महान् अक्टोबर समाजवादी क्रान्ति र त्यसबाट लिनुपर्ने शिक्षा

महान् अक्टोबर समाजवादी क्रान्ति र त्यसबाट लिनुपर्ने शिक्षा

 अहिले संसारभरका कम्युनिस्टहरुले महान अक्टोबर समाजवादी क्रान्तिको सत्वार्षिकी कार्यक्रम मनाइरहेका छन् । रसियन सामाजिक जनवादी लेवर पार्टी (बोल्सेविक), जो पछि रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) बन्यो, को नेतृत्वमा सन् १९१७ अक्टोवर २५ (नयाँ क्यालेण्डर अनुसार ७ नोभेम्बर)का दिन यो क्रान्ति भएको थियो । यो क्रान्तिले विश्वमा दोश्रो पटक पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी सर्वहारा वर्गको नयाँ राज्यसत्ता स्थापना गरेको थियो । पहिलो पटक पेरिस कम्युनमा सर्वहारा वर्गले पुरानो राज्यसत्तालाई ध्वस्त पारेर आफ्नो नयाँ राज्यसत्ता स्थापना गरको थियो, जुन ७२ दिन टिकेको थियो ।

यो महान अक्टोबर समाजवादी क्रान्तिलाई मोटामोटी तीन चरणमा बुझ्न सकिन्छ । पहिलो, रुसी फेब्रुअरी क्रान्तिभन्दा पहिलेको अवस्था, दोश्रो फेब्रुअरी क्रान्तिदेखि अक्टोबर क्रान्तिसम्मको अवस्था र तेश्रो अक्टोबर क्रान्ति पछिको अवस्था ।

पहिलो चरणः यो महान अक्टोबर समाजवादी क्रािन्त सफल हुनुमा विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु क.लेनिनको महत्वपूर्ण योगदान छ । प्रतिक्रियावादी साम्राज्यवादीहरुको विरुद्धको संघर्षको साथै कम्युनिस्ट आन्दोलनभित्र देखा पर्ने सबै खालेको अवसरवादको विरुद्ध लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक)ले तीब्र संघर्ष गरेर मात्रै यो अक्टोबर क्रािन्त सफल हुने अवस्थामा पुगको थियो । सन् १८८९ मा गठित दाश्रो अन्तर्राष्ट्रियमा लेनिनहरु पनि हुनुहुन्थ्यो । तर, दोश्रो अन्तर्राष्ट्रियमा लेनिनभन्दा सिनियिर नेताहरु थिए । समयक्रमममा दोश्रो अन्तर्राष्ट्रियका नेताहरुले गैरामाक्र्सवादी नीतिहरु अपनाउन थाले । त्यो अवस्थामा लेनिनले दोश्रो अन्तर्राष्ट्रियका नेताहरुको गलत नीतिको विरुद्ध तीब्र संघर्ष गर्नुभयो । लेनिनहरुको यस प्रयासबाट नै दोश्रो अन्तर्राष्ट्रियले साम्राज्यवादीहरुको बिचमा युद्ध शुरु भयो भने त्यो युद्धको विरुद्धमा संघर्ष गर्ने निर्णय गरेको थियो । तर जब प्रथम विश्वयुद्ध शुरु भयो, दोश्रो अन्तर्राष्ट्रियका नेताहरुले आ–आफ्नोे देशको सरकारलाई सहयोग गर्न पुगे । रुस पनि प्रथम विश्वयुद्धमा समोल थियो । तर लेनिनले रुसमा जारको सरकारलाई समर्थन गर्नु भएन । लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक)ले आफ्नै देशको सरकारको विरुद्धमा आन्दोलनलाई सशक्त रुपमा अगाडि बढायो । युद्धको विरोध ग¥यो । यो अवधिमा लेनिनले कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने सबैखाले अवसरवादको विरुद्धमा तिव्र संघर्ष चलाउनु भयो । यो संघर्षको क्रममा नै लेनिनले दर्शन, राजनीतिक र अर्थशास्त्रको क्षेत्रमा माक्र्सवादका आधारभूत सिद्धान्तहरुको रक्षा गर्दै त्यसमा अरु थप विकास गनु भयो । यो अवधिमा लेनिनले माक्र्सवादी दर्शन राजनीतिक क्षेत्रमा अर्थात सर्वहारा वर्गको रणनीति र कार्यनीतिको क्षेत्रमा मात्र होइन, सर्वहारा वर्गको संगठनात्मक क्षेत्रमा पनि थप विकास गर्नुभयो । लेनिनले संगठनात्मक क्षेत्रमा देखापर्ने अवसरवादको विरुद्धमा पनि कडा संघर्ष गर्नुभयो । खास गरेर दोश्रो अन्तर्राष्ट्रियको नेतृत्वमा निर्माण हुँदै आएको संगठनात्मक सिद्धान्तभन्दा नयाँ प्रकारले संगठनात्मक सिद्धान्तहरुको प्रतिपादन गर्नुभयो । यस सिलसिलामा लेनिनले मेन्सेविकहरुको विरुद्ध कडा संघर्ष गर्नुयभो र अन्ततः सन् १९१२मा मेन्सेविकहरुलाई पार्टीबाट निष्कासन गर्नुभयो । यसरी लेनिनले जुन संगठनात्मक सिद्धान्तहरु प्रतिपादन गर्नुभयो, त्यसलाई हामी लेनिनवादी संगठनात्मक सिद्धान्त भन्दछौं । यो सिद्धान्त आज विश्वभरका कम्युनिस्ट पार्टीहरुको संगठनात्मक सिद्धान्त बनेको छ । लेनिनको यस प्रकारको दर्शन, राजनीति र संगठनात्मक क्षेत्रमा विकास गरेको सही नीतिका कारणले गर्दा नै रुसमा महान अक्टोबर समाजवादी क्रान्तिको पूर्वाधार तयार भएको थियो । लेनिनको सही नीतिका कारणले गर्दा प्रथम विश्वयुद्धले सृजना गरेको क्रान्तिको वस्तुगत अवस्थामा रुसमा क्रान्ति सम्पन्न भयो । तर लेनिनले नेतृत्व गरेको पार्टी भन्दा बलियो अवस्थामा रहेको कम्युनिस्ट पार्टीहरुले युरोपियन साम्राज्यवादी देशहरुमा क्रान्ति सम्पन्न गर्न सकेनन् ।

