चीनको ओबोरलाई चुनौति दिन भारत–जापानको ‘एसिया–अफ्रिका ग्रोथ करिडोर’

चीनको ओबोरलाई चुनौति दिन भारत–जापानको ‘एसिया–अफ्रिका ग्रोथ करिडोर’

चीनले सन् २०१५ अफ्रिकासम्म विकास लिएर जाने ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेपछि त्यसलाई चुनौति दिन भारत र जापानले नयाँ परियोजना सुरु गर्ने सहमति गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले हालै गरेको भारत भ्रमणका क्रममा जापानको ३० अर्ब अमेरिकी डलर र भारतको १० अर्ब अमेरिकी डलरको संयुक्त लगानीमा आफ्रिकासम्म पुग्नका लागि एसिया–अफ्रिका ग्रोथ करिडोरको सुरुवात गर्ने सहमति बनेको हो ।

एसिया–अफ्रिका ग्रोथ करिडोर
दोस्रो विश्वयुद्धअघि चीनले जापानी साम्राज्यका विरुद्ध ठूलो संघर्ष गरेको थियो । त्यसबेला माओको नेतृत्वमा रहेको सेना र च्याङ काईसेकको नेतृत्वमा रहेको सेनाले एक भएर जापानी साम्राज्यको सेनालाई पराजित गरेको थियो । त्यसबेला विकासका दृष्टिले निकै पछि रहेको चीन आज विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनिसकेको छ । दोस्रो विश्वयुद्धपछि बेलायती उपनिवेशबाट मुक्त भएको भारत पनि अहिले विकासको गतिमा निकै अघि बढिसकेको छ । चीनले आफ्नो आर्थिक विकाससँगै विश्वव्यापी रुपमा आफ्नो नेटवर्क स्थापित गर्नका लागि ‘वान रोड वान बेल्ट’ को अवधारणा सुरु गरेको छ ।

जसमा विश्वका ठूला देखि साना राष्ट्र समेत सामेल छन् । तर त्यसमा छिमेकी मुलुक भारत भने सामेल भएको छैन । किनकी उसले आफूलाई चीनको प्रतिस्पर्धी ठान्ने गरेको छ । उसलाई टक्कर दिनका लागि भारत र जापानले नयाँ अवधारणा ल्याएका छन्, एसिया–अफ्रिका ग्रोथ करिडोर । जसरी चीनले एसिया हुँदै अफ्रिकासम्म आफ्ना आर्थिक कार्यक्रम लिएर जाने नीति लिएको छ, त्यसैलाई नक्कल गर्दै भारत र जापान पनि अफ्रिकासम्म लगानी विच्छ्याउन खोजेका हुन् ।

चीनको वान रोड वान बेल्टको अवधारणालाई टक्कर दिने बाटो खोजिरहेका दुवै मुलुक भारतीय प्रधानमन्त्रीको यो प्रस्तावमा सहमत बनेका हुन् । भारत र जापानको ४० अरब अमेरिकी डलर बराबरको यो परियोजनाको मुख्य उद्देश्यभ नेको अफ्रिकी देशमा विकास साझेदारी गर्नु हो । जापानको ३० र भारतको १० अरब अमेरिकी डलर रहने यो परियोजना स्थानीय भौतिक निर्माण र विकासमा लगाइनेछ । चीनले पछिल्ला केही समयदेखि अफ्रिकी मुलुकमा आफ्नो उपस्थिति बढाइरहेका बेला जापान र भारतपनि विकासको एजेण्डा लिएर अफ्रिकासम्म जान खोजेका हुन् ।

चीनको ओबिओआर एक वैश्विक परियोजना हो, तर भारत र जापान विकासको एक अलग वैकल्पिक मोडल खडा गर्ने कोशिस गरिरहेका छन् । चीनको ओबिओआर टप–डाउन मोडेलको परियोजना हो । जसमा चीनले नै युरोपदेखि मध्यपूर्व र अफ्रिकासम्म कस्तो प्रकारको लगानी गर्ने र कस्तो आधारभूत ढाँचा तयार पार्ने भन्ने योजना आफैले प्रस्तुत गरेको छ । तर भारत र जापानको मोडेल ‘बटम–अप’ मोडेल हुनेछ । यसमा उनीहरुले अफ्रिकी देशहरुसँग के आवश्यक छ भन्ने कुरा सोध्ने र आर्थिक विकासलाई बढावा दिने लक्ष्य निर्धारण गरिएको छ । जापान र भारतबीच महत्वपूर्ण साझेदारी बनेपनि चीनविरुद्ध जापान कडा रुपमा प्रस्तुत भएको समयमा भारत पछि हट्ने आशंका जापानी सञ्चारमाध्यमहरुमा व्यक्त गरिएको छ ।

