रसुवाको पैरेबेंसीमा पहिरोले एकै परिवारका ४ जना बेपत्ता

रसुवाको पैरेबेंसीमा पहिरोले एकै परिवारका ४ जना बेपत्ता

रसुवा । अविरल वर्षासँगै आएको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा एकै घरका चार जना बेपत्ता भएका छन् ।

पहिरोमा परी घाइते भएका चार जनालाई उद्दार गरिएको छ । गएराति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनकी बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी बेपत्ता भएका हुन् ।

माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई उद्दारमा कठिनाई भएको छ ।

पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन । आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीमा पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।