दोश्रो चरण : प्रथम विश्वयुद्धको समय (१९१४–१९१७) मा रुसमा जार शासन थियो । त्यो जार शासन राजतन्त्रात्मक अधिनायकवादी शासन थियो । त्यसकारण त्यो जार शासनको विरुद्धमा लेनिनहरु मात्र होइन कि मेन्सेविक लगायत अन्य लोकतान्त्रिक शक्तिहरुले पनि संघर्ष गरिरहेका थिए । जार शासनको अन्त, अस्थायी सरकारको गठन, संविधान सभाको निर्वाचन त्यति बेलाका कार्यनीतिक नाराहरु थिए । सन् १९१७ को फेब्रुअरीमा जार शासनको अन्त भयो, जसलाई फेब्रुअरी क्रान्ति भनिन्छ । जार शासनको अन्त पछि अस्थायी सरकार बन्यो । मेन्सेविकहरु त्यो अस्थायी सरकारमा सामेल भए । लेनिनहरु अस्थायी सरकारमा सामेल भएनन् । लेनिनहरुले अस्थायी सरकारको विरोध गर्दै ‘सम्पूर्ण सत्ता सोभियत’लाई भन्ने नारा अगाडि सारे । जार शासनको अन्तपछि बनेको अस्थायी सरकार अत्यन्तै कमजोर थियो । त्यो अवस्थामा अस्थायी सरकारमा सामेल नभएर लेनिनहरु क्रान्तिको तयारीमा लागे । अस्थायी सरकारले मजदुर किसानहरुको हितमा कुनै कार्यक्रम ल्याउन सकेन । पुरानै नीतिको निरन्तरतामा चल्न थाल्यो । त्यसबाट जनअसन्तोष अरु बढ्न थाल्यो । त्यो असन्तोषलाई सशस्त्र विद्रोहमा बदल्ने योजनामा लेनिनहरु लाग्नु भयो । राजतन्त्रको विरुद्धमा संघर्ष गर्ने क्रममा कम्युनिस्टहरुको कतिपय विषयहरु पुँजीवादी पार्टीसँगै पनि मिल्दछ । प्रायः अवसरवादीहरु राजतन्त्रको पछि पुँजीवादी पार्टीहरुलाई पनि मान्य हुने कुरामा नै आफुलाई सिमित गर्दछन् । तर क्रान्तिकारी माक्र्सवादीहरुले पुँजीवादी पार्टीहरुलाई पनि मान्य हुने विषयसम्म आफुलाई सिमित नगरी अगाडि बढ्छन् । लेनिनहरुले सन् १९१७ को फेब्रुअरी क्रान्ति पछि त्यही गर्नुभयो । उहाँहरुले फेब्रुअरी क्रान्तिले प्राप्त गरेको उपलब्धीहरुलाई रक्षा गर्दै मजुदर र किसानहरुको आधारभूत मागहरुलाई अगाडि सारे क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु भयो । फेब्रुअरी क्रान्तिपछि लेनिनले एकातिर सशस्त्र जनविद्रोहको तयारीमा जोड दिनुभयो भने अर्कातिर तत्काल सशस्त्र विद्रोह गरिहाल्नु पर्दछ भन्ने सोचाइको पनि विरोध गर्नुभयो । अन्ततः सन् १९१७ को अक्टोबरमा जब परिस्थिति परिपक्व भयो, तव लेनिन आफैले नेतृत्व गरेर अस्थायी सरकारलाई कब्जा गर्न सशस्त्र जनविद्रोह गर्नुभयो । त्यो सशस्त्र जनविद्रोह पुरानो क्यालेण्डर अनुसार २५ अक्टोबर थियो । यसलाई महान अक्टोबर समाजवादी क्रान्ति भनिन्छ ।

