काठमाडौं । कतार एयरवेजले काठमाडौंदेखि दोहा हुँदै आयरल्याण्डको डब्लिनसम्म सीधा हवाईसेवा शुरू गरेको छ । हप्तामा २४ उडान गर्ने यो हवाईसेवा सोमवारवाट शुरू भएको हो ।

यो रुटमा यसअघि गुणस्तरीय हवाईसेवा नभएकाले डब्लिनसम्म सीधा हवाई सेवा शुरू गरेको कतार एयरवेजका नेपाल निर्देशक जयप्रकाश नायरले बताए । कतार बहुसङ्ख्यक नेपालीको श्रम गन्तव्य रहेको र आयरल्याण्डमा पनि वर्षेनि करीब ३ हजार विद्यार्थी उच्च शिक्षाका लागि जाने भएकाले नेपालीलाई यो हवाई सेवा सहयोगी हुने उनको विश्वास छ । यो सेवा आरम्भ भएपछि नेपाल–खाडी राष्ट्र र यूरोपबीचको दूरी घट्ने एयरवेजको अपेक्षा छ ।

कतार एयरवेजले विशेषगरी श्रमिक वर्गका यात्रु र विद्यार्थीका लागि सहुलितसहितको सेवा दिनुपर्ने बुधवार राजधानीमा सम्पन्न कार्यक्रममा आयरल्याण्डका लागि नेपालका अवैतनिक महावाणिज्यदूत मनोजबहादुर श्रेष्ठले बताए । एयरवेजले कलाकारका लागि आकर्षक सुविधासहितको सेवा दिएर नेपाल र आयरल्याण्डको संस्कृतिक कार्यक्रम आदानप्रदान गर्नका लागि पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

महावाणिज्यदूत श्रेष्ठको आग्रहपछि निर्देशक नायरले एयरवेजले बिजनेश क्लासको सेवा विस्तारको लक्ष्य राखेको भए पनि कतार जाने नेपाली श्रमिक र डब्लिन जाने विद्यार्थीका लागि सहुलियतको सेवा दिइरहेको भन्दै सांस्कृतिक कार्यक्रमका लागि भने आयल्याण्ड सरकारसँग छलफल गरेर व्यवस्था गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर