यु–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित

यु–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा सोमबारदेखि सुरु भएको यु–१९ विश्वकप छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सोमबार बिहान भएको खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाएर ७२ रनको झिनो स्कोर तयार पारेको थियो ।

सिंगापुरका लागि ब्रिगु आएरले ४२ रन र सिन अग्रवालले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ८ ओभर बलिङ गर्दै २ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिए भने सहाब आलमले ३ र किशोर महतोले २ विकेट लिएका थिए ।

जवाफमा ७३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालको पछि ब्याटिङ त्यति उत्कृष्ठ रहन सकेन । सिंगापुरका बलरहरुले नेपालका ब्याट्सम्यानहरुलाई पभेलियन फर्काएका थिए ।

नेपालको जितमा प्रनित थापा मगरले २३ रन बनाए भने अनिल साहले १९ र रोहित कुमार पौडेलले ११ रनको योगदान दिए । यसैगरी प्रकाश केसीले ६, आरिफ शैफले ४, दिपेन्द्र सिंह ऐरीले २ र सन्दिप सुनारले १ रन जोडेर आउट भए भने पवन सर्राफ ४ रनमा अविजित रहे ।

सिंगापुरका आहान गोपिनाथ आचार र आर्यमान सुनिलले २–२ विकेट लिए भने रोहन रंगाराजन र अन्श भर्गाभाले १–१ विकेट लिए ।

नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सहभागी एसियाको छनोटमा सबै टिमले आपसमा दुई–दुई खेल खेल्नेछन् । विजेताले विश्वकपमा स्थान बनाउने छ ।