काठमाडौं, १६ कार्तिक । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढङ्गले भइरहेको छ ।
आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्ने काम उम्मेद्वारहरुबाट भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बिहीवार ४५ जिल्लामा प्रतिनिधि सभातर्फ १ सय २८ सदस्य र प्रदेश सभातर्फ २ सय ५६ सदस्यका लागि मनोनयन दर्ताको काम हुने छ ।
उम्मेद्वारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेद्वारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिकपत्र बुझाउनुपर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेद्वार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानूनी व्यवस्था छ ।
एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्वारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिएमा त्यस्ता उम्मेद्वारको सबै क्षेत्रको उम्मेद्वारी बदर हुने व्यवस्था रहेको प्रवक्ता ढकालले बताए । दोस्रो चरणको निर्वाचन पहाडी तथा तराई मधेशका ४५ जिल्लामा हुनेछ ।






























