अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणका विरुद्ध आज (आइतबार, २२ गते, २०८२) ३७ औं दिन पनि इरानले निकै ठूलो वीरता, सौर्यताका साथ बलिदानीपूर्ण प्रतिरोध गरिरहेको छ । अमेरिकी साम्राज्यवादलाई धुलो चटाउने हैसियतका साथ निकै आक्रमक रुपमा इरानले प्रतिरोध गरिरहेको छ । आफ्नो देशका मुख्य नेतासहित नेतृत्वको करिब दुई तह नै सकिँदा पनि इरानले हार मानेको छैन । बरु अझ बढी एकताबद्ध र सुदृढ रुपमा अमेरिका र इजरायललाई मुखतोड जवाफ दिइरहेको छ । तीन दिनमा इरानलाई समाप्त पार्ने भन्दै आक्रमण गरेको अमेरिका युद्धको ३७ औं दिनसम्म आइपुग्दा पटक पटक यो युद्धबाट उम्कन खोज्दा पनि सकिरहेको छैन । बरु युद्ध थप लम्बिदै जाने र अन्ततः अमेरिकाले भियतनाममा जस्तै हार व्यहोर्नुपर्ने अवस्था देखापरिरहेको छ ।
चर्चित अमेरिकी सञ्चारकर्मी टकर कार्लसनले लिएको एक अन्तर्वार्तामा पछिल्लो समय चर्चामा रहेका चिनियाँ प्रोफेसर जियाङ शुएकिनले दावी गरेजस्तै इरान युद्ध लामो समयसम्म तन्किने र यसले विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र ढुवानी मार्गहरूमा गम्भीर धक्का पुऱ्याउने देखिएको छ ।
पछिल्ला विकसित घटनाक्रम
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता गर्न तथा जलमार्ग होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा तोकेपछि इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, याद गर, मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ। समय सकिँदै छ। अब ४८ घण्टा मात्र बाँकी छ।’ यस समयभित्र आफूले भनेजस्तो नभए इरानले नर्कको अवस्था’ भोग्नुपर्ने चेतावनी उनले दिएका छन्।
यसमा जवाफ फर्काउँदै इरानी सेनाको मुख्यालय (खातम अल अन्बिया) का कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन्।
बीबीसी फारसीका अनुसार उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ।’
अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
पाँच हजार बढीको मृत्यु
जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ। विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित भन्दै रोयटर्सले सार्वजनिक गरेको मृतकको विवरण यस्तो छ, इरानमा ३,५१९ जना मारिए, अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्। लेबननमा १,३१८ जना मारिए । लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।
छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए। इराकमा कम्तीमा १०७ जना मारिए । इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान(समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका(समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायलमा १९ जना मारिए । इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिकामा १३ जना मारिए । अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
खाडी क्षेत्रमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्। यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ।
दुईवटा अमेरिकी जहाँज इरानले खसालेपछि ट्रम्प आक्रोशित
शुक्रबार इरानले आफ्नो भूमिमा दुईवटा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले ४८ घन्टाको अल्टिमेटम दिएर स्ट्रेट अफ हर्मुज खुला गर्न भनेका छन् । उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक बेपत्ता छन्। खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा पनि इरानी हमला भएको थियो।
इरान युद्ध सुरू भएको फेब्रुअरी २८ यता ट्रम्पले पटकपटक सम्झौताका लागि अल्टिमेटम दिँदै आएको छन्। त्यसका बाबजुद पनि सम्झौता हुन सकेको छैन।
इरानको सशक्त प्रत्याक्रमण
ट्रम्पले इरानलाई आधुनिक सभ्यताबाट विच्छेद गराई पुनः ढुंगे युगमा पुर्याइदिने भन्दै इरानका भौतिक पूर्वाधार पुल र विद्युत गृहहरु ध्वस्त पार्ने खुल्ला धम्की दिएका छन् । त्यसको प्रतिुत्तरमा इरानले शब्दमा होइन युद्ध मैदानमा भयानक अस्त्रहरुले जवाफ फर्काइरहेको छ। वर्तमान इजराइल इरान युद्धको सबैभन्दा भयानक र विनाशकारी पक्ष भनेको इजराइल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरुमाथि भैरहेको अभूतपूर्व आक्रमण हो। इरानको इस्लामिक रेभोलुसनरी गार्ड क्रप्सले आफ्नो तेस्रो चरणको सैन्य कारबाही अन्तर्गत इजराइली भूमि र अमेरिकी रणनीतिक केन्द्रहरुलाई निशाना बनाउदै छेप्यास्त्र र ड्रोनहरुको वर्षा गरिरहेको छ। इजराइलका प्रमुख शहरहरु र सैन्य इलाकाहरुमा अहिलेसम्मकै सबैभन्दा घातक प्रहार भएको छ जसका कारण कैयौ गगनचुम्बी भवनहरु र सैन्य संरचनाहरु आगोको चपेटामा परेका छन्। इजराइली प्रतिरक्षा प्रणाली आइरन डोमले एकै साथ आउने सयौ ड्रोन र मिसाइलहरुलाई रोक्न नसक्दा ठुलो मात्रामा भौतिक र मानवीय क्षति भएको छ। विशेषगरी, इजराइलका नेभातिम र बेनगुरियन जस्ता रणनीतिक हवाई अड्डाहरुका रनवेहरुमा भीषण बमबारी गरिएको छ, जसले गर्दा इजराइली वायुसेनाको परिचालन क्षमतामा गम्भीर धक्का पुगेको छ। धुवाको ठुलो मुस्लोले आकाश ढाकिएको र एम्बुलेन्सहरुको निरन्तरको आवाजले इजराइलभित्रको अवस्था कति भयावह छ भन्ने प्रष्ट रुपमा देखिएको छ । त्यसो त इरानको निशानामा इजराइल मात्र नभै यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरु पनि परेका छन्। जोर्डनमा अवस्थित अमेरिकाको अत्यन्तै महत्वपूर्ण अल अजरक एयरवेसमाथि गरिएको भीषण हमलाले वासिङटनलाई स्तब्ध बनाएको छ। यो एयरवेज पश्चिम एसियामा अमेरिकाको सबैभन्दा ठुलो र सुविधा सम्पन्न वायुसेना केन्द्र मध्ये एक हो। जहाँ अत्याधुनिक अमेरिकी फाइटर जेटहरु, जासुसी विमानहरु र कम्ब्याट ड्रोनहरु तैनाथ गरिएका छन्। इरानी मिसाइलहरुले यस एयरवेजको संचार केन्द्र र ह्याङरहरुमा क्षति पुर्याएको छ, जसले गर्दा मध्यपूर्वमा अमेरिकी सैन्य सर्वोच्चतामाथि नै प्रश्न उठेको छ। इरानको इस्लामिक रिभोल्सनरी गार्ड कपले आफ्नो तेस्रो चरणको युद्ध अन्तर्गत बहराइनमा रहेको विश्व प्रसिद्ध कम्पनी अमेजनको क्लाउड कम्प्युटिङ डाटा सेन्टर माथि भीषण आक्रमण गरेको छ। यो आक्रमण रणनीतिक रुपमा अत्यन्तै अर्थपूर्ण मानिएको छ, किनकि अमेजनको क्लाउड सेन्टरले केवल व्यापारिक डाटा मात्र नभई यस क्षेत्रमा रहेका अमेरिकी र इजराइली सैन्य तथा रणनीतिक संचार प्रणालीहरुलाई समेत प्राविधिक आधार प्रदान गर्दै आएको थियो ।
इरानको १९ औ लहरको मिसाइल र ड्रोन प्रहारले अन्य महत्वपूर्ण आर्थिक र औद्योगिक पूर्वाधारहरुलाई पनि निशानामा पारेको छ। बहराइनकै अल्लाद इन्डस्ट्रियल सिटी र अघिल्ला आक्रमणहरुमा बाकी रहेका युरेनियम प्रशोधन केन्द्रहरुमाथि पुनः हमला गरिएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रहेको अमेरिकी स्टिल उद्योगमाथि गरिएको प्रहारले अमेरिकाको बैदेशिक लगानी र औद्योगिक उपस्थितिलाई सिधा चुनौती दिएको छ। यता लेबनानको सिमा क्षेत्रमा हिजबुल्लाहाले इजराइली सेनाको घुसपैठलाई असफल बनाउन सस्तो तर प्रभावकारी एफपी ड्रोनहरुको प्रयोग गरिरहेको छ। यी साना ड्रोनहरुले इजराइलका करोडौं डलर मूल्यका ट्यांक र सशस्त्र सैन्य गाडीहरुलाई सजिलै ध्वस्त पारिरहेका छन्। त्यसो त हिजबुल्लाहाले पहिलो पटक इजराइलको अत्यन्तै संवेदनशील मानिने पल्माचिम एयरवेसमा इतिहासकै सबैभन्दा घातक १० हजार किलो वार हेड बोक्ने शक्तिशाली हतियार प्रहार गर्दा पलमाचिम एयरबेसमा ठुलो क्षति पुगेको छ। उक्त आक्रमणपछि हिजबुल्लाहले सार्वजनिक गरेका भिडियोहरुमा इजराइली सैन्य वाहनहरु खरानी भएको स्पष्ट देखिन्छ। अमेरिकी र इजराइली सैन्य अखडाहरुमा भैरहेको यो आक्रमणले के स्पष्ट पार्छ भने इरान र उसका सहयोगी शक्तिहरु अब केवल रक्षात्मक मात्र नभई आक्रामक रुपमा उत्रिएका छन्। यो क्षति केवल भौतिक मात्र नभएर रणनीतिक र मनोवैज्ञानिक पनि हो। जसले गर्दा इजराइल र अमेरिकालाई यो युद्धमा आफ्नो परम्परागत सैन्य श्रेष्ठता कायम राख्न कठिन बनाउदै लगेको छ।
इरानको पूर्वाधार ध्वस्त पार्दै अमेरिका
अमेरिकाले इरानका सैन्य अखडापछि पूर्वाधारलाई निशाना बनाइरहेको छ । अमेरिका र इजराइलले इरानको करा क्षेत्रमा रहेको अत्यन्तै महत्वपूर्ण विवान रणनीतिक पुलमाथि भीषण आक्रमण गरेका छन्। यो पुल इरानको आन्तरिक सैन्य परिवहन र नागरिक आवागमनका लागि एक मुख्य मेरुदण्ड मानिन्छ। यसपटक अमेरिकाले कराज पुलमा डबल ट्याप रणनीतिको प्रयोग गरेको छ, जुन युद्ध अपराधको श्रेणीमा पर्ने गर्दछ। डबल ट्याप रणनीति भन्नाले पहिलो पटक हमला गरि क्षति पुर्याएपछि फेरी दोस्रो पटक त्यही स्थानमा आक्रमण गर्नु हो। जब अमेरिकाले पहिलो पटक पुलको संरचनालाई धराशाही बनायो, त्यसको ठिक एक घण्टा पछि उद्धार टोली र स्थानीय नागरिकहरु घाइतेको मद्दतका लागि त्यहाँ पुगेका थिए। ठिक त्यही समयमा दोस्रो मिसाइल प्रहार गरि मानवीय क्षति गरायो। उक्त प्रहारमा उद्धारमा खटिएका कैयौ व्यक्ति र आम नागरिकहरुको समेत ज्यान गएको छ, जसले गर्दा इरानभित्र मानवीय र संवेगात्मक आक्रोशको लहर पैदा गरेको छ। यस पूर्वाधार विनाशको जवाफमा इरानले पनि उत्तिकै आक्रामक रणनीतिक कदम थालेको छ।
