स्थानीयमा चुनाउमा भएका गठबन्धनहरू यसपटकको चुनाउमा बदलिए । ‘ओल्लो घरको नरे पल्लो घरमा सरे’ भनेझैँ गठबन्धनका दाम्ला एकबाट अर्कोमा सरेका हुन् । नेपाल मण्डलका लाउके दलका लाउके नेताहरूलाई चुनाउमा हारिने ठूलो डर छ । त्यसैले उनीहरूले बिभिन्न प्रकारका गठबन्धनका दाम्ला बाटेका हुन् । कसैले बामपन्थे दाम्लो बाटे भने कसैले लोकतन्त्रे दाम्लो । दाम्लो बाटेर पनि उनीहरू हाइसञ्च हुन सकेनन् । महिला, लाठे तन्नेरी र गाँठ नभएकाहरूलाई उठाउँदा पनि हारिने डर भएकाले आजिवन सत्ताको भत्ता डकारेर पिण्ड खाने उमेर पुगेकाहरू नै चुनाउमा नारिएका हुन् ।
दाम्लोको काम पशुलाई बाँध्ने हो । पशुलाई छाडा छोड्यो भने स्वतन्त्र हुन्छ र मनपरि गरेर मनुखे समाजलाई सताउँछ । मनुखेको जात पशुको भन्दा उच्च भएकाले मनुखेले पशुलाई आफ्नो अधिनमा राखेर उसको दोहन गर्छ । त्यसै गरेर ठूला दलका लाउके नेता पनि आआफ्ना तल्ला तहका हनुमान कार्यकर्ता र रैतीहरू भन्दा माथिल्लो बुद्धि भएकाले उनीहरूलाई दाम्लोमा बाँधेर आफ्नो बाटोमा खुरुखुरु हिँडाउन सजिलो होस् भनेर गठबन्धने दाम्लो बाट्नु परेको हो । स्थानीय चुनाउमा बाटेको दाम्लोले लाउकेहरूको स्वार्थ पूर्ति नभएकाले दाम्लो सार्नु परेको हो ।
यो गठबन्धने दाम्लोको अविष्कारक नेकपा माके (हाल नेकपा साठी–चालिसका चालिसे भागवाला)का मुखिया मिस्टर सुप्रिमो हुन् । जनयुद्धलाई दिल्लीतिरै बाह«बुँदे पुराण लगाई साङ्ग्यता गरेर आएदेखि नै उनले दाम्लो बाट्ने कार्यको थालनी गरेका हुन् । उताबाट आएपछि सातदले गोठमा आफ्नो दाम्लो मिसाए र नयाँ लोकतन्त्रे दाम्लो बाटे । अघिल्लो संविधानसभाको चुनाउमै पनि चुनावी दाम्लो बाट्न खोज्दा गोर्खाली काजीसाव भागेका थिए । पछि माओवादी आफैँले पनि नसोचेको नतिजा चुनाउमा पाएपछि काजीसावसमेत हौसिएर अब राम्रैसँग मिठोमिठो घाँस खान पाइने पक्कापक्की भएपछि स्थाई रूपमै दाम्लोमा नारिन आए । त्यस यता उनी सुप्रिमोकै बलिया हनुमान बनेर एउटै थलोमा घाँस हसुरी रहेका छन् । यसरी दाम्लो बाट्ने कार्यमा सफलता पाउँदै गएपछि समयानुकूल दाम्लो बाट्ने कार्य गरेर सुप्रिमोपथलाई सार्थक बनाइराखेका छन् ।
एकपटक उनले पत्रकारसँगको कुराकानीमा आपूmलाई लेनिनजस्तै भएको बताएका थिए । लेनिनले देशकाल परिस्थिति अनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु पर्छ भनेका थिए । त्यसैले मिस्टर सुप्रिमोले लेनिनको यो भनाइलाई टपक्क टिपेर आफ्नो अनुकूलतामा प्रयोग गरिरहेका छन् । जनयुद्धलाई कसरी सेलाउने भन्ने चिन्तामा परेका बेला बाह«बुँदे पुराण लगाएर लोकतन्त्रे गठबन्धनको दाम्लो बाट्ने सुद्धि फि¥यो । त्यसपछि अघिल्लो संविधानसभा आफ्नो पकडबाट फुस्किन थालेपछि त्यसलाई विघटन गराएर दोस्रो चुनाउको दाम्लो बाट्न