भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी, उपमेयरमा काँग्रेसकी पार्वती शाह

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी, उपमेयरमा काँग्रेसकी पार्वती शाह

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि उत्पन्न विवादा तीन महिनाभन्दा लामो समयको बहसपछि सर्वोच्चले पुनः मदतादनको फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसलाअनुसार साउन २० गते भरतपुर १९ मा निर्वाचन भएको थियो । शनिबार अबेर राति सकिएको मतगणनाको परिणामअनुसार रेणु दाहाल मेयरमा विजयी बनेकी हुन् ।

उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु मेयर र पार्वती शाह उपमेयरका उम्मेदवार थिए भने एमालेबाट देबी ज्ञवाली मेयर र दिव्या शर्मा उपमेयरको उम्मेदवार थिए ।

कांग्रेस र माओवादी कार्यकर्ताहरु विजय जुलुस निकाल्न मतगणनास्थल कभर्ड हल बाहिर भेला भएका छन् ।

भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।

मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।

वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।