काठमाडौं । डोटी जिल्लाको बोगटान गाउँपालिका–६ गगुडाधारमा भएको जीप दुर्घटना परी ९ जनाको घटनास्थलमै ज्यान गएको छ । दिपायलबाट यात्रु लिएर बोगटानतर्फ हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप गएराती १० बजे दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगर, ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक कृष्णबहादुर नेगीको घटनास्थलमै ज्यान गएको थियो ।
घाइते ६ जना मध्ये दुईको अवस्था गम्भीर रहेको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।
सडकबाट जीप करिब पाँच सय मिटर तल खसेको स्थानीयले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।





























