असार १, २०७४ । सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ सिमेन्ट उद्योग स्थापना भएको छ । उक्त अन्नपूर्ण सिमेन्ट कम्पनीले हाल परीक्षण उत्पादन सुरु गरेको जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र राउतले असार मसान्तभित्र उत्पादन बजारमा आइसक्ने बताए । मोरङको बूढीगंगा गाउँपालिकाको हात्तीमुडामा स्थापना भएको उद्योगले अन्नपूर्ण ब्रान्डको पीपीसी सिमेन्ट बजारमा ल्याउन लागेको हो । दैनिक १२ सय बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको राउतले बताए । ‘अत्याधुनिक मेसिन र नयाँ प्रविधि प्रयोग गरिएको छ,’ उनले भने, ‘हामी गुणस्तरीय उत्पादमा लागेका छौं ।’ उद्योगले सिमेन्टको कच्चा पदार्थ भारतबाट आयात गर्ने उनले बताए ।
हालसम्म ८४ सिमेन्ट उद्योग दर्ता भएका छन् । सिमेन्टको घरेलु खपत वार्षिक ५० लाख टन छ । यो क्रम बढ्दो छ । मोरङको हात्तीमुढामा मात्र तीनवटा सिमेन्ट उद्योग थपिन लागेका छन् । मुरारका ग्रुप र हरिवंश राठीले पनि सिमेन्ट उद्योग स्थापना गर्दै छन् ।
सहरीकरण र विभिन्न विकास गतिविधिका कारण नेपालमा सिमेन्टको बजार वार्षिक १० प्रतिशतले बढिरहेको छ । परम्परागत निर्माण शैली बदलिएकाले ग्रामीण क्षेत्रमा समेत सिमेन्टको माग बढेको छ । त्यसैले धेरै उत्पादनमूलक उद्योगहरू सुस्ताएको बेला व्यवसायीहरूले सिमेन्ट उद्योगमा लगानी बढाएका छन् ।