इरानको आधिकारिक समाचार एजेन्सी फार्स न्यजले इजराइलका सहयोगी अरब राष्ट्रहरु र अमेरिकी सैन्य उपस्थिति रहेका देशहरुमा रहेका महत्वपूर्ण पुल रणनीतिक केन्द्रहरुको एक हिटलिस्ट नै सार्वजनिक गरेको छ। इरानले कुवेतको अलअमद, अल सभा ब्रिज, साउदी अरब र बहराइन जोड्ने किङ फहद कजवेै, अबुधाबीको अल मक्ता ब्रिज र जोर्डनको किङ हुसेन ब्रिज जस्ता विश्व प्रसिद्ध र आर्थिक रुपमा महत्वपूर्ण संरचनाहरुको सटिक लोकेसन र नाम जारी गर्दै ती ठाउँहरुमा कुनै पनि समयमा आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ। इरानको यो कदमले के प्रष्ट हुन्छ भने अमेरिका र इजराइलले जस्तो प्रकारको हमला गर्छन्इ, रानले ठिक त्यस्तै प्रकारको जवाफ दिनेछ। यस अघि अमेरिका र इजराइलले इरानको भुसर स्थित डिसलिनेसन प्लान्टमा मिसाइल आक्रमण गर्दा त्यसको जवाफमा इरानले संयुक्त अरब इमिरेट्सको जेबेल अली स्थित डिस्यालिनेसन प्लान्टमा आक्रमण गरेको थियो भने जब अमेरिकाले इरानको केन्द्रीय बैंकलाई क्षति पुर्यायो, त्यसको बदलामा इरानले साउदी अरब र बहराइनका प्रमुख राष्ट्रिय बैंकहरुलाई नै निशाना बनाएको थियो। यस्तै अमेरिकाले इरानको उर्जाको मुटु मानिने साउथ पार्स ग्यास फिल्डको मुख्य प्लान्टमा आक्रमण गर्दा इरानले त्यसको सिधा बदला लिन कतारको नर्थ फिल्ड ग्यास प्लान्टलाई निशाना बनाएको थियो। इरानको तर्क अनुसार यदि खाडी भूमिमा रहेर इरानी जमिनमा आक्रमण हुन्छ भने त्यो आक्रमणलाई खाडी देशको सहमति मानिनेछ र इरानले पनि त्यस्तै जवाफ दिनेछ। त्यसैले यदि साच्चै इरानको हेडलिस्टमा परेका यी प्रमुख पुलहरु माथि आक्रमण भयो भने खाडी क्षेत्रको व्यापार, तेल ढुवानी र सैन्य संचालन पूर्ण रुपमा पक्षघात हुनेछ। पूर्वाधारमाथिको यो प्रहार केवल सिमेन्ट र फलामको संरचना भत्काउनु मात्र होइन बरु यो एक गम्भीर मनोवैज्ञानिक युद्ध पनि हो। पुलहरु ध्वस्त पार्नुको अर्थ शत्रुको सैन्य सुदृढकरण रोक्नु र आम नागरिकमा त्रास फैलाएर सरकारमाथि दबाब सिर्जना गर्नु हो। इरानले सार्वजनिक गरेको सुचीले मध्यपूर्वका ति राष्ट्रहरुलाई पनि प्रत्यक्ष युद्धको जोखिममा ल्याएको छ, जसले आफ्नो भूमि अमेरिकी सेनालाई प्रयोग गर्न दिएका छन्।
रणनीतिक केन्द्रहरु जस्तै संचार टावर, विद्युत गृह र यातायातका मार्गहरुमाथि भैरहेका यी आक्रमणहरुले आधुनिक युद्ध अब कति निर्दय र व्यापक हुदैछ भन्ने पुष्टि गर्दछ। यो पूर्वाधार युद्धले गर्दा अब पुननिर्माणका लागि दशकौ समय लाग्ने मात्र होइन अर्बौ डलर खर्च समेत बढाउन सक्छ। जसले गर्दा यो क्षेत्रको भविष्य थप अन्धकार तर्फ धकेलिन सक्छ। इरानी युरेनियम लुट्ने अमेरिकी योजना पेन्टागन अर्थात अमेरिकी रक्षा मन्त्रालयले इरानको आणविक महत्वाकांक्षालाई सदाका लागि अन्त्य गर्न जुन ब्लुप्रिन्ट तयार पारेको छ, त्यो कागजमा जति प्रभावशाली देखिन्छ युद्धको मैदानमा त्यति नै आत्मघाती र जटिल बन्न सक्छ।
