
काठमाडौं । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । देउवाले संसद सचिवालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको उम्मेवारीमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
देउवाले बिहान साढे ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । देउवा प्रधानमन्त्री पुष्पकमल दाहालसहित समर्थक दलका नेतासँगै संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।
रामचन्द्र पौडेल, शेखर कोइरालालगायत कांग्रेस नेताहरु पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समयमा सहमतीय सरकार बन्न नसकेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो ।
नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे संसदमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।