काठमाडौं । व्यवस्थापिका संसदमा शनिबारदेखि प्रधानमन्त्री छनोटको प्रक्रिया सुरु हुदैछ ।
सहमतीय सरकार निर्माणको प्रयास असफल भएपछि संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।
सभामुखको निर्देशन अनुसार सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयन र आइतबार निर्वाचन हुँदैछ ।
शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको मनोनयनका लागि उम्मेदवारी दर्ता गर्ने समय संसद सचिवालयले दिएको छ भने ४ बजेपछि उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
नयाँ प्रधानमन्त्रीको निर्वाचन आइतबार बिहान ११ बजेका लागि तय गरिएको छ ।
माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्दै छन् भने एमालेले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि, एमालेले यसबारे औपचारिक निर्णय लिइसकेको छैन ।
गत वर्ष नै काँग्रेस र माओवादी केन्द्रबीचको ९–९ महिना प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर काँग्रेसलाई सहयोग गरेका हुन् ।