तेश्रो चरण : महान अक्टोबर समाजवादी क्रान्तिपछि पनि रुसमा अनेक समस्याहरु थिए । सर्वहारा वर्ग सत्तामा आए पनि हारेका प्रतिक्रियावादीहरुले संगठित रुपमा प्रतिक्रान्तिको प्रयत्न गरिरहेका थिए । सत्ताधारी सर्वहारा वर्गलाई एकातिर घरेलु प्रतिक्रियावादी शक्तिहरुको विरुद्ध लड्नु परेको थियो भने अर्काेतिर साम्राज्यवादको विरुद्ध लड्नु परेको थियो । चौधवटा साम्राज्ययवादी देशहरुले भर्खर स्थापित भएको सर्वहारा वर्गको राज्यसत्तालाई पेरिस कम्युनलाई जस्तै ध्वस्त पार्न सक्रिय भनेर प्रयत्न गरिरहेका थिए । त्यस्तो अवस्थामा लेनिनले आफ्नै पार्टीभित्र ट्राटस्कीहरुसँग तीव्र संघर्ष गर्नुप¥यो । अन्ततः लेनिनले साम्राज्यवादीहरुसँग सम्झौता गरेर घरेलु प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिको प्रयासलाई दबाउनु भयो र रुसमा सर्वहारावर्गको अधिनायकत्वमा सामजवादी व्यवस्था टिकाउने काम सफल रुपमा गर्नुभयो । सन् १९२४ मा लेनिनको मृत्युपछि पनि स्तालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्था कायमै रहयो र यो महान अक्टोबर समाजवादी क्रान्तिको प्रभाव विश्वभर नै प¥यो । यो क्रान्ति पछि संसारभर नै संशोधनवादीहरुको अवस्था कमजोर हुँदै गयो भने क्रान्तिकारी माक्र्सवादीहरुमा उत्साहको लहर आयो । सन् १९१९ मा तेश्रो अन्तर्राष्ट्रिय गठन भएपछि संसारभर क्रान्तिकारी आन्दोलनले तीब्र रुपमा विकास गर्दै गयो । क.स्तालिनको नेतृत्वमा दोश्रो विश्वयुद्धमा फासीवादलाई ध्वस्त पारियो र पूर्वी युरोप, चीन, उत्तरकोरिया, भियतनाम लगायत थुप्रै देशहरुमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न भए । स्तालिनको मृत्युपछि रुसमा सर्वहारा वर्गको अधिनायकत्वमा स्थापित समाजवादी व्यवस्थाको अन्त्य भयो ।

यस क्रान्तिबाट हामीले मूलतः निम्नानुसार शिक्षा लिनु पर्दछ :

