जनताले खोज्न थालेको यो देशको वैकल्पिक शक्ति हामी हौं : गजुरेल

जनताले खोज्न थालेको यो देशको वैकल्पिक शक्ति हामी हौं : गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले बुधबार मोर्चाले काठमाडौंमा गरेको पत्रकार भेटघाटमा जनताले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्प खोज्न थालेको भन्दै जनताले खोज्न थालेको वैकल्पिक शक्ति आफूहरु भएको बताएका छन् । स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गरेको मोर्चाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पनि उपयोग गर्न लागेको जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष गजुरेलले भने, “यो संविधान पश्चगामी, जनविरोधी र प्रतिक्रियावादी छ । स्थानीय तहको निर्वाचन भइसक्दासम्म जनताले विस्तारै यसको चरित्र बुझ्दै गएका छन् र अब विकल्प खोज्न थालेका छन् । जनताले खोज्न थालेको वैकल्पिक शक्ति हामी हौं ।”

वर्तमान सत्ता, व्यवस्था र संविधानका मतियार संसदवादी पार्टीहरु भ्रष्टाचार, अनैतिकता र अराजनीतिकताको पर्याय बनेको भन्दै मन्त्री र सांसदले भ्रष्टाचार समेत संस्थागत रुपमा निर्णय गरेरै गर्ने गरेको आरोप लगाए । उनले भने, “अहिले खुल्लेआम भ्रष्टाचार भइरहेको छ । सांसदहरुले समेत जाँदा जाँदै संसदबाट पारित गरेर नै १० अर्ब राज्यको ढिकुटी बाँडेर खाए ।” “के यो भ्रष्टाचार होइन ?” प्रश्न गरे ।

देजमोले संसदीय व्यवस्था र संविधानलाई कमजोर बनाउन, त्यसको भण्डाफोर गरेर सत्यतथ्य जनतालाई बुझाउन र पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्दै क्रान्तिकारी आन्दोलनलाई संगठित गर्न निर्वाचनको उपयोग गर्न लागेको पनि सो अवसरमा अध्यक्ष गजुरेलले स्पष्ट पारे । निर्वाचन बहिस्कार गरेर जाँदा जनताबीचमा विभिन्न कार्यक्रम लिएर जान सरकारले प्रतिबन्ध लगाउने हुँदा उपयोग गरेर जाँदा नै धेरै कुरा बुझाउन सकिने आफूहरुको विश्लेषण रहेको पनि अध्यक्ष गजुरेलले खुल्लस्त पारे ।

भ्रष्टाचारी, तस्कर र माफियाहरुले मात्र चुनाव जित्ने संस्कार बसाएर संसदवादी पार्टीहरुले यो देशका श्रमजीवि शोषित उत्पीडित, निमुखा गरिबहरुको राजनीतिक अधिकारलाई निस्तेज पारको भन्दै अध्यक्ष गजुरेलले भने, “जसरी पनि चुनाव जित्ने होडमा संसदवादीहरुले गुण्डा, तस्कर र भ्रष्टाचारीहरुलाई धमाधम उम्मेदवार बनाउन थालेका छन् । तस्कर, गुण्डा, भ्रष्टाचारीहरु र नव धनाढ्य, दलालहरुले मात्र चुनाव जित्ने स्थिति बन्दै गएको छ । त्यसो भयो भने यो मुलुकको भविष्य के हुन्छ ? निकै गम्भीर छ ।”

एमाले र माकेसँग कम्युनिष्ट तथा वामको कुनै पनि चरित्र नभएकोले उनीहरुलाई वाम भन्नु वाम शब्दकै अपमान हुने भन्दै पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष गजुरेलले भने, “प्रतिक्रियावादी व्यवस्था, सत्ता र संविधानका मतियारहरु वाम हुन सक्दैनन्, उनीहरु प्रतिक्रियावादी हुन् र कथित वामपन्थी गठबन्धन भनेको प्रतिक्रियावादी गठबन्धन हो । जनता भ्रममा रहनु हुँदैन ।”

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ सातवटै प्रदेशबाट बन्दसूचि निर्वाचन आयोगमा दर्ता गरिसकिएको जानकारी दिंदै उनले प्रत्यक्षतर्फ देजमोका केन्द्रीय नेताहरुले नै उम्मेदवारी दिने बताए । देजमोकाे निर्वाचन चिन्ह मुठ्ठि रहेको पनि अध्यक्ष गजुरेलले जानकारी दिए ।

“देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई विजयी गराऔं, प्रतिक्रियावादी तत्वहरुलाई परास्त गरौं !” भन्ने नारासहितको व्यानरमा गरिएको कार्यक्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरु निकै जटिल बन्दै गरेको अवस्थामा मुद्दा मिल्ने पार्टीहरुसँग संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने र त्यसका लागि विप्लव, ऋषि कट्टेल र मसालसँग वार्ता प्रक्रिया अगाडि बढाउने पनि नेता गजुरेलले बताए । कार्यक्रममा देजमोका सचिव परि थापालगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।