वैद्यले डा.गोविन्द केसीलाई भने, “तपाईंको सत्याग्रहप्रति हाम्रो ऐक्यबद्धता छ, स्वास्थ्यको ख्याल गर्नुहोला”

वैद्यले डा.गोविन्द केसीलाई भने, “तपाईंको सत्याग्रहप्रति हाम्रो ऐक्यबद्धता छ, स्वास्थ्यको ख्याल गर्नुहोला”

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका विभिन्न मागहरु अगाडि सार्दै ११ औं पटक अनसनरत डा.गोविन्द केसीको अनसनको १२ औं दिन शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले डा. केसीका मागहरुप्रति अनसन स्थलमै पुगेर ऐक्यवद्धता जाहेर गरेका छन् । 

डा. केसी अनसनरत शिक्षण अस्पतालमा बेलुका ५ बजेतिर पुगेका अध्यक्ष वैद्यले डा. केसीलाई भेटेर भने, “तपाईंले अगाडि सारेका मागहरु एकदम आवश्यक र सही छन्, हाम्रो ऐक्यबद्धता छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।” नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतका साथमा डा. गोविन्द केसीलाई भेट्न पुगेका वैद्यले केसीका मागहरु पूरा गराउन राज्यलाई चौतर्फी दबाब दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

डा. केसीको सत्याग्रहप्रति नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले पनि ऐक्यवद्धता जाहेर गर्दै केसीको स्थास्थ्यप्रति चिन्ता जाहेर गरेका थिए । यसैबीच, डा. गोविन्द केसीका समर्थकहरुले शनिबार प्रदर्शन गर्दैछन् ।