरिने कार्यक्रमहरुमा भाग लिनका लागि आइतबार १५ सदस्यीय नेपाली टोली रुसको लेनिनग्राद पुगेको छ । उक्त समारोहमा भाग लिन गएका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसीका अनुसार कोरिया, बेल्जियम, ब्राजिल, नेदरल्यान्ड, इजरायल लगायतका देशहरुबाट पनि सो ऐतिहासिक कार्यक्रममा भाग लिन लेनिनग्राद पुगेका छन् । सतवार्षिकी कार्यक्रमहरु ७ नोभेम्बरबाट लगातार चारदिनसम्म गरिने नेता केसीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।