खिलराजे दाम्लो प्रयोग गरे । संविधान लेख्न चारदले गठबन्धनको दाम्लो बाटे र पूरा गरे । त्यसपछि स्थानीय चुनाउमा चारतारेसँग गठबन्धनको दाम्लो बाटे । त्यसले आफ्नी पुत्रीलाई चुनाउमा निकै सकसका साथ कोमाबाट बल्लतल्ल ब्युँताएर जिताउन सफलता त मिल्यो, त्यस बाहेक अरू उपलब्धी दिलाउन सकेन । अघिल्लो गठबन्धनकै दाम्लोमा बाँधिइरहँदा यसपटकको चुनाउमा आफैँ कोमामा पर्ने खतरा देखेपछि दाम्लो सार्ने उपाय तुरुन्त खोजिहाले । यसरी दाम्लो सार्दा बामपन्थे गठबन्धनको दाम्लो तयार भएको हो ।
यता बामपन्थे दाम्लो तयार भएपछि आफ्नो दाम्लो चुँडाएर मिस्टर सुप्रिमोले धोका दिएको भन्दै चारतारेले पनि तुरन्त नयाँ लोकतन्त्रे दाम्लो बाट्यो । यी दुबै दाम्लोको मुख्य उद्देश्य भनेको खाम र हामका लागि दाम्लो बलियो बनाउनु हो । तसर्थ यी दुबै तर्फका गठबन्धनलाई खाम गठबन्धन या हाम गठबन्धन पनि भन्न सकिन्छ । खाम र हामको स्पष्ट प्रमाणहरू छन् । एउटा प्युठानी चुनाउ पनि हो । माक्र्सवादका धर्मगुरु प्युठानी सिँहले यसलाई पारदर्शी बनाएका छन् । आफ्ना बफादार हनुमान उखानबहादुरले सहिछाप ठोकेको संविधानले आफ्नो दललाई यो चुनाउबाट रछ्यानमा मिल्काइदिने भएपछि त्यसबाट आतङ्कित बनेका सिँहले आफ्नी बघिनीलाई जिताउन गठबन्धने दाम्लोमा नारिए । अर्को हिज रातीको विविसि रेडियोमा निकै दुःखका साथ आँशु झार्दै सूर्यछाप दलका दोस्रा नम्बरका लाउके नेताले गाँठ नभएकै कारण म चुनाउमा उठिन भनेर पृथ्वीमण्डलकै मनुखेसामू किटानी बयान दिए । उता चारतारेसँगको गठबन्धनले स्थानीय चुनाउमा आफ्नी पुत्रीलाई कोमामा पु¥याएपछि दुईजना बफादार सिपाही प्रयोग गरेर चुनाउ इधरउधर पारेर र अदालत गुहारेर भए पनि बल्लतल्ल कोमाबाट ब्युँताउन सफल भएको दुःखद घटनाले गर्दा मिस्टर सुप्रिमोले यसपटक गठबन्धनको दाम्लो सार्न पुगेको कुरा पनि घाम जत्तिकै पारदर्शी छ । दुबैतर्फ बराबर अवस्थाका गठबन्धने दाम्ला बाटिएपछि पनि लाउकेहरूलाई हाइसञ्चसँग चुनाउ जित्न सकिनेमा विश्वास भएन । तसर्थ चुनाउमा महिला, तन्नेरी र गोजीमा गाँठ नभएका लुतेलाम्रेहरूलाई मैदानमा उतार्न सकस प¥यो । जसरी हुन्छ साम, दाम, दण्ड भेद प्रयोग गर्न सक्ने पुराना र गाँठ भएकाहरूलाई नै पिण्ड खान तयारी अवस्थामै रहेका भएपनि तिनैलाई टिकेट दिनुपर्ने बाध्यता दुबैतर्फ आइलाग्यो । त्यसैले यसपटकको चुनाबी गठबन्धन भनेका देश बनाउन नयाँ विचार र दृष्टिकोण सहित बनेका नभई भुँडी विकास गर्न र आजिवन सत्ताको भत्ता डकार्न पिण्डधारीहरूले बनाएको खाम र हाम गठबन्धन हो भन्ने कुरा छर्लङ्गै भएको छ । बुद्धि र सुद्धि हुन्याहरू सबैलाई चेतना भया । सोही अन्सार चुनाउमा मतदान ग¥या । नत्र आजिवन खाल्टैमा प¥या ।
१९ कात्तिक २०७४






























