
एजेन्सी। चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) ले इराकको मोसुलमा रहेको ८ सय वर्ष पुरानो ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त बनाइदिएको छ ।
इराकी सेनाले ऐतिहासिक मस्जिद आइएसले ध्वस्त बनाएको दाबी गरेको छ । यही मस्जिदमा सन् २०१४ मा आईएसका नेता अबू बक्र अल–बगदादीले शरण लिएका थिए ।
तर आइएसले यो मस्जिद एक अमेरिकी लडाकू विमानबाट गरिएको हमलामा नष्ट भएको दाबी गरेको छ । अमेरिकी सेनाले भने आइएसको भनाइलाई अस्वीकार गरेको छ ।
आकाशबाट लिइएको तस्बिरमा यो मस्जिदको अधिकांश हिस्सा नष्ट भएको देखाइएको छ ।
मोसुललाई आफ्नो नियन्त्रणमा लिन अघि बढेको इराकी सेनाका कमान्डर मेजर जनरल जोसेफ मार्टिनले आफूहरु मस्जिदबाट करिब ५० मिटर टाढा पुगेका बेला आइएसले अर्को एक गम्भीर अपराध गरेको बताए ।
उनले आइएसले मस्जिद ध्वस्त बनाएर मोसुलसहित सबै इराकीविरुद्ध अपराध गरेको आरोप लगाए ।
यसैबीच इराकका प्रधानमन्त्री हैदर अल अबादीले मस्दिज ध्वस्त पारेर आइएसले आफ्नो हार स्वीकार गरेको टिप्पणी गरेका छन् ।
यो मस्जिद सन् ११७२ मा निर्माण भएको हो । आइएसले यसअघि इराक र सिरियाका केही महत्वपूर्ण स्थल पनि ध्वस्त पारिसकेको छ ।