अफगानिस्तानको सारिपुलमा चरमपन्थी हमला हुँदा ५० सर्वसाधारणको मृत्यु

अफगानिस्तानको सारिपुलमा चरमपन्थी हमला हुँदा ५० सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी हमलामा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ ।

मारिनेमध्ये केही महिला र बालबालिका समेत रहेको जनाइएको छ । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए ।

सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थी आक्रमणको निन्दा गरेका छन् । उनले चरमपन्थीहरुले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको बताए ।

सारीपुल प्रान्तका प्रवक्ताले चरमपन्थीहरुले सर्वसाधारणलाई निर्दयी तरिकाले हत्या गरेको बताए । उनले अफगान सुरक्षा बलका सात जवानको समेत मृत्यु भएको जानकारी दिए ।

हमलामा तालिवान र इस्लामिक स्टेट समूहका लडाकु संलग्न रहेको र त्यसमा केही विदेशी लडाकुसमेत संलग्न रहेको उनको भनाई छ ।

तालिबानले भने आम जनताको हत्या नगरेको बताउँदै सो क्षेत्रमा सरकार समर्थक मिलिसियाका २८ जना मारिएको बताएको छ ।

अफगानिस्तानमा पछिल्ला केही महिनायता आक्रमणका घटना बढेका छन् । राष्ट्रसंघका अनुसार सन् २०१७ को पहिलो ६ महिनामा १ हजार ६ सय ६२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानका सेना र प्रहरीलाई सहयोग गर्नका लागि अमेरिकी सैनिकको संख्या बढाउने तयारी गरेको बताइएको छ ।