विषयको थालनीः
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत मे १९ का दिन अमेरिकाबाट आनो पहिलो अन्तरर्राष्ट्रिय भ्रमणमा निस्के । क्यानाडा वा मेक्सिकोबाट सुरु गरिने अमेरिकी परम्परालाई तोडेर यसपटक उनले आनो भ्रमण साउदी अरबबाट सुरुगरेका थिए । पत्नि मेलानिया ट्रम्म र छोरी ईभाङ्का ट्रम्पका साथमा विदेश भ्रमणमा निस्केका अमेरिकी राष्ट्रपति ट्रम्पको यस पाली साउदी अरब, ईजरायल, ईटली र बेल्जियमसम्म पुग्ने कार्यक्रम रहेको थियो । २०–२१मा मध्यपुर्वको रियाध, २२–२३मा ईजरायलको तेल अभिभ, २४–२५मा बेल्जीयमको ब्रसेल्स र २६–२७का दिन ईटलीको ताओरमिनामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । यी मध्ये उनका साउदी अरब, बेल्जीयम र ईटलीका कार्यक्रमहरु विशेष अर्थका रहेका छन् । यो लेखमा उपरोक्त ठाउमा भएको संक्षिप्त कार्यक्रमिक विवरण र यो भ्रमणले गरेको संकेत बारे उल्लेख गरिने छ ।
मध्यपुर्वमा ट्रम्प
साउदी अरबमा उनका दुईवटा महत्वपूर्ण कार्यक्रमहरु थिए । पहिलो, अमेरिकाबाट साउदी अरबले १खरब १० अरब अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने सझौता गरेको छ । हतियारको प्याकेज भित्र टैंक, तोप, राडार प्रणाली, बख्तरबंदगाडी, व्ल्याकहक हेलिकप्टर, पानीजहाज, रकेट तथा थाड प्रतिरक्षा मिसाईल समेतका अत्याधुनिक हतियारहरु रहेका छन् । यो विश्वमा अहिलेसम्म भएका सबैभन्दा ठूला हतियार कारोबारहरु मध्येको एउटा हो । यस बाहेक यही मे १७मा बेलायतबाट प्रकासित ईन्डिपेन्डेन्ट पत्रिकामा ट्रम्पले अरब मुलुकहरुका बीचमा नयाँ सैन्य गठबन्धन “अरब नेटो” तयार पार्ने र आउने १० बर्ष भित्र ३ खरब ५० अरब डलरसम्मको हतियार आपूर्तिगर्ने लक्ष राखेका छन् भन्ने कुरा उल्लेख छ । आजसम्म मध्यपूर्वमा बहराईन, कुवेत, ओमन, कतार, साउदी अरब र युनाईटेड अरब ईमिरेट्सका शासकहरु सदस्य रहेको “खाडी सहयोग परिषद” नामको अमेरिकी दलाल संस्था क्रियाशिल रही आएको छ । सारतः यो अमेरिकी कठपुतली शासकहरुको अघोषित सैन्य गठबन्धन नै हो ।
दोस्रो, ट्रम्पले अरब मुलुक लगायत विश्वभर ५५ वटा मुस्लिम देशका राष्ट्राध्यक्ष, सरकार प्रमूख वा प्रतिनिधीका बीचमा आयोजित “मुस्लिम शीखर सम्मेलन”लाई संबोधन गरेका छन् । आफु राष्ट्रपति भए पछि मुश्लिहरुलाई अन्धाधुन्ध तरिकाले अमेरिका प्रवेशमाथि जुन रोक लगाएका थिए त्यसबाट भएको क्षति कमगर्न यो कार्यक्रम आयोजना गरिएको थियो भन्ने देखिनछ । र अर्को, यो कार्यक्रम “आतंकवाद”को विरोध गर्ने नाममा ईरान तथा सिरियाका विरुद्ध मुस्लिम समुदायकै बीचबाट बलियो जनमत निर्माण गर्ने उद्देश्य राखेर आयोजना गरिएको थियो भन्ने कुरा पनि स्पष्ट हुन्छ ।
