एजेन्सी । चीन र भारतबीच सीमा विवादले उग्ररुप लिइरहँदा चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतलाई सेना फिर्ता गर्न चेतावनी दिएका छन् ।
चीनको एक सरकारी सञ्चारमाध्यमले भारतलाई विवादित सीमा क्षेत्रमा आफ्नाा सैनिक फिर्ता नबोलाए लज्जाजनक अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले चीन–भारत र भुटानको सीमावर्ती क्षेत्र डोकलामबाट भारतले आफ्नो सेना फिर्ता नबोलाएसम्म यसबारेमा वार्ताको कुनै सम्भावना नरहेको जनाएको छ । भारतले गत महिनामात्रै सो क्षेत्रमा सेना पठाएको थियो ।
चीनले एक नयाँ सडक निर्माण गरिरहेका बेला त्यसलाई रोक लगाउने उद्देश्यले भारतले सेना पठाएपछि विवाद उत्पन्न भएको हो । चीन र भुटानले सो क्षेत्रमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।
यो इलाका भारतको पूर्वोत्तर राज्य सिक्कम र छिमेकी मुलुक भुटानको सीमा क्षेत्रसँग जोडिएको छ । यस क्षेत्रमा चीन र भुटानबीच विवाद चलिरहेका बेला भारतले भुटानको रक्षाका लागि भन्दै चीनविरुद्ध सेना तैनाथ गरेको हो ।
भारतलाई यो क्षेत्रमा सडक बनेको खण्डमा यसबाट चीनलाई सामरिक हिसाबले फाइदा हुने आशंका रहेको छ । यस क्षेत्रमा भारत र चीनबीच सन् १९६७ मा समेत भिडन्त भएको थियो । जानकारहरुले दुई देशबीच जारी यो विवाद पहिलेको तुलनामा अधिक रहेको बताएका छन् ।































