काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित पाँच विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले शिक्षा ऐनविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रमुख भनिएका राजनीतिक दल निकट विद्यार्थी संगठनले बिहीबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको भोलिपल्ट अन्य संगठनहरुले पनि आन्दोलन घोषणा गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नयाँ शक्ति निकटको नयाँ शक्ति विद्यार्थी युनियन, राजपा निकट राजपा विद्यार्थी संगठन र संघीय समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी फोरम नेपाल रहेका छन् ।
संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गर्दै जारी गरिएको विज्ञप्तिमा अखिल –क्रान्तिकारी) का अध्यक्ष सेवन्तराज भण्डारी, विप्लवको नेकपा निकट अखिल –क्रान्तिकारी) का अध्यक्ष पूर्णबहादुर सिंह, समाजवादी विद्यार्थी फोरम नेपालका तर्फबाट विवेक राई, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम र राजपा विद्यार्थी संगठनका तर्फबाट अध्यक्ष मनिष मिश्रले हस्ताक्षर गरेका छन् ।
बैठकले संशोधित शिक्षा ऐनविरुद्ध शनिबार दिउँसो ३ बजे शान्तिवाटिकामा प्रदर्शन तथा ऐन जलाउने, उच्च स्तरीय शिक्षा आयोगबाट राजीनामा दिने शिक्षाविद् र संशोधित शिक्षा विधेयकको विपक्षमा उभिने सांसदहरुलाई धन्यवाद दिँदै शिक्षा आयोगका अन्य शिक्षा आयोगका सदस्यहरुलाई पनि राजीनामा दिन आग्रह गरेको छ ।
यसैगरी विद्यार्थी संगठनहरुले संशोधिन शिक्षा ऐन फिर्ता नलिएमा दोस्रो चरणमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष सेवन्त राज भण्डारीले सार्वजनिक शिक्षालाई नै धरासायी बनाउने गरी ल्याइएको ऐन खारेज नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय भएको जानकारी दिए ।
विद्यार्थी संगठनहरुले अघिल्लो संशोधनमा भएका सकारात्मक र वैज्ञानिक व्यवस्थापनलाई हटाउँदै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला अवधाराणा समावेश गरिएको नवौं संशोधन विद्यार्थीको हकहित र अधिकारको विरुद्धमा भएको उल्लेख गरेका छन् ।