निर्वाचन आयोगले सरकारलार्इ दियो मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

निर्वाचन आयोगले सरकारलार्इ दियो मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

काठमाडौं । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा निर्वाचनको मिति सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ ।

आयोगले निर्वाचन जहिले पनि जोखिमपूर्ण नै हुने बताउँदै अब पनि निर्वाचनको मिति सारिए ‘दुर्घटना’ हुने चेतावनी दिएको छ ।

निर्वाचनको मिति सार्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्नुअघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

सरकारले तराई मधेसका केही जिल्लामा चुनाव सारेर भएपनि राजपालाई चुनावमा सहभागी गराउने तयारी गरिरहेको छ । राजपालाई सहमतिमा ल्याउनका लागि पहल गरिरहेको सरकारलाई निर्वाचन आयोगले भने अब चुनाव सार्न नसकिने जवाफ दिएका हुन् ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नु भएको छ ।’

दलहरुले भने यसबाट बच्न कुनै उपाय भए सोच्न आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताएका छन् ।