त्यो सम्मेलनमा ट्रम्पले भने, “आतंकवाद”को चुनौतीको सामना कसरी गर्नु पर्छ भन्ने कुराको छलफल गर्ने सन्दर्भमा यसका पछाडि कुन सरकारले “आतंकवादी”हरुलाई शरणदिएको छ, आर्थिक सहयोग गरेको छ र सामाजिक स्थान प्रदान गरेको छ भन्ने कुरा उल्लेख गर्नु पर्दछ । … … मैले यहाँ ईरानको कुरा गर्दैछु । यो क्षेत्रभरी विध्वंश मच्चाउने र अस्थिरता फैलाउने लेबनान देखि ईराक हुंदै यमन सम्मका मिलिसिया र अन्य अतिवादी समूहहरुलाई आर्थिक सहयोग गर्ने, तालिम प्रशिक्षण दिने र हतियार आपूर्ति गर्ने काम ईरानले गरिराखेको छ । … … … ईरानको अत्यन्त दुःखद र अस्थिरता निम्त्याउने हस्तक्षेप सिरियामा भएको छ । ईरानको बलमा आसादले शव्दमा व्यक्तगर्न नसकिने अपराध गरेका छन् । … … ईरानी प्रशासनले “शान्ति”को पक्षमा उभिन तयार नहुंदासम्म सबै राष्ट्रहरुले ईरानलाई एक्ल्याउन संगै कामगर्नु पर्दछ ।” साउदी अरब पछि ईजरायल भ्रमणको क्रममा त्यहाँ ट्रम्पले धेरै कुरा गरेनन् । ईजरायललाई ईरान र सिरियाका विरुद्ध क्षेत्रीय दादाको रुपमा हौस्याउने नै त्यहाँ उनको मूख्य काम रह्यो । यो सबै कुराले मध्यपूर्वमा ट्रम्पको आगामी योजना के छ भन्ने तर्फ स्पष्ट संकेत गर्दछ ।
यही मे २५ मा प्रकासित रुसी पत्रिका प्राभ्दाले एउटा रोचक प्रसंग सहितको लेख छापेको छ । त्यसमा “ट्रम्प र साउदी राजकुमार सलमान – विश्व कै सबभन्दा खतरा मानिस ?” शिर्षक दिईएको लेख प्रकासित भएको छ । त्यसमा लेखेको छ, “धेरै मान्छेलाई लाग्दो हो कि डोनाल्ड ट्रम्प यो ग्रह कै सबैभन्दा खतरा मान्छे हुन् । तर, अहिले साउदी अरवको भ्रमणका क्रममा उनले यस्तो अर्को पनि मान्छे भेटे जसले खतराका हिसाबले उनलाई दोस्रो स्थानमा धकेलिदियो । आफुले गरेको कामको के परिणाम आउने हो भन्ने बारे सोच्न नसक्ने अमेरिकी राष्ट्रपति र साउदी राजकुमारका सिमालाई मिलाउंदा उनीहरुबाट यस्तो एउटा विस्फोटक जोडी बन्छ जस्ले गर्दा विश्वको सबभन्दा संबेदनशील क्षेत्र मध्यपूर्व खतरामा परेको छ ।” साउदी अरबका रक्षामन्त्री समेत रहेका राजकुमार सलमान आना बाबुको बृद्धावस्थाका कारण यति बेला वास्तविक (de facto) प्रशासक बनेका छन् । मुस्लिमहरुको सम्मेलनमा ट्रम्पको उत्तेजक संबोधन, साउदी अरबसंग अमेरिकाको यति ठूलो हतियार कारोबार र यति नै बेला ईरानले आफ्नो देशमा मिसाईल निर्माणगर्ने मूमिगत कारखाना खोलेको छ भन्ने घोषणा गरेका कारण मध्यपूर्वको स्थिति अत्यन्त तनावपूर्ण बनेको छ । त्यस माथि ट्रम्प र सलमान जस्ता दुई मूर्खको विस्फोटक जोडीका कारण यति बेला मध्यपूर्वमा युद्ध छेडिने संभावना निकै बढेर गएको हो ।
नेटोको शिखर सम्मेलन र ट्रम्प
भ्रमणको यो शिलशिलामा ट्रम्प सहभागी भएको अर्को महत्वपूर्ण कार्यक्रम बेल्जीयमको ब्रसेल्समा आयोजित नेटोको शिखर सम्मेलन हो । अमेरिकाको राष्ट्रपति निर्वाचनका बेला उनले नेटोलाई निकम्मा (Obsolete) संस्थाको संज्ञा दिएका थिए । उनले नेटोका २८बटा देशमध्ये कुनै एउटा माथि भएको वाह्य आक्रमणलाई बांकी सबै देशले आफ्नै देशमा भएको आक्रमणको रुपमा लिनु पर्छ भन्ने धारा ५को प्रावधान र सबै राष्ट्रले नेटोलाई आर्थिक रुपमा सहयोग नगरेको भन्ने विषयको चर्को आलोचना