पहिलो चरणको २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही हिंसात्मक घटना, कतै सहमति र कतै असहमतिकाबीच निर्वाचन सम्पन्न भएको हो । तर जनगणतन्त्र स्थापना गरी जनतालाई पूर्ण अधिकारको प्रत्याभूति गराउने आधारभूमिलाई सशक्त बनाउने राजनीतिक कार्यदिशा भने स्थापित गर्ने/गराउने अभियान बाँकी नै छ । नेकपा (क्रान्तिकारी माओवादी) देशको वर्तमान सर्वसत्तावादी नवसामन्तवादी राजनीतिक चरित्रको सामाना गर्दै घोषित निर्वाचनमा सहभागि भयो । हाम्रा निम्ति निर्वाचनमा सहभागिता ठूलो कुरा हो । किनकी यसलाई जनतामा हामीले एक जागेको शक्तिका रुपमा देखिने अवसरका रुपमा लिएका छौं ।
यथार्थमा वर्तमान सन्दर्भमा विभिन्न स्वार्थ समूहको प्रभावका कारण माओवादी विभिन्न रुपमा देखिएर अनुहारमा विविधता ल्याएपनि जनगणतन्त्र स्थापना गर्ने महान उद्देश्य सहितको मूलधारको मूल सिद्धान्तको माओवादी जीवित छ भन्ने कुरा वर्तमान निर्वाचनमा देखाउन सकियो । हाम्रा निम्ति जित, हार ठूलो र महत्वपूर्ण विषय होइन । हामीले संसदीय परम्पराको जित, हारको परिणामलाई विश्वास पनि गर्दैनौं । किनकी जीत त्यसैको हुन्छ, जसले राजनीतिका अनेक दुर्गन्धित हतकन्ठाको उपयोग गर्छ । हमी त्यो दुर्गन्धको जन्जालमा पर्न र फस्न चाहँदैनौं । यसको अर्थ हामी परिवर्तनको वहाबलाई रोकेर एकनासले बगिरहेको नदी रोकेर बस्ती डुवान गराउन प्रयास गर्ने जडसूत्रवादी पनि होइनौं ।
हाम्रो समयमा निगालाको कलम मसिमा चोपेर लेखिन्थ्यो, अहिले हाम्रो हातमा अत्याधुनिक कलम छ । अर्थात समयको गतिलाई आत्मसाथ गरी अस्तित्वको युद्ध कायम राख्ने गतिशील अभियानमा हामी छौं । यसै सन्दर्भमा म स्वयम् चितवनको रत्ननगर नगरपालिकाको मेयरको प्रतिस्पर्धी थिएँ । उप–मेयरमा रत्ननगर सौराहाकै विन्दा कार्की हुनुहुन्थ्यो । कार्कीजी जुझारु एवं सक्रिय महिला नेतृ हुनुहुन्छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका नामबाट हामी निर्वाचनमा सहभागी थियौं । मोर्चाको नामबाट निर्वाचनलाई उपयोग गर्ने पार्टीको निर्णय थियो । वैशाख १७ गते हामी रत्ननगरको सौराहा क्षेत्रमाचुनावप्रचार प्रसारका सम्वन्धमा घरदैलो अभियानमा थियौं । म, उप–मेयर र वडाका उम्मेदवारहरु सहितहामीले प्रचारको कार्यक्रम गर्दै गर्दा हामीलाई चितवन प्रहरीले गिरफ्तार ग¥यो । नेताहरु घननाथ सापकोटा (विकास), मोदनाथ मरहठ्ठालगायत दर्जन बढी साथीहरु गिरफ्तारीमा पर्यौं । पछि जिल्लाका प्रहरी प्रमुख दिपक थापाले क्षमायाचना सहित हामीलाई छोडे । हामीलाई निर्वाचन विरोधी बिप्लव माओवादी भनेर गिरफ्तार गरिएको रहेछ ।
माओवादी–माओवादीबीचको सैद्धान्तिक, वैचारिक र व्यवहारिक स्खलनको परिणाम हामीले स्थानीय तहमा भोग्नु प¥यो । आखिर देश र जनताका निम्ति काम गर्ने, गराउने सम्बन्धमा मूल नेतृत्व हिड्ने बाटो र गन्तव्य बिचको बिवादले माओवादी आज आफ्नै अनुहार फेरि एकपटक सफा ऐनाको सहाराबाट हेर्नुपर्ने अवस्थामा पुगेको अनुभव प्रायः धेरै माओवादीले गरेको हुनुपर्छ । हामीले पनि स्थानीय तहबाट हेर्ने आँखाबाट त्यो दृश्यको अनुभव ग¥यौं । देशमा हाम्रै अगाडि सर्वसत्तावादी शैलीले गरेको शासन र भरतपुर महानगरपालिकाको निर्वाचन हेर्नुपर्यो । यही निर्वाचनको मूलआधारमा सत्ता साटफेरको अधिनायकवादी चरित्र हेर्नुप¥यो । यो देशमा लोकतन्त्र कहाँ छ ? गणतन्त्र कहाँ छ ? जनताको अधिकारको व्यवहारिक अनुहार कहाँ छ ? यावत प्रश्नका बिच सीमित नेताको पेवा बनेको देख्दा लोकतान्त्रिक गणतन्त्र पनि सीमित नेताकै पेवाको रुपमा विकसित भइरहेको छ ।