अफ्रिकामा लगानीका लागि पछिल्लो समयमा चीन अग्रसर बनेको छ । त्यसलाई टक्कर दिनका लागि जापान र भारत पनि अफ्रिका पस्ने योजनामा जुटेका हुन् । अफ्रिकामा आधारभूत ढाँचाको विकासको आवश्यकता छ । अफ्रिकाका कतिपय देशले राम्रो आर्थिक विकास गरिरहेपनि धेरैजसो मुलुकहरु विकासको गतिमा धेरै पछि परेका छन् । सोही कारण चीनले अफ्रिकामा ठूलो लगानी गरेको छ । अफ्रिकामा चिनियाँ कम्पनीहरुले सरकारी सहयोगको रकम लगानी गरिरहेका छन् ।

भारत र जापानले पनि त्यसैलाई पछ्याउँदै स्थानीय क्षमताको विकासका लागि लगानी गर्न वैककल्पिक मोडेल लिएर जाने योजना बनाएका हुन् । भारतमा पछिल्ला समयमा अफ्रिकी मुलका नागरिकमाथि लगातार आक्रमण भएकाम घटनाहरु बाहिर आउने गरेका छन् । भारत अफ्रिकी देशमा आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहन्छ ।

त्यति मात्रै होइन सबैभन्दा प्रमुख कुरा भनेको भारतको अहिलेसम्मको चिनारी भनेको विकासका लागि सहयोग लिने देशका रुपमा रहेको छ । हालै भएको जापानी प्रधानमन्त्रीको भ्रमणमा पनि उसले जापानकै सहयोगमा बुलेट ट्रेन निर्माणको शिलान्यास गरेको हो । तर ऊ अब यसमा परिवर्तन गर्दै आफूलाई विकासका लागि आर्थिक लगानी गर्ने राष्ट्रको रुपमा आफूलाई उभ्याउन चाहन्छ । जापान प्रविधिको क्षेत्रमा धेरै अघि रहेको छ र ऊ सँग संसाधनको विकास पनि पर्याप्त मात्रामा रहेको छ । सोही कारण भारत र जापान द्विपक्षीय सम्बन्धमा नयाँ भूराजनीतिक समीकरण बनाएर अघि बढ्ने प्रयासमा जुटेका हुन् ।

यसका पछि सबैभन्दा महत्वपूर्ण कारण भनेको एसिया प्रशान्त क्षेत्रमा चीन बढ्दो प्रभाव हो । दुवै देश चीनको बढ्दो प्रभावलाई रोक्न चाहन्छन् । चीन र जापानबीच प्रशान्त क्षेत्रमा रहेका टापुको विषयलाई लिएर र चीन र भारतबीच सीमालाई लिएर पटक पटक विवाद चल्ने गरेको छ । यस्तोमा पनि उनीहरुले एक अर्कालाई साथ दिँदै आएका छन् । यसकारण उनीहरुको यो परियोजना चीनको ओबिओआरलाई चुनौति पनि हो ।

साझेदारी गर गुटबन्दी होइन’
एसियाली क्षेत्रमा चीनको विपरित खेमामा रहेका जापान र भारतले नयाँ परियोजना अघि बढाउन खोजेका छन् । यसको प्रमुख उद्देश्य अफ्रिकी मुलुकको आमूल परिवर्तन र विकासका लागि काम गर्नुभन्दा पनि पहिले चीनले अघि सारेको वान बेल्ट वान रोडको अवधारणासँग समानान्तर परियोजना अघि बढाउनु हो । चीनको यो बृहत्तर परियोजनाबाट बाहिर बस्नुको औचित्य पुष्टि गर्नका लागि पनि उनीहरुबीच कुनै न कुनै योजना आवश्यक थियो । त्यसैकारण ‘एसिया–अफ्रिका ग्रोथ करिडोर’ को विकास भएको हो । चीनले जापान र भारतको बढ्दो सम्बन्ध यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहायक हुने तर यस प्रकारको साझेदारी काम गर्नका लागि गर्न र गुटबन्दी नगर्न आग्रह गरेको छ ।

भारत र जापानबीच १५ वटा सम्झौतामा हस्ताक्षर भएको छ, जसमा हिन्द प्रशान्त क्षेत्रमा सहयोग बलियो बनाउने सहमति समेत रहेको छ । जुन स्थानमा चीन आफ्नो भूमिकाबाट पछि हट्न चाँहदैन । चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले भनेकी छन्, ‘हामी यसको सम्मान गर्दछौं, किनकी देशका टकराव विना संवादका लागि खडा हुन आवश्यक छ र गठजोडको उद्देश्य काम गर्नका लागि हुनुपर्दछ ।’ चीनले भारतलाई जापानले युएस–२ एम्फिबियस विमान बेच्ने जापानको योजनाबारे भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । जापानले कुनै अन्य देशलाई रक्षा उपकरण बेच्न लागेको यो पहिलो कदम हो ।

