विप्लव जीहरुले गरेको निर्वाचन बहिस्कार ‘अवसरवादी बहिस्कार’ हो

प्रकाशित मिति : २०७४ जेष्ठ १८

- हरिभक्त कँडेल, प्रवक्ता, नेकपा (क्रान्तिकारी माओवादी)

  • माकेले माओवादीको नाममा वास्तविक माओवादीहरुकै घाँटी निमोठ्ने दुस्प्रयास गरिरहेको छ ।
  • भारतीय विस्तारवादसँग प्रचण्ड नेतृत्वको सरकारले गरेको २५ बुँदे राष्ट्रघाती सम्झौताको हामीले व्यापक रुपमा भण्डाफोर गरेका थियौ, त्यसबाट उनीहरु अत्तालिएका थिए । जनताको बीचमा व्यापक मात्रामा जान्छ र हामी अझ नांगिन्छौं र त्यसले चुनावी परिणाममा असर पु¥याउँछ भन्ने उनीहरुलाई डर भयो । र, हामीमाथि निरंकुशता लाद्न पुगे ।
  • अहिलेको व्यवस्था, सत्ता र संविधानको विरुद्ध भण्डाफोर चलाउने पार्टी हाम्रो मात्रै भयो, निर्वाचनमा भाग लिएका अरु सबै यही व्यवस्था र संविधानका पक्षधर थिए । यस्तो अवस्थामा हामीले जित्ने भन्दा पनि उम्मेदवारी दिनु नै ठूलो कुरा थियो । तर उम्मेदवारी मात्रै होइन, दुई ठाउँमा त जित नै हासिल भएको छ ।
  • सत्ता, शक्तिको दुरुपयोग गर्ने, साम, दाम, दण्ड, भेदको नीति अपनाएर ल्याएको मत परिणामलाई वास्तविक जनमत भन्न मिल्दैन ।
  • अहिले निर्वाचनको क्रान्तिकारी उपयोगको कार्यनीति नै सबभन्दा क्रान्तिकारी हो । क्रान्तिकारी उपयोग सबभन्दा राम्रो लेनिनले गर्नुभएको छ । दुमामा । हामीले त्यही शैली अपनाउन खोजेको हो ।

पहिलो चरणको निर्वाचन पछि बसेको नेकपा (क्रान्तिकारी माओवादी)को कार्यालय बैठकमा के के विषयमा छलफल भयो ? 

–स्थानीय तह निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने जुन पार्टीले लिएको नीति छ, त्यो सही छ । वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था र पश्चगामी संविधानको भण्डाफोर र पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार निर्माण गर्ने जुन उद्देश्य लिइएको थियो, मूलरुपमा त्यसमा सफल भएका छौं । केही हाम्रा सीमा तथा कमजोरीका बाबजुद वैचारिक तथा राजनीतिक रुपमा हामी विजयी भएका छौं । जनताबीचमा हाम्रो पार्टी, मोर्चाप्रति रहेका भ्रमहरु चिर्दै पार्टीले लिएका नीतिलाई जनताबीचमा पु¥याउन सफल भएका छौं । यही स्पिरिटमा कार्यालय बैठकमा छलफल चल्यो ।

क्रान्तिकारी उपयोग सबैभन्दा अप्ठ्यारो रहेछ भन्ने पनि अनुभूति गरियो । अहिलेको समसामयिक राजनीतिक अवस्थामा संसदवादी राजनीतिक पार्टीहरुले जसरी अराजनीतिक, अनैतिक ढंगले मूल्यहीन राजनीतिक अभ्यास गरिरहेका छन्, एकले अर्कोलाई उपयोग गर्ने नीति र उपभोक्तावादी नीतिका पसल थाप्ने काम भएको छ, त्यसको भीडमा हामी भिन्दै धातुले बनेका मान्छे हौ भन्ने हामीले स्थापित गराउन सक्यौं । वर्गप्रति इमान्दार र सिद्धान्तप्रति निष्ठावान राजनीतिको हामी रोलमोडल बनेका छौं ।

