आगामी मंसिर १० र २१ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनले देशको राजनैतिक पारो जति तात्दै गएको छ, त्यसले दुरगामी रुपमा पार्ने सकारात्मक तथा नकरात्मक प्रभावप्रति आ–आफ्नै प्रकारका व्याख्या विश्लेषण शुरु भएका छन् । एकथरी मानिसहरु यो निर्वाचनले देशको कायापलट गर्ने चर्चासहित निर्वाचनमा होमिएका छन्, भने आम जनताले यो निर्वाचनलाई संसदीय पार्टीको सत्ता प्राप्ति तथा नियमित प्रक्रियाको अर्थमा अथ्र्याइरहेका छन् । जे होस, यो निर्वाचनले सबै राजनैतिक पार्टी तथा संगठनहरुलाई प्रभाव पारेको कुरा सत्य हो । संसदीय व्यवस्थाभित्रको संकटलाई टार्न नसके पनि एकछिनका लागि आत्मसन्तुष्टी भने अवस्य दिन सक्दछ । निर्वाचनले समाजको अग्रगामी परिवर्तनका लागि खासै भूमिका खेल्न नसके पनि यो यतिवेलाको एउटा महत्वपूर्ण परिघटना अवश्य हो ।  यतिवेला संसदवादी पार्टीहरुले संसदीय व्यवस्थालाई जसरी अजम्बरी बताउँदै त्यसको पक्षमा वकालत गरेका छन् । तर, यसको पश्चगामी चरित्रका कारणले दिनदिनै यो व्यवस्था संकटमा धकेलिंदै गएको छ ।

सामन्यतः सामन्तवादी समाजमा निरंकुशतन्त्रका विरुद्धको संघर्षमा संसदीय व्यवस्थाको जुन प्रगतिशिल चरित्र थियो, अब त्यो चरित्र पनि बाँकी नरहेको र मूलतः साम्राज्यवाद विशेष गरेर नवऔपनिवेशिक शोषण र उत्पीडनको माध्यम बनिरहेको पृष्टभूमिमा त्यसका विरुद्धको संघर्ष नै आजको केन्द्रीय विषय हो । संसदीय व्यवस्थाको प्रतिकृयावादी चरित्रलाई आम जनताका बीचमा प्रष्ट गर्न र जनताको संघर्षलाई संगठित गर्न तात्कालीन रुपमा निर्वाचनको उपयोगद्वारा यो व्यवस्थाको भण्डाफोर गर्न र जनतालाई संगठित गर्न तुलनात्मक हिसावले उपलब्धी हुने कुरालाई ध्यान दिएर नै यो निर्वानमा उपयोग गर्ने नीति अबलम्बन गरिएको हो । जहाँसम्म क्रान्त्किारी कम्युनिस्टहरुका लागि संसदीय व्यवस्थाभित्रको निर्वाचन नित्तान्त कार्यनैतिक प्रश्न हो । यसलाई उपयोग वा बहिस्कार जे गर्दा पनि विद्यमान प्रतिकृयावादी राज्यसत्ताका विरुद्धको संघर्ष र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादको आधार निर्र्माण गर्ने कुरा मुख्य विषय हो । तसर्थ, विद्यमान प्रतिकृयावादी व्यवस्थामा हुने सामन्य सुधार वा लोकप्रियतालाई आधार बनाउने उद्देयद्वारा निर्वाचन सम्बन्धी दृष्टिकोण बनाउनु सारमा दक्षिणपन्थी अवसरवाद नै हो । जसरी संसदवादी पार्टीहरुले यो निर्वाचनलाई जीवनमरणको अर्थमा लिएका छन्, त्यहि अर्थमा क्रान्तिकारीहरुले चुनावलाई हेर्नु गलत हुन्छ ।

  निर्वाचनले समाजको आधारभूत अन्तरविरोधलाई हल गर्ने र अग्रगामी दिशामा लैजाने होइन, बरु यो निर्वाचनमा ती अन्तरविरोधहरु सतहमा प्रकट हुनेछन् र ती अन्तरविरोधलाई क्रान्तिको पक्षमा उपयोग गर्न तथा नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न कम्युनिस्ट क्रान्तिकारीहरुले बढी ध्यान दिनु पर्दछ । संसदीय निर्वाचनको माध्यमबाट समाजवादको सपना बाँड्ने संशोधनवादीहरु तथा संसदीय व्यवस्थालाई नै सर्वोपरि  ठान्ने यथास्थितिवादीहरु र यो व्यवस्था विरुद्ध संघर्ष गर्ने उद्देश्यद्वारा निर्वाचनमा सहभागी हुने शक्तिहरुका बीच मौलिक अन्तर छ । यो अन्तरलाई सही अर्थमा बुझ्न नसक्नेहरुले सामन्य रुपमा चुनावमा उपयोग वा बहिस्कारको नीतिलाई पनि रणनैतिक अर्थमा लिने गरेको पाइन्छ, त्यो मालेमावादी चिन्तन होइन । कम्युनिस्ट आन्दोलनले संसदीय चुनावप्रति सही दृष्टिकोण नअपनाउँदा कैंयौं पार्टी तथा संगठनहरु संसोधनवादी धारमा गएको र विसर्जन भएका थुप्रै घटनाहरु हाम्रा अगाडि छन् । ती नकरात्मक पक्षलाई हेर्दै क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर चुनाव सम्बन्धी आफ्ना नीति निश्चित गर्नु हाम्रो दायित्व हो .

