पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, पुरानै मूल्य कायम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, पुरानै मूल्य कायम

१६ कात्तिक, काठमाडौं । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहीबारदेखि पुरानै मुल्य कायम गरिने निर्णय गरेको छ ।
निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने निगम स्रोतले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएका थिए । त्यसलगत्तै मुख्यसचिवले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको थियो ।
मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतको दाबी छ ।