जेठ १५ गते राज्यले धुमधडकासँग गणतन्त्र दिवस मनायो । यो गणतन्त्र राज्यमा बसेर राज्यको ढुकुटी डकारेर ढाडिएकाहरूको मात्र भएकाले मनाउने कुरा पनि उनिहरूकै जिम्मा भयो । रैति मनुवाहरूका लागि यो गणतन्त्र कौवालाई बेलजस्तै हो । तातो न छारो । त्यहि भएर यो गण्तन्त्र राजधानीको टुँडिखेलमा रैतिहरूलाई भित्र पस्नै नदिएर मनाइन्छ । त्यहाँ सरकारी लाउके दलका लाउकेहरू, तिनका भारदार र विशिष्ट श्रेणीका कारिन्दाहरूको उपस्थितिमा सरकार र लाउकेहरूको सुरक्षार्थ तैनाथ हनुमानहरूको झिलिमिलि खेल प्रदर्शन गरेर मनाइन्छ । रैति मनुवाहरूलाई त अझै पनि गनतन्त्र नै छ ।
माक्र्स बुढाले त उहिल्यै भनेका हुन्, व्यवस्था भनेका दुइटा हुन्छन् । एउटा ठालूको अर्को रैतिको । अहिलेको व्यवस्था ठालूको हो । त्यसैले दिवस मनाउने र मानपदवी बाँड्ने अधिकार पनि उनीहरूमा नै सुरक्षित र निहीत छ । आफूमा सुरक्षित भएको अधिकार आफूले आफ्नै लािग प्रयोग गर्नु सोह्रैआना मुनासिव कुरा भइहाल्यो । त्यसमा अरूले चित्त दुखाएर दुःख मनाउ गर्नु जरुरी छैन । सातसमुन्द्र पारी घाम अस्ताउने देशका लिङ्कन नामका कुइरे राष्ट्रपतिले प्रजातन्त्रको परिभाषा गर्दा भनेका थिए – ‘प्रजातन्त्र जनताको जनताले जनतालाई शाषन गर्ने व्यवस्था हो’ । अहिले प्रजातन्त्रले गणतन्त्रमा फड्को मारेपछि यसको परिभाषा पनि बदलिएको छ । ‘गणतन्त्र ठालु नेताको ठालु नेताले रैतिलाई लुट्ने व्यवस्था हो’ ।
हामी रैति मनुवाहरू पनि त अझै भेडा बाख्रा भन्दा माथि उठ्न सकेका रहेनछौँ । दिब्य दश वर्षसम्म त्यत्रो जनयुद्ध भयो । त्यस अघिपछि बेलाबखत कयौँचोटी जनआन्दोलन त कति भए कति । अब त रैतिहरूको बुद्धिको विर्को खुल्यो होला भनेको त बाह« वर्षसम्म ढुङ्ग्रामा हालेको कुकुरको पुच्छर जस्तै पो रहेछ । त्यो कुरा त गाउँले मुखियाको चुनाउले देखाइ हाल्यो । दिनभरि एउटाको प्रचारमा हिँडेको ज्यान रातभर ब्रोइलर र सोमरसमा डुबेर भोलिपल्ट त अर्कैलाई पो भोट हाल्छ बा । भएन फसाद ।
काम नपाएर लखर लखर डुलि हिँड्ने ठिटाठिटीहरूलाई बाइकमा पेट्रोल भरिदियो, जेब गरम गरिदयो र होटेल फ्रि गरिदिएपछि नेताका अघिपछि लाग्ने कति हुन् कति । पाखुरा बटार्दै बाटाघाटै विपक्षी पार्टीका मनुवाहरूलाई निमोठ्दै हिँडिहाल्छन् । जुन दलको ठूलो हुल देख्छन् घरमा बसेका बुढाबुढीहरूले त्यसैको चुनाउ चिन्हमा छाप धस्काइदिन्छन् । तिनलाई को राम्रो को नराम्रो ? के मतलव ? ‘जस्ले दिन्छ मानो उसको सुनको छानो’ भन्दै भैली खेल्न थालिहाल्छौँ । जस्को शक्ति उसैको भक्ति । यस्ता छौँ यो मण्डलका हामी रैति मनुवाहरू । आजै जेब र पेट गरम गर्न पाए भोली आउने व्यवस्था भनेर नाराको पछि को दौडिन्छ । भोट किन्न आउनेलाई पो बेच्ने हो, माग्न आउनेलाई किन दिने ? त्यहि भएर पनि ठालू दलका लाउकेहरूले हामीमाथी राइँदाइँ मच्चाएकै छन् । हामीलाई केको गणतन्त्र ? गनतन्त्रै भए पुग्ने रहेछ ।
यो गणतन्त्र त सरकारी दलका लाउकेहरूकै हो । एकथर बासी अर्काथर साजी । बासी र साजी दुबैथर आखिरमा सरकारी नै परे । चर्खे पिङको पिर्का जस्तै हुन् कुकुरको मासु बेच्ने पसलमा छिरेका दलहरू । आलो पालो गरेर सरकारी कुँडो हसुरेकै छन् । गणतन्त्रको मोज र भोज पनि यिनैलाई छ । गणतन्त्रको मानपदवी र अलङ्कार पनि यिनैले बाँडिचुँडी लिन्छन् । मानपदवी लिने र दिने पनि गजबको काइदा रहेछ । मानपदवी पाउने सामजसेवीको समाजसेवा गर्ने काइदा पनि गजबकै रहेछ । तीनवटी स्वास्नी खेरेको हुनुपर्ने, भाङ धतुरो र सोमरसले लट्ठीएर बाटामा ढलेर पुलिसले उठाएर घरमा पुर्याइदिएको हुनुपर्ने । पुराना दुईवटी सवास्नीलाई अलपत्र पारेर कसैलाई डिभोर्स गरिदिने र कसैलाई अलपत्र नै छोडिदिनु पर्ने । त्यस्ता मनुवा अब्बल दर्जाका समाजसेवी हुँदा रहेछन् ।
सरकारी दलका लाउकेहरूका छोराछोरी, सालासाली, स्वास्नी, सासूससुरा, मामामाइजू, दिदीभिनाजु, सम्धीसम्धिना, भदाभदै, ज्वाइँ, भान्जाभान्जी आदि कोही न कोही भए गणतन्त्रको मानपदवी पक्का भयो । यिनीहरू मानपदवी पाउने पहिलो दर्जाका समाजसेवी हुन् । सरकारी दलका लाउकेहरूलाई बेलाबखत मोटो रकम हातमा थमाएर रङ्गीविरङ्गी खादा, बुकी लिएर दर्शनभेट गर्ने र क्वीन्टलका मालाको व्यवस्था गर्ने सेवकहरू दोस्रो दर्जाका परे । नेताका अघिपछि लाग्ने र उनलाई भगवान मानेर पूजा गर्दै तिनको भजनकिर्तन गाउँदै हिँड्ने दलका कार्यकर्ता पनि मानपदवी पाउन छनोटमा पर्ने तेस्रो दर्जाका समाजसेवी परे । यसरी तीन किसिमले छनोट गरेर सरकारले राष्ट्रपति महोदयलाई मानपदवी दिन शिफारिस गर्छ । यस्तो छ गणतन्त्र मनाउने र मानपदवी बाँड्ने नेपाल मण्डलको सरकारी काइदा । सबैलाई चेतना भया ।
१९ जेठ २०७४






























