डा. केसीले तोडे १३ औं पटकको अनसन

डा. केसीले तोडे १३ औं पटकको अनसन

काठमाडौं । देउवा सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउनेलगायतका १० बुँदे सहमति भएपछि प्राध्यापक डा. गोविन्द केसीले १४ दिन लामो अनशन तोडेका छन् । एमाले र माओवादी केन्द्रको अवरोधका कारण संसद बैठकबाट पारित हुन नसकेको विधेयक संसद विघटन भएपनि अध्यादेशबाट ल्याउने प्रतिवद्धता सरकारले जनाएको छ । माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायत ७ बुँदे माग राख्दै १३ औं पटकको अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकै सक्रियतामा बुधबार वार्ता भएको थियो । प्रधानमन्त्री देउवाको उपस्थितिमा बिहान भएको वार्तामा तिहार विदा सकिए लगत्तै कार्तिक ६ गते बस्ने मन्त्रिपरिषद् बैठकबाट अध्यादेश ल्याउने सहमति गरिएको छ ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धन सम्बन्धमा उच्चस्तरीय छानविन गर्ने लगायत समहमति सरकार र डा. केसीका वार्ता टोलीबीच भएको छ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै डाक्टर केसी दशैं लगत्तै गत असोज १९ गतेदेखि राजधानीको महाराजगञ्जस्थित त्रिबि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका थिए ।