काठमाडौं । चेल्सीलाई टाई ब्रेकरमा स्तब्ध पार्दै आर्सनलले यस वर्षको कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।
वेम्बले रंगशालामा गएराति भएको खेलमा चीर प्रतिद्वन्द्वी चेल्सीलाई टाई ब्रेकरमा हराउँदै आर्सनलले नयाँ सिजनको पहिलो उपाधीका रुपमा कम्युनिटी शिल्ड जितेको हो ।
कम्युनिटी सिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताबीच प्रतिस्पर्धा हुन्छ । एफए कपमा पनि चेल्सी र आर्सनल नै भिडेका थिए । सो खेलमा पनि चेल्सी आर्सनलसँग २–१ ले पराजित भएको थियो ।
चेल्सीका लागि भिक्टर मोसेसले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ८०औं मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएर १० खेलाडीमा समेटिएपछि आर्सनले बराबरी गोल फर्कायो ।
आर्सनलका नयाँ खेलाडी सिद कोलासिनाचले बराबरी गोल गरेका हुन् । निर्धारित ९० मिनेटको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो ।
टाई ब्रेकरमा चेल्सीका गोलरक्षक थिबाउट कोर्टुआ र स्ट्राईकर अल्भारो मोराटा पेनाल्टीमा गोल गर्न चुकेका थिए । कोर्तुवाको प्रहार अकाशिएको थियो भने मोराटाले पोस्ट बाहिर हानेका थिए ।
चेल्सीका लागि पेनाल्टी सुटआउटमा ग्यारी केहिलले मात्र गोल गरे । आर्सनलका थियो वाल्कट, नाचो मोन्रीयाल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभर जिरुले गोल गरेका थिए ।
जितसँगै आर्सनलले नयाँ सिजनको इङ्लिस फुटबलमा आफू दावेदार रहेको सन्देश दिएको छ भने चेल्सी लिग सुरु हुनुअघि नै दबाबमा आएको छ ।
गत सिजनको च्याम्पियन चेल्सीले २०१५–१६ को सिजनमा निकै खराब प्रदर्शन गरेको थियो ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले यो सिजनमा राम्रा खेलाडीहरु किन्न सकेका छैनन् भने गत सिजन चेल्सीबाट सबैभन्दा बढी गोल गर्ने डिएगो कोस्टालाई समेत खेलाएका छैनन् ।
उनी चेल्सीमा कोस्टालाई नखेलाउने पक्षमा रहेका छन् । केही समयअघि कोस्टालाई नखेलाउने भन्दै पठाएको म्यासेज बाहिरिएपछि चेल्सी समर्थक निराश भएका थिए ।