काठमाडौं । निर्वाचन आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले मात्र उम्मदेवारी दिएका छन् भने प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभा तर्फ २२० सांसदहरु समानुपातिक आधारमा छानिने छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ ।

आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिबासी पुरूष ७८३ र महिला ९३१ जना रहेका छन् । त्यसैगरी खस आर्यतर्फ पुरूष ८६७ र महिला ९९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष १५८ र महिला २६२ जना छन् भने दलित उम्मेदवारहरु पुरूषतर्फ ३४२ र महिलातर्फ ४९६ जना छन् । मधेसी समुदायबाट भने पुरूष ४५५ र महिला ५६३ जना बन्सूचीमा परेका छन् ।

मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा छन् भने अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच, कुनै उम्मेदवारको कानून बमोजिम योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएमा ७ दिनभित्र दाबी विरोधमा उजूरी गर्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार कात्तिक १८ देखि २४ गतेसम्म दाबी विरोधमा निवेदन दिन सकिने छ । कात्तिक २५ देखि मङ्सिर १ सम्म दाबी विरोधमाथि जाँचबुझ र निर्णय गरी बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशित गरिने छ । मङ्सिर ३ गते उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर