काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आगामी निर्वाचनबाट आफ्नो पार्टी पहिलो नभई तेस्रो बन्ने दाबी गरेका छन् ।
उनले केन्द्रीय संसद र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीको पहिलो हुने सम्भावना नरहेको स्वीकार गर्दै ‘कसैले हेप्न नसक्ने’ र सरकार सञ्चालनमा निर्णायक तेस्रो पार्टी बन्ने बताए ।




हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागिपरेको उल्लेख गरे । ‘हुनु पर्ने त एक नम्बर नै हो’ उनले भने, ‘तुरुन्तै पहिलो हुने स्थिति त रहेन । तर, स्थानीय चुनावको भन्दा माथि जान्छौं र कसैले हेप्न नसक्ने भनौं वा शक्तिशाली तेस्रो हुन्छौं ।’
माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको उनले बताए । शक्ति केन्द्रहरुले माओवादीलाई शक्तिशाली भएको हेर्न नचाहेको भन्दै उनले पार्टी कमजोर हुनुमा एकतावद्ध हुन नसक्नु र जनतामा नजानु मुख्य कारण भएको बताए ।
प्रचण्डले ठूलो सरकार बनाउनु राम्रो नभएको बताए । तर, संक्रमणकालको अन्तिम सरकार भएकाले २–३ महिना जे–जे भएपनि व्यहोर्नु पर्ने उनको भनाई थियो ।