एजेन्सी । पनामा पेपर्स काण्डमा दोषी ठहर भएपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले उनलाई शुक्रबार पनामा पेपर्स लीक काण्डमा दोषी ठहर गरेको हो । उनी कालो धन जम्मा गरेको अभियोगमा दोषी ठहर भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीस एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमत रहेको पाँच सदस्यीय इजलासले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीस खोसा र गुलजारले पनामा पेपर्स काण्डबारेको सुरुवाती फैसलामा नै प्रधानमन्त्री शरिफलाई अयोग्य घोषणा गरिसकेपनि बाँकी तीन जना न्यायधीसले थप जाँचको आदेश दिएका थिए ।

यद्यपि शुक्रबार सबै न्यायधीसले एक स्वरमा उनलाई दोषी ठहर गरेपछि पदबाट हट्न बाध्य भएका हुन् । अदालतले शरिफसँगै उनकी छोरी र ज्वाईलाई समेत दोषी ठहर गरेको छ ।

पाकिस्तानको पिपक्षी पार्टी पाकिस्तान तहरिक–ए–इन्साफका अध्यक्ष इमरान खान पनामा पेपर्स काण्डलाई लिएर मुद्धा दायर गर्नेमध्ये एक हुन् । उनले पछिल्लो समयमा यसबारेमा चाँडै फैसला सुनाउन समेत आग्रह गर्दै आएका थिए ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति समेत रहेका शरिफको बर्हिगमनसँगै नयाँ प्रधानमन्त्रीको बहस सुरु भएको छ । अब उनी प्रधानमन्त्री बन्न योग्य हुने छैनन् ।

जवाज शरिफपछि अब पार्टीको नेता र प्रधानमन्त्री को बन्छ भन्ने बहस सुरु भएको छ । पाकिस्तानमा सत्तारुढ पाकिस्तान मुस्लिम लिग र त्यसका नेता जवाज शरिफको सम्बन्ध ‘मेड फर इच अदर’ जस्तो छ ।

पाकिस्तानमा निर्वाचन आयोगमा दल दर्ता हुँदाको नियमअनुसार नै उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पद गुमाएका छन् । अब पार्टी अध्यक्षका लागि उनका भाई शाहबाज शरिफ एक प्रमुख दावेदार रहेका छन् ।

उनी पनामा पेपर्स काण्डमा समेत बचेका कारण उनलाई नवाज शरिफको सबैभन्दा बलियो उत्तराधिकारीका रुपमा हेरिएको छ । नेशनल एसेम्बलीको सदस्य नभएका कारण उनी तत्काल प्रधानमन्त्री भने बन्न सक्ने छैनन् ।

यसैगरी नवाज शरिफका सम्धी इसहाक डार, ख्वाजा मुहम्मद आसिफ, राण तनवीर, शाहिद खाकान अब्बासी, शेख आफताबका बारेमा समेत नवाजसँग नजिक रहेका मन्त्री हुन् । उनीहरु समेत भावी नेतृत्वमा आउने सम्भावना रहन्छ । यसैगरी नेशनल एसेम्बलीका समामुख अयाज सादिकसमेत नवाजका भरपर्दा व्यक्तिमा पर्दछन् ।

पाकिस्तानी प्रधानमन्त्री शरिफले अदालतको फैसलालाई सहज रुपमा स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । यद्यपि पाकिस्तानको राजनीतिमा अदालत र सेनाको बलियो पकड रहेको मानिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर