साहित्य खासगरी यथार्थविरोधी साहित्य वा यथार्थलाई विरुपीकरण गरी प्रस्तुत गरिने साहित्यको प्रभाव र विस्तारमा बुर्जुवा र त्यस सँग सन्निकट सम्बन्ध कायम गर्न आतुर हुँदै गएको ‘वामपन्थ’– जो मालेमावादी विचार र उद्देश्यबाट स्खलित भएको छ– पनि त्यसकै वरिपरि केन्द्रित हुन थालेको छ । हाम्रो जीवनलाई रुग्ण अवस्थामा लैजान र समाजको शोषण–उत्पीडन यथावत कायम राख्नका लागि त्यस किसिमका साहित्यले प्रमुख भूमिका निर्वाह गर्दछ । बुर्जुवा र बुर्जुवाकरण हुँदै गएको तत्वसँग सम्बन्धित साहित्यकारले आफ्नो साहित्यमा प्रछन्नतः शोषण, उत्पीडन, दमनलाई औचित्य प्रदान गर्ने काम गर्दछ । र, समाजमा व्याप्त गरिबी, असमानता, विभेदलाई लुकाउने काम गर्दछ । सत्ताधारी वर्गको शोषकीय चरित्रको क्रूर एवम् अमानवीय प्रवृत्तिलाई स्वभाविक मानवीय प्रवृत्तिका रुपमा चित्रण गर्ने र तिनको छवि सुधार्ने तथा सुन्दर बनाउने काम तिनका साहित्यमा हुन्छ ।
खासगरी क्रान्तिकारी साहित्यका विरुद्धमा कहिले स्पष्ट रुपमा त कहिले छद्म रुपमा देखापर्ने बुर्जुवाकृत हुँदै गएको साहित्यकारको साहित्य बुर्जुवाको भन्दा घातक एवम् हानिकारक हुन सक्छ । जनताको संघर्षलाई न्यूनीकरण गर्ने र स्खलित नायकलाई महान बनाई प्रस्तुत गर्ने जस्ता प्रवृत्ति तिनीहरुमा हुन्छ । बुर्जुवाहरुले आफ्ना आख्यान र गैरआख्यानात्मक रचनामा जनताका अप्रतिम साहस, सौर्य, बलिदान, पराक्रमलाई अमानवीय कृत्यका रुपमा राखी निषेध गरेजस्तै बुर्जुवाकृत हुँदै गएको साहित्यकारले जनताको प्रतिरोधी र सांघर्षिक चेतनालाई कमजोर र दुर्वल बनाउने काम गर्दछन् । आफ्नो कुरालाई स्थापित गर्न असंगत, अवैज्ञानिक एवम् काल्पनिक तर्क अघि सार्दछन् । गरिब र उत्पीडित वर्गको छवि र क्रियाकलापलाई तुच्छ, निम्न तथा घृणित बनाई प्रस्तुत गर्दछन् । साम्राज्यवाद र विस्तारवादी तथा सामन्तवादी पुँजीवादी बौद्धिक÷प्राज्ञिक साहित्यिक प्रतिष्ठानमा प्रभुत्व जमाएका सत्ताधारी वर्गका साहित्यकारको काम नै एकपक्षीय रुपमा सर्वहारा, उत्पीडित तथा श्रमिकवर्गविरोधी साहित्य सिर्जनालाई प्रोत्साहित गर्नु र त्यस्तो साहित्य लेख्ने साहित्यकारलाई सम्मानित गर्नु, प्रशंशित गर्नु र पुरस्कार दिनु रहेकोले पनि तिनको लक्ष्य के हो भन्ने बुझ्न सकिन्छ । साम्राज्यवाद, विस्तारवाद तथा पुँजीवादका विरुद्ध प्रतिरोधमूलक लेखिएका सिर्जनालाई ती संघ संस्था र प्रतिष्ठानले स्थान दिंदैनन् ।
