तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ

तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ

दाङ । दाङको तुलसीपुरका एक प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् ।

व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’ मा पारी अपहरण गरी फिरौति माग्ने पूजा घर्ती नाम गरेकी युवती पक्राउ परेकी हुन् ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जना यसअघि नै पक्राउ परिसकेका छन् ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।

अपहरणको तीन दिनपछि श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो ।

शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।