काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले क्रान्तिको प्रक्रियामा देखापरेका अवसरवादी र गद्दारहरुसँग क्रान्तिकारीहरुले बदला लिनुपर्ने कुरा बताउनु भएको छ । रामवृक्ष तथा दोरम्बा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले यस्तो कुरा बताउनु भएको हो । क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशले शुक्रबार ललितपुरको कुपण्डोलमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले भन्नुभयो,“अब राजनैतिक तथा फौजी कार्यदिशा ठोस गरेर जान हामी पार्टीको राष्ट्रिय सम्मेलनमा जुटेका छौं, क्रान्तिको प्रक्रियामा देखिएका अवसरवादी र गद्दारहरुसँग क्रान्तिकारीहरुले बदला लिनु पर्दछ ।”
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलगायतका दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुले क्रान्तिकारी पार्टीहरुलाई सिध्याउन कसरत गरिरहेको भन्दै उहाँले भन्नुभयो, “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।”
कांग्रेसले अच्चाकली गरेका कारण बन्दुक उठाएर जनयुद्ध लड्नु परेको परिस्थितिको स्मरण गर्दै अध्यक्ष किरणले अहिले माओवादी केन्द्रले आफूहरुमाथि अच्चाकली गरिरहेको दावी गर्नुभयो । उहाँले माकेका नेताहरुतर्फ इंगित गर्दै भन्नुभयो, “हामीले सँगै जनयुद्ध लडेका हौं, हामी मरेका छैनौं । प्रतिक्रियावादी र अवसरवादीहरुका विरुद्ध संघर्ष गर्दै फेरि क्रान्तिको झण्डा उठाउने प्रण गर्दै आएका छौं ।”
कांग्रेस, एमाले, माकेले मुलुकका हरेक क्षेत्रमा तीन दलीय अधिनायकवादी शासन लादिरहेको उल्लेख गर्दै उहाँले अरु दललाई माथि उठ्नै नदिने तीन दलीय सिन्डिकेट तोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अध्यक्ष किरणले सहिद रामवृक्ष यादवको स्मरण गर्दै मधेशमा आजसम्म रामवृक्ष जस्तो नेता जन्मिन नसकेको बताउनु भयो । नयाँ जनवादी क्रान्तिका लागि सहिद रामवृक्ष यादवजस्ता हजारौं नेताहरुको खाँचो पर्ने भन्दै त्यस्ता नेता जन्माउन लागिपर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
त्यसैगरी, दोरम्बा हत्याकाण्डको बेला आफ्नो पूर्वी कमाण्डको जिम्मेवारी रहेको स्मरण गर्दै अध्यक्ष किरणले २१ जना जनयोद्धाहरुको नृशंस हत्या गरेको बताए । उनले भने, “प्रतिक्रियावादीहरु मानवअधिकारको कुरा गर्छन्, तर अत्यन्तै क्रूर हुन्छन् ।”
एकथरिले अहिले सहिदहरुको बलिदानको व्याज खाइरहेको उल्लेख गर्दै इतिहासको व्याज खाने गद्दार र अवसरवादीहरुका विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने विषयमाथि उहाँले जोड गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता ३ नं. प्रदेशका संयोजक समेत रहेका नेता दिनेश शर्माले गरेको थियो भने संचालन नेता पवनमान श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका कार्यालय सदस्य रामसिंह श्रीस, क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार सचिव दीर्घप्रसाद पाण्डेलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।