यद्यपि चीनले यो क्षेत्रमा शान्ति र स्थिरताका लागि अनुकुल हुन्जेलसम्म यस्ता सम्बन्धको स्वागत गर्ने बताएको छ । यी सबै परिघटनाकाबीच दुई देशबीचको एसिया–अफ्रिका ग्रोथ करिडोरलाई भने उसले चीनको ओबिओआरको जवाफका रुपमा हेरेको छ । चीन र जापानबीच सेन्काकुलगायतका टापुका विषयमा विवाद रहेको छ । दुवैले यस्ता टापुलाई आफ्नो दाबी गर्दै आएका छन् । जसका कारण बेलाबेलामा विवाद चल्ने गरेको छ । यता भारतसँग हालै ७३ दिनसम्म डोकलाम विवाद चलेको थियो । चीन र भुटानबीचको विवादित क्षेत्रमा भारतले आफ्नो सेना खटाएपछि उत्पन्न विवाद भारतले सेना फिर्ता गरेसँगै टुंगिएको छ । यद्यपि त्यसको स्थायी समाधान भएको छैन । सोही कारण पनि चीनले जापान र चीनका गतिविधिहरुलाई सुक्ष्म रुपले अध्ययन गर्ने गरेको छ ।

विश्व राजनीतिकै केन्द्र बनेको एसियाली राष्ट्रहरुबीचको सम्बन्ध पनि जटिल अवस्थाका बिचबाट अघि बढिरहेको छ । एसियाली क्षेत्रमा चीन सर्वशक्तिमान राष्ट्रका रुपमा उदाएको छ । उत्तर कोरियाले आफूलाई एक परमाणु शक्ति राष्ट्रका रुपमा स्थापित गरेको छ । बढ्दो शक्ति र हैसियतकैबीच एक अर्को राष्ट्रले सुरक्षा ग्यारेन्टी पनि खोजिरहेका छन् । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण जापान र दक्षिण कोरिया एक ठाउँमा उभिएका छन् भने, चीनले पनि उत्तर कोरियाको परमाणु कार्यक्रमको विरोध गर्न थालेको छ । जापान भारतसँग सुरक्षा सम्बन्धमा सुधार चाहन्छ । तर जापान भारतसँग सम्पूर्ण रुपमा विश्वस्त हुन नसकेको देखिन्छ ।

जापान टाइम्सले लेखेको छ, ‘दुवै देशबीच असैन्य परमाणु सहयोग सम्झौता छ र यही सम्झौताअनुसार जापानले भारतलाई परमाणु शक्ति प्रविधि दिन सक्छ । यद्यपि आलोचकहरुले भारतले विगतमा पनि परमाणु परीक्षण गरेर अहिलेसम्म पनि परमाणु अप्रसार सन्धीमा हस्ताक्षर गरेको छैन । यस्तोमा जापानले उपलब्ध गराउने परमाणु प्रविधिको सैन्य प्रयोगको आशंका कायम रहनेछ ।’ एसियाली राष्ट्रको सबल अर्थतन्त्रलाई सामूहिक हितका लागि प्रयोग गर्ने र विकासका गतिमा पछि परेका राष्ट्रलाई सहयोग गर्दै अघि बढ्ने कुरालाई स्वागतयोग्य मान्न सकिन्छ ।

तर पछिल्लो समयमा दक्षिण एसियामा नै रहेका राष्ट्रहरुसँगको सामूहिक हितमा काम गर्ने सन्दर्भमा भारत असफल बनेको छ । पाकिस्तानसँगको सम्बन्धलाई कारण देखाउँदै भारत अनुपस्थित भएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन एक वर्षदेख हुन सकेको छैन । यसर्थ अन्तर्राष्ट्रिय मञ्चहरुसँगै क्षेत्रीय संगठनहरुलाई पनि प्रभावकारी रुपमा अघि बढाउन सहयोगी बन्नु आवश्यक छ ।

भारत र जापानाले अफ्रिकी मुलुकको आधारभूत विकासका लागि भूमिका खेल्न खोज्नु राम्रो विषय भएपनि अर्को छिमेकी राष्ट्र चीनलाई घेर्नका लागि मात्रै यो योजना अघि सारिएको हो भने त्यसले सही परिणाम दिन सक्दैन । सबै राष्ट्रहरुबीच विश्वास र आपसी सहयोगको स्तरमा सम्बन्ध विकास गर्नु पर्नेमा एक अर्कोविरुद्ध गुटबन्दी गर्न खोजिएको हो भने चाँही त्यसले द्वन्द्वलाई नै निम्ता दिन सक्छ । तसर्थ यस प्रकारका परियोजना क्षेत्रीय सद्भाव र अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति र विकासका लागि बनाइनुपर्दछ ।