१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि बिहीबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार विहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । आयोगले जिल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फको उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाएको छ ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर