काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको छ ।
मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गरिरहेका बेला पुनः मतदानको निर्णय आएको हो ।
आयोगले मतपत्र च्यातिएको विषयमा छानबिन समिति बनाएको थियो । छानविन समितिको प्रतिवेदनपछि च्यातिएको मतपत्रको संख्या समेत गन्न लगाएको थियो ।
सो क्रममा ९० मतपत्र च्यातिएको बाहिर आएको थियो । आयोगले यसैलाई आधार बनाएर मतगणनास्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ ।
मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्य भएको प्रतिवेदन पठाएको भन्दै आयोगको निर्णयमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।’
साथै मतदानको नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन समेत दिइएको छ । ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
एमालेले मतगणना सुचारु गर्न माग गर्दै संसद समेत अवरुद्ध पार्दै आएको छ भने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले भने वडा नं. १९ मा पुनः मतदान गर्नु पर्ने माग गर्दै आएका छन् ।
यसैबीच, प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य भएको बताएको छ ।
एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले संसद अवरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।






























