राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न नौं वामले गराए देउवाको ध्यानाकर्षण

राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न नौं वामले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपालका नौं वामले मंगलबार एक संयुक्त वक्तव्य जारी गरी बुधबारबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।

मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, सी.पी. मैनाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा, नेपाल र सुवासराज नेतृत्वको जनसमाजवादी पार्टी, नेपाल लगायतका वाम पार्टीहरुले संयुक्त रुपमा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “नेपाल र भारत प्राचीन कालदेखि निकट मैत्री सम्बन्ध भएका मुलुकहरु हुन् । नेपालले आफ्ना सबै मित्र राष्ट्रहरु र विशेषतः छिमेकी देशहरुसित पंचशीलको आधारमा सम्बन्ध सञ्चालन गर्ने अभ्यास गर्दै आएको छ । यद्यपि विगतमा यस सन्दर्भमा उतार–चढाव र कटु व्यवहार पनि नदेखिएका होइनन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री श्री शेरबहादुर देउवा २०७४ भाद्र ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यस भ्रमण कालमा नेपालको पञ्चशीलको नीतिमा आधारित तटस्थ परराष्ट्र नीति कार्यान्वयन गर्न, राष्ट्रिय हित संरक्षण गर्ने सवालमा कुनै विवादित र अनुचित कार्य नगर्न र विगतमा भएका गल्ति कमजोरीहरुलाई सच्याउन गम्भीर ध्यान आकर्षण गराउन यो संयुक्त वक्तव्य जारी गरेका छौं ।”

वक्तव्यमा १५ बुँदामा ध्यानाकर्षण गराइएको छ ।

१. सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्ने ।
२. माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौता खारेज गर्ने ।
३. महाकाली सन्धि खारेज गर्ने ।
४. विराटनगर स्थित भारतीय सुरक्षा क्याम्प हटाउने ।
५. नेपालको भूमिमा भारतीय एयर मार्सल राख्ने भारतीय पक्षको प्रस्ताव अस्वीकार गर्ने ।
६. नेपालको राष्ट्रिय हित र स्वाभिमान विपरीतको भारतीय पक्षद्वारा प्रस्तावित सुपुर्दगी सन्धि अस्वीकार गर्ने ।
७. नेपाल भारतको सिमानामा अन्तर्राष्ट्रिय कानून विपरीत भारतले एकतर्फी रुपमा निर्माण गरेका सडक, बा“ध आदि संरचनाका कारणले नेपालमा ठूलो भूभाग डुबानमा परेको छ । त्यसबाट बचाउनका लागि नदी, खोलाका प्राकृतिक बहावलाई खुला गराउन सीमा नजिकका उक्त संरचनाहरु हटाउने ।
८. कोशी बा“ध, गण्डक बा“ध र महाकाली व्यारेजले गर्दा वर्षेनी नेपाल र त्यहा“का वासिन्दाहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसको क्षतिपूर्ति माग गर्ने ।
९. विगतमा भएका सन्धि सम्झौता अनुसार नेपालले प्राप्त गर्ने भूमि प्राप्त गर्न पहल गर्ने । नेपालको विभिन्न सीमा क्षेत्रमा अतिक्रमण गरिएका भूमि फिर्ता गर्ने । नेपाल भारतको सीमालाई व्यवस्थापन गर्ने ।
१०. नेपाल भारत बीच भएको व्यापार सम्बन्धी सहमति र पारवहनको अधिकार निर्वाध रुपमा कार्यान्वयन गर्ने ।
११. सीमा क्षेत्रका जनतालाई भारतीय सुरक्षाकर्मीद्वारा भएको ज्यादती रोक्ने र पीडितलाई क्षतिपूर्ति दिने ।
१२. तात्कालिक प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेलामा गरेको २५ बु“दे सहमतिमा रहेको नेपालको विदेश नीतिलाई भारतीय विदेश नीति अनुरुप बनाउने प्रावधानहरु हटाउने ।
१३. नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलाई सूचना मात्र दिएर साना विकास परियोजना सञ्चालन गर्न पाउने विगतको सम्झौताको अवधि समाप्त भएकाले त्यसलाई नवीकरण नगर्ने ।
१४. नेपालमा उत्पादित वस्तुहरु, यातायात र पारवहनका साधनहरुलाई भारत प्रवेशमा नेपालले प्राथमिकता पाउने व्यवस्था मिलाउने ।
१५. राष्ट्रिय हित विपरीत जानेगरी कुनै पनि विवादास्पद र गोप्य सहमति तथा सम्झौता नगर्ने ।