नेपाली जनताले गरेको महान मुक्तिसंघर्ष, जनसंघर्ष तथा जनयुद्धप्रतिको विमोहमा रमाउने बुर्जुवा तत्व र त्यसका पक्षधर साहित्यकार र तिनका सिर्जनालाई ठुला अखबार, टिभी, फिल्म, अनलाइन तथा अन्य संचार साधनमा औधी महत्व दिई प्रचार र प्रसारित गरिनु पनि स्वभाविक नै हो । किनभने, ती सबै सत्ताधारी वर्ग÷शोषक वर्गका विचारधारा, चिन्तन र उद्देश्यसँग गाँसिएका हुन्छन् । तिनका गर्हित उद्देश्यबाट सामान्य जनता बेखबर छन् र तिनका मानवघाती, मानवविराधी, श्रमद्वेषी तथा सर्वहारावर्गविरोधी सामग्री ग्रहण गर्न बाध्य छन् । अझ तिनकै डाको र लय ठूलो छ । तिनकै ठूला अखबार, टिभी च्यानल, अनलाइनलगायतका माध्यमबाट साम्राज्यवाद, विस्तारवाद तथा दलाल पुँजीवादको जहर पिउन नेपालीजनलाई विवश बनाइएको छ । तिनका शैली र अभिव्यक्ति कलात्मक आवरणमा रहन्छन् र त्यसका माध्यमबाट तिनले सर्वहारा तथा उत्पीडित वर्गको संवेदना, भावना र उद्देश्यलाई विषालुमय बनाएका छन् । वर्गसंघर्षलाई निरन्तरता दिने र अगाडि बढाउने काममा अबरोध पैदा गर्ने त्यस्तो तत्व बुर्जुवासँगै आफूलाई बामपन्थी बताउने दक्षिणपन्थी संशोधनवादी हुन् । आफ्ना प्रभू साम्राज्यवाद र विस्तारवादलाई खुशी तुल्याउन दलालीमा चुर्लुम्म डुबेका र विचारबाट पलायन भएका ती तत्व अनुपन्थी साहित्यकार र तिनका सिर्जनाले मानिसलाई दास र बन्दनयुक्त बनाउन सहयोग पु¥याउन एकचित्त भएर लागेका छन् ।
वर्गीय मुक्ति र राष्ट्रिय मुक्तिलाई छोडी दलालपन्थता तथा बुर्जुवापन्थतामा पतन भइसकेको राजनीतिक शक्तिसँग लिप्त, आबद्ध साहित्य लेखन सारतः सर्वहारावर्गविरुद्ध छ र साम्राज्यवाद तथा विस्तरवाद पक्षधर रहेको छ । क्रान्तिकारी पक्ष अर्थात् मालेमावादी सर्जक तिनका विरुद्ध सक्रिय हुनु आवश्यक छ । किन आवश्यक छ भने नेपाली जनता साम्राज्यवाद, विस्तारवाद तथा दलाल पुँजीवाद र तिनका चाकरहरुबाट उत्पीडित, शोषित र स्वाधीनहीन छन् । तसर्थ, तिनको उत्पीडन, शोषणबाट मुक्त/स्वतन्त्र हुन तिनका विरुद्ध सम्झौताहीन बलिदानीपूर्ण संघर्ष/विद्रोह गर्नु जरुरी छ । साहित्य÷सिर्जना पनि वर्गीय एवम् राष्ट्रिय मुक्ति संघर्षकै एक अंगका रुपमा रहेको हुनाले त्यसले आफ्नो भूमिका पूर्ण गर्नु पर्दछ ।
निष्कर्षमा भन्दा नेपाली उत्पीडित वर्गको प्रतिरोधी चेतनालाई निस्तेज बनाउन सक्रिय रहेको क्रान्तिविरोधी, सर्वहारावर्गविरोधी, सर्वहारा मानवतावादविरोधी तथा जनवाद र समाजवादविरोधी प्रतिक्रियावादी तत्वको चिन्तन, सिर्जन, प्रकाशन र प्रशारणले मुक्ति आकांक्षा र सपनालाई प्रकटन गर्दैन, बरु अझ नेपाली जीवन र समाजको रुग्ण पुरातनमूलक धारणा र अभिवृत्तिलाई समृद्ध पारी यथास्थितिमा जिउन बाध्य पार्दछ । संशोधन/नव संशोधनवादी कम्युनिष्ट नामधारी बुर्जुवा अनुपन्थीतत्व एवम् प्रतिक्रान्तिकारी/प्रतिक्रियावादी विरुद्धको लेखन संघर्ष तीव्र बनाउनु र परिवर्तनविरोधी प्रति प्रहार सोझ्याउनु नै यथार्थप्रतिको इमान्दारी निष्ठा हुन सक्छ । आदर्श विचलन, संसदपन्थता र बुर्जुवाकरणको घोलघालबाट संशोधन/नवसंशोधनवादको निर्माण भएको हुनाले त्यो घातक छ ।






