  अहिले हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनद्वारा देशको राजनैतिक स्थायित्व विकास र समृद्धिको जुन हल्ला संसदवादी पार्टीहरुले गरेका छन्, त्यो कुरामा सत्यता छैन । जुन राजनैतिक पार्टीहरुले देशको स्वाभिमान र स्वाधीनतालाई भन्दा विदेशी शक्तिहरुको आडभरोसामा आफ्ना नीतिलाई निश्चित गर्दछन्, ती शक्तिले देशको विकास सम्बृद्धिको कुरा गर्नु आफैमा हाँस्यास्पद् विषय मात्र हो । देशको विकासमा अवरोध गर्दै आफ्नो कर्पोरेट पँुंजीको विस्तारका लागि साम्राज्यवादले एकपछि अर्को समस्या थप्दै आएका तथ्यहरुप्रति नतमस्तक हुँदै ती योजना कार्यान्वयन गर्ने दलालहरुले देशको सम्वृद्धि र विकासको कुरा गर्नु निरर्थक तर्कहरु नै हुन् ।

आज नेपाली समाजको विकासको अवरोध साम्राज्यवादी नवऔपनिवेशिक शोषण तथा दलाल नोकरशाही पूंँजीवाद र सामन्तवादी उत्पादन प्रणाली नै मुख्य बाधक बनेकोे पृष्ठभूमिमा त्यसको विरुद्धको संघर्ष नै अहिले मुख्य विषय हो । जबसम्म साम्राज्यवाद र सामन्तवादको शोषणका आधारहरु समाप्त हुँदैनन्, तबसम्म देश साँचो अर्थमा स्वाधीन, स्वाभिमान र आत्मनिर्भर बन्न सक्दैनन् । तसर्थ, नेपाली जनताले उपरोक्त प्रकारका शोषण दमनका विरुद्ध मुख्य प्रहार गर्दै राष्ट्रिय स्वाधीनता स्वाभिमान र सम्वृद्धिको लागि संघर्ष गर्नु नै सही नीति हुन्छ । र, यो निर्वाचनमा मूलतः ती विषयलाई आफ्ना एजेण्डा बनाउनु पर्दछ । समग्रमा देशको विकासलाई अवरोध गर्ने साम्राज्यवादी उत्पीडन र दलाल नोकरशाही पूँजीपति वर्ग तथा सामन्तवादी उत्पादन प्रणालीलाई अन्त्य गर्ने उद्देश्यलाई केन्द्रमा राखेर संघर्ष गर्ने उद्देश्यसहित जनतामा जानु आजको आवश्यकता हो ।

  आसन्न निर्वाचनको सफलतालाई मापन गर्ने आधार निर्वाचनमा कति सिट प्राप्त हुन्छ वा हुँदैन भन्ने कुरालई होइन, देशको स्वाभिमान र स्वाधीनताको पक्षमा कति जनचेतना र संघर्ष उठाउन सकिन्छ भन्ने आधारमा हुनेछ । त्यसैले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले यो निर्वाचनमा मुख्यतः प्रतिकृयावादी संसदीय व्यवस्थाको भण्डाफोर गर्र्र्दै राष्ट्रिय स्वाधीनता जनजीविका र जनतन्त्रको पक्षमा संघर्ष गर्ने उद्देश्यसहित निर्वाचनको उपयोग गर्ने नीति बनाएको छ । उपरोक्त नीतिलाई कार्यान्वयन गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्दै सबै देशभक्त जनतान्त्रिक तथा प्रगतिशिल जनसमुदायलाई देजमोका उम्मेदवारलाई सहयोग र सर्मथन गर्न अपिल गरेको छ । 

संसदीय पार्टीहरुले यो व्यवस्थाका पक्षमा जति गुणगान गरे पनि यसको चरित्र प्रतिकृयावादी भएकोले त्यसको विरुद्धको संघर्ष हाम्रो प्रधान विषय हो । त्यो संघर्षलाई संगठित गर्न तथा देशमा बढ्दै गएको भ्रष्टाचार अनियमिता राष्ट्रघात र जनघातका विरुद्धमा जनतालाई सचेत र संगठित गर्ने उद्देश्यलाई ध्यान दिंदै निर्वाचनको उपयोगद्वारा ती मुद्दा जनताका बीचमा लगिनेछ । निर्वाचनलाई प्रभाव पार्न प्रतिकृयावादी तथा संसोधनवादीहरुले साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर जनतालाई घेरावन्दीमा पार्ने जुन प्रयत्नहरु भएका छन्, त्यसका विरुद्ध संघर्ष गर्न कम चुनौतीपूर्ण छैन । ती सबै चुनौतिलाई सामना गर्दै अगाडि बढ्ने उद्देश्यसहित हामी यो निर्वाचनमा होमिएका छौं ।

निर्वाचनद्वारा समाजवादको सपना बाँड्नेहरु र संसदीय व्यवस्थालाई सर्वोपरि सत्य मान्नेहरुले जतिसुकै भ्रम सृजना गर्न खोजे पनि यो व्यवस्थाले उत्पीडित वर्ग समुदाय क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित हुने छैनन् । सारमा भन्दा यो व्यवस्था मुठ्ठीभर दलाल, नोकरशाहहरु तथा साम्राज्यवादी शक्तिहरुको शोषणको निरन्तरता नै हो । जस्तो कुनै कुकाठलाई जति पटक कलमी गरे पनि दार (काठ) बन्न सक्दैन, त्यसै गरी संसदीय व्यवस्थालाई जति लिपीपोती गरे पनि त्यो जनताको व्यवस्था बन्न सक्दैन भन्ने यथार्थतालाई आम जनताका बीचमा लैजानु नै मुख्य कुरा हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर