मलेसियाको क्वालालम्पुरस्थित स्कुलमा आगलागी हुँदा २२ र २ शिक्षक गरी २४ जनाको मृत्यु

मलेसियाको क्वालालम्पुरस्थित स्कुलमा आगलागी हुँदा २२ र २ शिक्षक गरी २४ जनाको मृत्यु

एजेन्सी । मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक धार्मिक विद्यालयमा आगलागी हुँदा २२ विद्यार्थीसहित २४ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान क्लालम्पुरस्थित ताहफिज दारुल कुरान इत्तिफायामा मर्निङ वाकमा निस्किएकाहरुले आगोको मुस्लो देखेका थिए ।

आगलागीका समयमा विद्यार्थीहरु झ्यालहरुमा लगाएका फलामका डन्डीका कारण भाग्न नसकेको बताइएको छ । मलेसियाको अग्नी नियन्त्रक संस्थाका निर्देशक खिरुद्दिन द्राहमानले भने, ‘यो देशको पछिल्ला २० वर्षमा भएको सबैभन्दा भीषण आगलागी हो ।’

सुरुमा सो आगलागीमा परी २५ जनाको मृत्यु भएको भनिएपनि पछि प्रहरीले त्यसलाई सच्याउँदै २४ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

आगलागीमा परी मारिने २२ जना सबै छात्रहरु रहेको र उनीहरुको उमेर १३ देखि १७ वर्षबिचको रहेको बताइएको छ । आगलागीमा परी २ जना विद्यालयका शिक्षकको समेत मृत्यु भएको प्रहरीको भनाई छ ।

सो आगलागीमा परी घाइते भएका १० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको र उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सो आगलागी विद्यार्थीहरु सुतेको भवनमा भएको बताइएको छ । आगलागी भएको इस्लामिक ताहफिज स्कुल हो, जहाँ विद्यार्थीहरु विद्यालयमा नै बसेर कुरान पढ्ने गर्दछन् ।

स्थानीय सञ्चारमाध्यमले सो विद्यालय भवनको माथिल्लो तलाबाट आगोको मुस्लो र धुँवा निस्किएका तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन् ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा सो विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ ।

मलेसियामा सन् २०१५ यता मात्रै २९ वटा ताहफिज स्कुलमा आगलागी भएको एक मन्त्रीले जनाएका छन् ।

मलेसियाका अधिकारीहरुले यस्ता निजी व्यवस्थापनका धार्मिक विद्यालयको व्यवस्थापन र सुरक्षालाई लिएर चिन्ता जनाएका छन् । यसै वर्षको सुरुमा एक धार्मिक विद्यालयमा वार्डेनको कुटाईबाट ११ वर्षीय बालकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।

मलेसियाली प्रधानमन्त्री नाजिब रजाकले सो आगलागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले सो घटनाको तत्काल छानविन गर्न पनि अधिकारीहरुलाई निर्देशन दिएका छन् ।