गरेका थिए । यो शीखर सम्मेलनमा पनि उनले यी विषयलाई छाडेनन् । त्यति मात्र होईन, नेटोका सहभागी नेतालाई नराम्ररी हकारे । ट्रम्पले आफ्नो भाषणमा “२८ वटा सदस्य राष्ट्र मध्ये २३ वटाले आनो सुरक्षाको लागि नेटोलाई तिर्नुृ पर्ने भनेको रकम अहिलेसम्म तिरेका छैनन्” भनेर थर्काए । यसै क्रममा अनलाईन पत्रिका रोईटर (Reuter)मा रविन ईमोट र स्टीभ हल्याण्डको नामबाट “ट्रम्पले नेटोका सहभागीहरुलाई थुप्रो पैसा नतिरेको भनेर हप्काए” भन्ने शीर्षमा एउटा लेख पनि प्रकासित भयो । उनले भाषण गरेका बेला अन्य राष्ट्रका नेताहरुले एकआपसमा पल्र्याक–पुर्लुक हेरेको दृश्य हेर्नलायक देखिन्थ्यो ।
नेटो राष्ट्रहरुले आफ्नो सुरक्षामा धेरै रकम छुट्याउनु पर्ने कुरामा ट्रम्पको मूख्य जोड रहेको थियो । उनले भने, “यदि सबै सदस्य राष्ट्रहरुले आनो कुलगार्हस्थ उत्पादनको २ प्रतिशत मात्र सूरक्षा क्षेत्रमा खर्च गरेको भए पनि हामीसंग सामुहिक सुरक्षाका लागि र नेटोका अन्य खर्चका लागि अरु थप १ खरब १९ अरब अमेरिकी डलर उपलव्ध हुने थियो । … … विगतका आठ वर्षमा नेटोका सबै राष्ट्रहरुले भन्दा अमेरिका एक्लैले सुरक्षामा बढी रकम खर्च गरेको छ ।” आतंकवाद र आप्रवासनको सन्दर्भमा सदस्य राष्ट्रहरु कठोर हुनु पर्ने कुरामा पनि उनले निकै जोड दिएका थिए । उनले थपे, “भविष्यको नेटोले आतंकवाद र आप्रवाशनका समस्याको साथै रुस र नेटोका पूर्वी वा दक्षिणी सिमानाहरुबाट हुने खतरामा वढी ध्यान केन्द्रित गर्नु पर्दछ ।” उनले आनो ८ मिनेटको भाषणमा करीब आधा भन्दा बढी समय नेटोको आर्थिक विषयमा बोलेर खर्च गरेका थिए । आफु विश्व साम्राज्यवादको दादा भएको र नेटोका अन्य देशहरुले उनको आदेशलाई विनाशर्त शिरोधार्य गर्नु पर्दछ भन्ने कुरा उनको भाषणमा स्पष्ट झल्किन्थ्यो ।
ट्रम्पको भाषणमाथि थुप्रै मिडियाले टिप्पणी गरेका छन् । एसोसिएटेड प्रेस (AP)मा ब्रसेल्सबाट र्याफ क्यासर्ट र भर्जिनिया मायोले लेखेका छन्, “राष्ट्रपतिको संबोधनले नेटोलाई नयाँ तनाब थप्यो र त्यसले पहिल्यै “निकम्मा” भनिएको गठबन्धन संग सम्बन्ध विग्रेको भन्ने जुन प्रश्नहरु उठेका थिए तिनलाई शान्त पार्ने काम गर्न सकेन । विशेषतः उनले “सबै एउटाका लागि र एउटा सबैका लागि” भन्ने धारा ५को नेटोको साझा सुरक्षा सिद्धान्त प्रति जनताका बीचमा स्पष्ट धारणा पनि राखेनन् । … राष्ट्रपतिको भाषणका क्रममा नेटोका अन्य समकक्षी नेताहरु वाल्ल परेर एक–आपसमा मूखामूख गरिरहे । … आक्रामक बन्दै गएको रुसले हस्तक्षेप गरेको खण्डमा उनीहरुको सूरक्षामा अमेरिका आउने प्रतिवद्धता ट्रम्पको मूखबाट सुन्न पर्खेर बसेका युरोपियन मित्रहरु निराश भए ।” यहिं नेर, मे २६मा प्रकासित फाईनान्सियल टाईम्समा एन्ड्रियु मोराभ्सिकले “ट्रम्पले जति भन्छन त्यो बकौता ऋण तिर्न युरोप तयार छ, नेटोका पार्टनरलाई अमेरिकाले गरेको आलोचना वैश्विक शक्तिको बासी विचार हो” भन्ने शिर्षकमा एउटा लेख लेखेका थिए । यसले नेटोको शीखर सम्मेलनका ट्रम्पको प्रस्तुती र भूमिका कस्तो रह्यो भन्ने कुरालाई स्पष्ट गर्दछ ।