चुनावी परिणाम अनुसार हाम्रो भौतिक उपस्थिति कमजोर रह्यो । यसो हुनुका धेरै कारणहरु छन् । मुख्यगरी कांग्रेस, एमाले र माके, त्यसमा पनि सरकारले हाम्रा विरुद्धको षड्यन्त्रपूर्वक चालेको कदम र प्रदर्शन गरेको निरंकुशताले नकारात्मक रुपमा ठूलो भूमिका खेल्यो । चुनाव चिन्ह नदिइदा जनतामा हाम्रा उम्मेदवारहरु स्वतन्त्र हैसियतमा चुनाव लड्न बाध्य भए । उम्मेदवारी मनोनयनपछि पाएको चुनाव चिन्हको मददाताबीचमा प्रचार नै गर्न पाइएन । हाम्रा थुप्रै मतदाताहरुको मतदाता नामावलीमा नाम समावेश गराउने अवसर दिलाइएन । यति हुँदा हुँदै पनि हाम्रा उम्मेदवारहरुले पाएको जनमत र त्यसको गुणात्मकतालाई हेर्दा राम्रो सम्भावना देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले तपाईंहरुलाई दलीय चुनाव चिन्हमा निर्वाचनमा भाग लिनबाट बञ्चित गराउनुमा चाहिं कारण के देख्नुहुन्छ ?

– उनीहरुले गरेको व्यापक भ्रष्टाचार, कमिसन, तस्करी, अराजनीतिक चरित्रको प्रदर्शन, जनघात, राष्ट्रघातको जनताबीचमा भण्डाफोर हुने डरले उनीहरु डराएर यस्तो षड्यन्त्र गरेका हुन् । भारतीय विस्तारवादसँग प्रचण्ड नेतृत्वको सरकारले गरेको २५ बुँदे राष्ट्रघाती सम्झौताको हामीले व्यापक रुपमा भण्डाफोर गरेका थियौ, त्यसबाट उनीहरु अत्तालिएका थिए । जनताको बीचमा व्यापक मात्रामा जान्छ र हामी अझ नांगिन्छौं र त्यसले चुनावी परिणाममा असर पु¥याउँछ भन्ने उनीहरुलाई डर भयो । र, हामीमाथि निरंकुशता लाद्न पुगे । माकेले माओवादीको नाममा वास्तविक माओवादीहरुकै घाँटी निमोठ्ने दुस्प्रयास गरिरहेको छ ।

पहिलो चरणको निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिमा चाहिं कति हदसम्म सफल हुनु भयो ?

–केही सीमा, कमजोरीका बाबजुद मूलभूत रुपमा हामी सही छौं र सफल भएका छौं । लामो समयपछिको निर्वाचन भएकोले जनताको लागि स्थानीय चुनाव उत्सव जस्तै भएको थियो । समय अभावका कारण जनतामा हामीले राम्रो र प्रभावकारी हिसाबले हाम्रा कुरा लैजान सकेनौं ।

विगतको भन्दा यसपटकको निर्वाचन उपयोग गर्दा केही फरक अनभुव हाँसिल भयो कि ?

–चौथो मसालदेखि मोटो, पातलो मसाल हुँदै अहिलेसम्म आउँदा थुप्रै बहिस्कार र उपयोगका अनुभवहरु हामीले हाँसिल गरेका छौं । दोस्रो संविधानसभाको चुनाव बहिस्कार र अहिलेको चुनावको उपयोगको सन्दर्भ धेरै फरक छ । अनुभवले के देखायो भने निर्वाचनको क्रान्तिकारी उपयोग बहिस्कार भन्दा जटिल प्रक्रिया हो । वैचारिक हिसाबले माथि नउठेका कार्यकर्ता र जनतामा पार्टीको नीति, योजना र कार्यक्रमभन्दा पनि जित–हार प्रधान हुने रहेछ । अहिलेको व्यवस्था, सत्ता र संविधानको विरुद्ध भण्डाफोर चलाउने पार्टी हाम्रो मात्रै भयो, निर्वाचनमा भाग लिएका अरु सबै यही व्यवस्था र संविधानका पक्षधर थिए । यस्तो अवस्थामा हामीले जित्ने भन्दा पनि उम्मेदवारी दिनु नै ठूलो कुरा थियो । तर उम्मेदवारी मात्रै होइन, दुई ठाउँमा त जित नै हासिल भएको छ ।

यो कार्यनीतिले क्रान्तिको लागि केही आधार तयार पार्न सक्यो ?