१. प्रतिक्रियावादहरुको विरुद्धको संघर्षका साथै कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने सबैखाले अवसरवादको विरुद्ध तीब्र संघर्ष गर्नु पर्दछ । नेपालको अहिलेको अवस्थामा दक्षिणपन्थी अवसरवाद हाबी भइरहेकोले त्यसको विरुद्ध सशक्त भण्डाफोर आन्दोलन चलाउन आवश्यक छ । यी अवसरवादीहरुको भ्रमबाट जनतालाई मुक्त गरेर मात्र हामीले क्रान्ति सम्पन्न गर्न सक्छौं ।

२. लेनिनले महान अक्टोबर समाजवादी क्रान्तिको तयारी गर्र्दा मुख्यतः जनतालाई सशस्त्र बनाउने र सशस्त्र आन्दोलनको आवश्यकता, महत्व र अपरिहार्यताबारे जनतालाई चेतना दिने कुरामा जोड दिनु भएको थियो । आज नेपालमा सबै संशोधनवादी अवसरवादी पार्टीहरुले राजनीतिक क्रान्ति पुरा भैसकेको आर्थिक विकास मुख्य हो भनेर प्रचार प्रसार गरिरहेको अवस्थामा राजनीतिक क्रान्तिको आवश्यकता र त्यसलाई प्राप्त गर्ने बाटो बल प्रयोग (सशस्त्र संघर्ष)को बाटो हो भन्ने कुराबारे हामीले जनतालाई शिक्षित बनाउनु पर्दछ ।

३. राजनीतिक कार्यदिशा सही हुँदा हुँदै पनि क्रान्तिकारी पार्टीको निर्माण हुन सकेन भने क्रान्ति हुन सक्दैन । लेनिनले नयाँ ढंगले क्रान्तिकारी पार्टी निर्माण गर्न नसकेको भए त्यो महान् अक्टोबर समजवादी क्रान्ति सफल हुने थिएन । त्यसैले फलामे अनुशासन भएको जस्तोसुकै राजनीतिक अवस्थाको पनि सामना गर्ने सक्ने क्रान्तिकारी पार्टीको निर्माण गर्नु क्रान्तिको लागि पूर्वशर्त हो । त्यसकारण हामीले एउटा क्रान्तिकारी पार्टी निर्माणमा विशेष जोड दिनु पर्दछ ।

४. क्रान्ति सम्पन्न गरे पश्चात् सर्वहारा अधिनायकत्व लागु गर्न र सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर अगाडि बढाउनु पर्दछ भन्ने कुरा महान अक्टोबर समाजवादी क्रान्तिले बाटो देखाएको छ । स्तालिनले लेनिनवादको ब्याख्या गर्ने सन्दर्भमा भन्नुभएको छ, “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहरा क्रान्तिको युगको माक्र्सवाद हो । अझै ठ्याक्कै भन्ने हो भने लेनिनवाद भनेको सामन्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो ।” (–लेनिनवादका आधारहरु) । लेनिनले भन्नुभएको थियो, “मात्र त्यो माक्र्सवादी हो, जो वर्गसंघर्षको मान्यतालाई सर्वहारावर्गको मान्यतासम्म नै लागू गर्दछ ।”– राज्य र क्रान्ति ।

अक्टोबर समाजवादी क्रान्तिको मुख्य पक्ष भनेको सर्वहारा वर्गको अधिनायकत्व हो । स्तालिन जीवित हुने बेलासम्म उहाँले सर्वहारा अधिनायकत्वलाई लागु गर्नुभयो र त्यो अवधिसम्म रुसमा समाजवाद थियो । स्तालिनको मृत्यु पछि जब ख्रुश्चेवको पार्टी प्रमुखमा आए, उनले सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरे । सर्वहारा वर्गको राज्यको ठाउँमा उनले सम्पूर्ण जनताको राज्यको नीति ल्याए । त्यसपछि रुस संशोधनवादमा पतन भयो । र, सामाजिक साम्राज्यवादमा बदलियो । यसबाट हामीले बिर्सनै नहुने कुरा ‘सर्वहारा वर्गको अधिनायकत्व’ हो । महान अक्टोबर समाजवादी क्रान्तिको सतबार्षिकी मनाउने क्रममा क्रान्तिको निम्ति यी आधारभूत कुराहरुलाई आत्मसात गर्दै क्रान्तिको तयारीमा जुट्नु सबै सच्चा कम्युनिष्टहरुको प्रमुख कर्तव्य हो ।