नेटोको कुल खर्चको आफ्नो हिस्सा सधै तिरिराख्नु पर्ने तर कसैले आक्रमण गरेको खण्डमा त्यसको सुरक्षार्थ अमेरिकाले नेटोको धारा ५ अनुसार आक्रमणकारीका विरुद्ध लडने प्रतिबद्धता जनाउन नपर्ने स्थितिले मूख्यतः युरोपियन शासकहरु अमेरिका प्रति निकै सशंकित छन् । त्यसमाथि ट्रम्प र पुटिनका बीचकोे विवादास्पद सम्बन्धले पनि स्थितिलाई अरु गंभीर बनाएको छ । नेटोका नेताहरुका अनुहारमा आनो निरिहता र अमेरिकी दादागिरी माथिको आक्रोस दुबै स्पष्ट रुपमा झल्किन्थ्यो । ट्रम्पको हेपाईलाई भित्रैबाट स्वीकार्न कोही तयार देखिंदैनथे । तर उनीहरुसंग त्यसको प्रतिवाद गर्ने हिम्मत पनि थिएन । नारायण गोपालको गीतमा भने जस्तै, नेटोभित्रका युरोपियन नेताहरुको स्थिति “मुटुमाथि ढुगा राखी हांस्नु पर्या छ” भन्ने जस्तो देखिन्थ्यो । भित्र गहिरो अन्तरविरोध भएर पनि बाहिर एकता रहेको कुरा देखाउन उनीहरु विवस थिए । सारमा भन्नु पर्दा यस पटकको नेटोको शीखर सम्मेलनले अमेरिकाको संस्थापन पक्ष र युरोपका शासकहरु बीच चर्को अन्तरविरोध पैदा भएको कुरालाई स्पष्ट देखाएको छ । परिणामतः, आउने दिनमा ट्रम्पविरोधी अमेरिकनहरु र युरोपियनहरुको संयुक्त घेराबन्दीमा राष्ट्रपति ट्रम्प अरु नराम्ररी फस्ने संभावनालाई पनि अहिले नकार्न सकिंदैन ।
जी ७ को शीखर सम्मेलन र ट्रम्प
यो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी भएको अन्तिम तथा अति महत्वपूर्ण कार्यक्रम अति विकसित ७ राष्ट्रका प्रतिनिधीहरुका बीचमा हुने जी७को शीखर सम्मेलन थियो । यस समुहमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, ईटली र जापान रहेका छन् । जी७को अनुसन्धान समूहका विज्ञ मानिने डक्टर ट्रिस्टेन ए नेलरले यो शीखर सम्मेलनबारे भनेका छन्, “सिसलीको ताओरमिनामा शुक्रबारदेखि सुरुहुने शीखर सम्मेलन अन्तरर्राष्ट्रिय समुदायले अमेरिकालाई उसको संरक्षणवादी अर्थनीति र पर्यावरण सम्बन्धी नीतिलाई प्रस्ट्याउन वाध्य पार्ने पहिलो उपयुक्त अवसर हो ।” यो शीखर सम्मेलनलाइ साम्राज्यवादीहरुले कति महत्वका साथ हेरेका रहेछन् भन्ने कुरा यस भनाईबाट स्पष्ट हुन्छ ।
ताओरमिना शीखर सम्मेलनमा ४ वटा विषय छलफलका मूख्य एजेण्डा थिए । ती हुनः व्यापार, पर्याबरण, आप्रवाशन र “आतंकबाद” । जी७का नेताहरु “आतंकबाद” बाहेक अन्य विषयमा एकमत हुन सकेनन् । कही नभएको जात्रा हांडीगाउंमा भने झै एउटा सम्मेलनका दुइबटा विज्ञप्ति प्रकासित भए । पहिलो २६ मेमा प्रसारित “आतंकबाद” बारेको १५ बुंदे विज्ञप्ति र अर्को थियो उपरोक्त मूल विषय लगायत अन्य विषयलाई समेटेर तयार पारिएको २७मेमा प्रसारित ३९ बुंदे विज्ञप्ति । शरणार्थी तथा आप्रवासन र व्यापार सम्बन्धी विषयमा यो दोस्रो विज्ञप्ति गोलमटोल भाषामा तयार पारिएको छ । विज्ञप्तिका अन्य बुंदामा सहमति भएको देखाए पनि २०१५मा पेरिस सम्मेलनले पारित गरेको संझौतामा भने ट्रम्पले हस्ताक्षर गरेनन् । एक सातापछि यसको जवाफ दिने भनेर उनी त्यहाँबाट पञ्छिए । उक्त संझौतामा यस भन्दा अगाडि अमेरिकाले समर्थन जनाएको थियो ।