–देजमोको घोषणा पत्र, भण्डाफोर सभा, समाजिक संजाल र हाम्रो मिडिया मार्फत् जनताबीचमा गरिएको भण्डाफोरका कार्यक्रमहरुले जनतालाई सत्यतथ्य बुझ्न सहयोग पु¥यो । जनतासँग गरिएको भेटघाट, कुराकानीबाट पनि के बुझ्न सकिन्थ्यो भने हाम्रो मोर्चा र पार्टीप्रति जनताको ठूलो अपेक्षा देखियो । यसले संगठन निर्माणको बलियो आधार निर्माण गरेको छ । क्रान्तिको लागि क्रान्तिकारी संगठन पहिलो सर्त हो ।

पहिलो चरणको चनावी परिणामले क्रान्तिकारी ध्रुवीकरण ल्याउने देख्नुहुन्छ ?

–माकेलगायत सबै संसदवादीहरुले सबै हथ्कण्डा प्रयोग गरेर जसरी पनि चुनाव जित्ने रणनीति लिए । पार्टीको विचार, सिद्धान्त, रणनीति, कार्यनीतिलाई यही प्रवृत्तिले खायो । उनीहरु मिलिजुली, बाँडीचुँडी खाने लाइनमा गए । यो भनेको संसदीय व्यवस्थाको संकटको अभिव्यक्ति हो । विचार र मूल्यको राजनीति गर्न उनीहरु पूर्णतः असफल भए । बुर्जुवा राजनीतिमा यस्तो अपवित्र साँठगाँठ विरलै देख्न पाइन्छ । यसर्थ, स्थानीय तहको पहिलो चरणको निर्वाचन हास्यास्पद बन्यो । जनता कुनै पनि पार्टीप्रति विश्वस्त नभएको देखियो । सत्ता, शक्तिको दुरुपयोग गर्ने, साम, दाम, दण्ड, भेदको नीति अपनाएर ल्याएको मत परिणामलाई वास्तविक जनमत भन्न मिल्दैन ।

यस पृष्ठभूमिमा वास्तविक कम्युनिष्ट क्रान्तिकारीहरु बीचमा ध्रुवीकरणको सम्भावना बढेर गएको छ । हाम्रो पार्टीले मालेमाको सैद्धान्तिक आधारमा नयाँ जनवादी क्रान्तिलाई सम्पन्न गर्ने सर्तमा त्यस्तो ध्रुवीकरणको आव्हान गर्छ । वास्तविक क्रान्तिकारीहरुको ध्रुवीकरणको नेतृत्व अहिले नेकपा (क्रान्तिकारी माओवादी)ले नै गरिरहेको छ ।

निर्वाचनको बहिस्कार गरेर क्रान्तिकारी भएको दावी गर्नेहरुलाई चाहिं के भन्नुहुन्छ ?

–सबै बहिस्कार क्रान्तिकारी हुँदैनन् । बहिस्कार पनि अवसरवादी र प्रतिक्रियावादी हुन्छन् । बहिस्कारको नाममा आर्थिक आर्जन गर्ने र आफ्नो पार्टीको अस्तित्व धान्न र सस्तो लोकप्रियताको लागि मात्र बहिस्कारवादीहरुले बहिस्कार गरेजस्तो देखियो । विप्लव जीहरुले गरेको बहिस्कार अवसरवादी बहिस्कार हो । कार्यनीति कार्यदिशासँग जोडिनु पर्दछ । उनीहरुको कार्यदिशा नै छैन । अहिले निर्वाचनको क्रान्तिकारी उपयोगको कार्यनीति नै सबभन्दा क्रान्तिकारी हो । क्रान्तिकारी उपयोग सबभन्दा राम्रो लेनिनले गर्नुभएको छ । दुमामा । हामीले त्यही शैली अपनाउन खोजेको हो ।

निर्वाचन सकिएपछि क्रान्तिकारी माओवादीको कार्यनीतिक आगामी स्टेप चाहिं के हुन्छ ?

यो निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ । त्यसले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दु बनाएर कार्यक्रमहरु तय गर्छ । जनविद्रोहको कार्यदिशालाई अझ मूर्तिकरण गर्ने र नेपाल र विश्वको परिस्थितिको ठोस अध्ययन गरी कार्यदिशालाई समृद्ध पारिने छ । आत्मगत र वस्तुगत स्थितिको अध्ययन गरी नयाँ संश्लेषण गरे अगाडि बढिन्छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने कार्यदिशा लिनेहरुका बीचमा ध्रुवीकरणको आव्हान पनि हामीले गर्छौ ।