
एजेन्सी– अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ओबामा केयरको नामबाट चर्चित ‘अफोर्डेबल हेल्थ केयर’ लाई निस्तेज पार्ने सम्बन्धि विधेयक खारेज गरिदिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा केयरको लगातार विरोध गर्दै आएका छन् ।
ओबामा केयरको स्थानमा दुई वर्षमा नयाँ विधेयक ल्याउने प्रस्तावसहितको विधेयक रिपब्लिकन नेताको बहुमत रहेको सिनेटले असफल बनाइदिएको हो ।
विधेयकको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ५५ मत खसेको थियो । यसअघि सदनले मंगलबार स्वास्थ्य सेवा कार्यक्रमलाई हटाउनेबारे बहर सुरु गर्नका लागि मतदान गरेको थियो ।
सो कार्यक्रममाथि २३ मार्च २०१० मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।
ओबामा केयरका अनुसार करिब २ करोड अमेरिकी जनताले स्वास्थ्य सेवा पाइरहेका थिए । तर रिपब्लिकन नेताहरुले यसलाई संघीय सरकारमाथिको अनावश्यक हस्तक्षेप भएको आरोप लगाउँदै आएका छन् । उनीहरुले यसमा प्रिमियम धेरै भएको विरामीसँग कम विकल्प भएको उनीहरुको भनाई छ ।