यसरी, जी७ सम्मेलन पनि सजिलो रहेन । शरणार्थी, आप्रवासन र व्यापारका विषयमा एउटै विज्ञप्ति निकाले पनि त्यहा गहिरो एकता थिएन भन्ने कुरा स्पष्ट छ । रुस तथा चीन जस्ता अन्य प्रतिस्पर्धीहरुका बारे एउटै धारणा बनाउन सफल भए पनि जी७का नेताहरु बीच पारस्पारिक एकता भने निर्माण हुन सकेन । जी७ सम्मेलनमा पनि ट्रम्प एकातिर र वांकी अर्कोतिर भएर एउटा गंभीर अन्तरविरोधपूर्ण स्थिति पैदा भयो । नेटो र जी७को सम्मेलनहरुमा पारस्पारिक अन्तरविरोधको स्थितिमा खासै फरक देखा परेन ।
निस्कर्ष
नेटो हुदै जी७को शीखर सम्मेलन सम्म आईपुग्दा साम्राज्यवादीहरुका बीचको अन्तरविरोध छताछुल्ल भएको स्पष्ट देखिन्छ । यो प्रक्रियामा समाबेश नभएको रुसले यो लेख तयार पार्दासम्म केही बोलेको थाह पाईएको छैन । तर, चीनले भने जी७को संयुक्त विज्ञप्तिको कडा विरोध जनाई सकेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लुकाङ्गले आज आईतबार सबेरै एउटा वक्तव्य निकालेर अन्तरराष्ट्रिय कानुनको हवाला दिंदै जी७को शीखर सम्मेलनले ईस्ट चाईना सी र साउथ चाईना सी माथि हस्तक्षेप गरेको छ भनी चिनीया अनलाईन पत्रिका ग्लोबल टाईम्सले समाचार लेखेको छ । यो सबै कुराले के स्पष्ट गर्दछ भने विश्व यतिबेला बहुध्रुवमा विभाजित भएको छ र ती ध्र्ुवहरुका बीचका आपसी अन्तरविरोधहरु पनि चर्केर गएका छन् ।
यसरी विश्वमा एकातिर साम्राज्यवादी शक्तिहरुका बीचमा अन्तरविरोध चर्किरहेको छ भने अर्कोतिर उत्तर कोरियाले अमेरिकामाथि आणविक हमला गर्ने धम्की पनि दिईरहेको छ । यसका साथै ट्रम्प र सलमान जस्ता मूर्खहरुको जोडीले मध्यपूर्वमा युद्ध भडकाउन गरेको कसरत बारे पनि यो लेखमा माथि नै उल्लेख गरि सकिएको छ । यी अन्तरविरोधका कारण मध्यपुर्वमा वा उत्तर कोरियामा वा दुवै क्षेत्रमा युद्ध भडकिने र रुस तथा चीन लगायतका सबै साम्राज्यवादी शक्तिहरु पनि ती युद्धमा तानिने संभावनालाई नजरअन्दाज गर्न सकिन्न । यति बेला विश्वमा तेस्रो विश्व युद्धको बादल मडारिई रहेको छ ।
यो साम्राज्यबाद तथा सर्बहारा क्रान्तिको युगमा साम्राज्यवादीहरुका बीचको अन्तरविरोध चर्किनु भनेको सर्बहारा क्रान्तिका लागि अनुकुल परिस्थितिको निर्माण हुनु हो । वस्तुगत परिस्थिति अनुकुल हुदै गए पनि क्रान्तिकारीहरुको आत्मगत स्थिति भने विश्वभरी र नेपालमा पनि निकै कमजोर छ । यो स्थितिमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई आनो मार्गदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले सचेत प्रयत्न मार्फत आत्मगत स्थितिको निर्माणमा जोड दिनु पर्दछ । यही नै क्रान्तिकारी कम्युनिस्ट माथि परिस्थितिले सुम्पेको जिम्मेदारी हो ।