राजनीतिमा शब्दको खेल खेल्न सकिन्छ । तर यस्तो खेल टिकाउ वा दीर्घकालीन हुदैन । किनकी जनताको स्तर सधैं एकै नासको हुँदैन । जनता जान्दै, बुझदै गर्दा परिपक्व बनिरहेका हुन्छन् । यसले सङ्केत गर्छ– नेपालमा फेरि अर्काे राजनीतिक आधिबेहरी त आउँदै छैन ? कुकरमा ग्याँस भरिएपछि कि सिठी मार्फत सहज तरिकाले ग्याँस बाहिर निस्कन्छ वा बिस्फोट हुन्छ । तसर्थ जनताको खबरदारी मतपत्र मार्फत मात्र होइन, सडक र सदनबाट पनि उत्तिकै आवश्यक हुन्छ । वर्तमान सन्दर्भमा हामी जनतालाई सचेत गराएर जनता मार्फत नै खबरदारी गराउने अभियानमा निर्वाचनको उपयोगमा लागेका छौं । सफलता भविश्यको विषय हो । सफल भएनभने पनि हामीले हाम्रो कर्तव्य निर्वाह गरिरहेका हुनेछौं । किनकी राजनीति एउटा निरन्तरको प्रयत्न हो ।
एक राजनीतिक संगठनमा हजारौं कार्यकर्ताको योगदान लुकेको हुन्छ । यी कार्यकर्ताले राजनीतिक रुपमा आ–आफ्नो भविश्य पनि खोजिरहेका हुन्छन् । नेतृत्वले कार्यकर्ताको यो भावना बुझेन र शब्दको खेलमात्र राजनीति हो भन्ने बुझ्यो भने त्यतिबेला कार्यकर्ता र नेतृत्व दुबैको जहाज डुब्छ वा उडान अवरुद्ध हुन्छ । संगठन गतिहीन हुन्छ । देशभक्त गणतान्त्रिक मोर्च यस सन्दर्भमा सचेत भएकै हुनुपर्छ । हाम्रा पार्टीका श्रेद्धय नेताहरुबाट निर्वाचनलाई उपयोग गरी आधारभूमि खडा गर्ने रणनीति तयार गरेको देखिन्छ । तत्कालका निम्ति यो रणनीति उपयुक्त छ तर भविश्यको बाटो तय गरी त्यो मार्गमा हिडन र हिडाउन थप प्रभावकारी कार्यक्रमको आवश्यकता पर्दछ । अवश्यपनि देश र जनताको भलाईको त्यो महान उद्देश्यप्राप्तगर्न, पवित्र राजनीतिक उद्देश्यमा परिणत गर्न र गराउन नेकपा (क्रान्तिकारी माओवादी) सफल हुनुपर्छ । किनकी राजनीतिमा प्रयत्न र सफलता एक आपसमा मित्र हुन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने घोषणा भएअनुरुप पार्टी सोही तरिकाले प्रस्तुत हुनुपर्छ । निर्वाचनमा सहभागिता पनि संगठन निर्माणको महत्वपूर्ण अवसर हो । अबको समय संगठन निर्माणमा खर्चेर देशकै बलियो र जनविश्वास प्राप्त राजनीतिक शक्तिका रुपमा उदाउन अनिवार्य छ । यसपछि मात्र नेपालमा जनगणतन्त्रको औपचारिक आगमन हुनेछ । यसका निम्ति दीर्घकालीन तर शान्तिपूर्ण रणनीति आवश्यक छ ।
प्रयोग र परिमाणामको सिद्धान्तलाई मौलिक रुपमा उपयोग गर्दै आगामी कार्यदिशा तय गर्न आवश्यक छ । यसका निम्ति पार्टीले लामो छलफल र बहस चलाउन आवश्यक छ । यसैका आधारमा जनताको चाहना अनुसारका कार्यक्रमहरु तय हुदै जान्छन् । राजनीतिक अन्योलको यो चरण पार गरेर उपयुक्त गन्तव्यको मार्गमा यात्रारत रहन निश्चित पनि समय लाग्छ ।