पेन्टागनको मुख्य योजना भनेको इरानका विभिन्न छ सात वटा प्रमुख आणविक केन्द्रहरुमा छरिएर रहेको करिब ४५० किलो संवर्धित युरेनियमलाई आफ्नो नियन्त्रणमा लिनु हो। अमेरिकालाई डर छ कि यदि यो युरेनियम इरानले परमाणु बम बनाउन प्रयोग गर्यो भने मध्य पूर्वमा इजराइल र अमेरिकी सैन्य आधार इलाकाहरुको सुरक्षा सधैका लागि जोखिममा पर्नेछ। यो संवर्धित युरेनियम नै त्यस्तो साधन हो, जसले इरानलाई थ्रेसहोल्ड नक्लियर स्टेटमा बाट पूर्ण परमाणु शक्ति राष्ट्रमा बदल्न सक्छ। त्यसैले यतिबेला अमेरिकाले सर्जिकल स्ट्राइकभन्दा माथि उठेर एक बृहत ग्राउन्ड इन्भिजनको खाका कोरेको छ। उक्त योजना अनुसार अत्याधुनिक बटु स्टिल्थ बम बर्षकहरुले बंकरबस्टर बमहरु प्रयोग गरी इरानको भूमिगत सुरुङ र सुरक्षा संयन्त्रलाई ध्वस्त पारेपछि अमेरिकी प्याराटुपर्स र मरिन्स कमान्डोहरुलाई प्यारासुट मार्फत सिधै आणविक स्थलहरुमा उतार्ने सोच बनाएको छ । यी विशेष दस्ताको मुख्य जिम्मेवारी भनेको भग्नावशेषभित्र लुकाइएको युरेनियम पत्ता लगाउनु, त्यसलाई सुरक्षित कन्टेनरमा राख्नु र हेलिकप्टर वा अन्य माध्यमबाट बाहिर निकाल्नु हो। तर पेन्टागनको यो महत्वाकांक्षी योजना र इरानको जमिनी यथार्थ बीच आकाश जमिनको अन्तर छ । किनकि, इरानको भौगोलिक बनावट र उसको सैन्य तयारी अमेरिकाका लागि मुख्य चुनौती बन्न सक्छ। यतिबेला इरानले उक्त ४५० किलो सम्वर्धित युरेनियम एकै ठाउँमा नभई विभिन्न अज्ञात र पहाडी गुफाहरुमा विभाजित गरेर राखिएको हुन सक्ने प्रबल सम्भावना छ । यस्तो अवस्थामा अमेरिकी सैनिकहरु कुन ठाउँमा ओर्लिने र कहाँ खोज्ने भन्ने अन्योलता नै पहिलो चुनौती बन्न सक्छ। यसैगरी दोस्रो चुनौतीमा इरानले हर्मुत जलडमरु रणनीतिक क्षेत्रहरुमा करिब ६ लाख सैनिक तैनात गरेको छ र उनीहरुलाई कडा आदेश दिएको छ। यदि अमेरिकी प्यारा ट्रुपर्स इरानी भूमिमा ओर्लिए भने उनीहरु चारैतिरबाट घेरामा पर्ने र सुसाइड मिसनमा परिणत हुने निश्चित छ। तेस्रो र सबैभन्दा भयानक पक्ष भनेको आणविक विकिरण हो। अमेरिकी बम्बारीले पहिले नै ध्वस्त पारेका आणविक केन्द्रहरुमा रेडियो धर्मी चुहावट भैरहेको हुन सक्छ। जहाँ विशेष सुरक्षा सुट बिना पस्नु भनेको मृत्युलाई निम्तो दिनु सरह हो। नाकबाट निकालेको आवाजे ध्वस्त बंकरका सुरुङहरुमा युरेनियम खोज्नु भनेको घासको झाडीमा हराएको सियो खोज्नु भन्दा पनि कठिन कार्य हो। इरानको आइआरजीसी र नया नेतृत्वले अपनाएको असिमेट्रिक वारफेयर नीतिले अमेरिकी सैनिकहरुका लागि प्रत्यक पाइला धराप बन्न सक्छ। पेन्टागनले बनाएको योजनाले इरानलाई कमजोर बनाउनुको साटो उल्टै अमेरिकी सेनालाई एक यस्तो अन्त्यहिन दलदलमा फसाउन सक्छ, जहाँबाट सुरक्षित अवतरण वा जितको कुनै सुनिश्चितता छैन। इरानमा युरेनियमका लागि भइरहेको यो युद्धले आज दुई देशलाई मात्र होइन, बरु रुस, चीन र उत्तर कोरिया जस्ता शक्तिहरुलाई पनि प्रत्यक्ष परोक्ष रुपमा युद्धको मैदानमा तानिरहेको छ। यदि अमेरिकाले यो युरेनियम कब्जा गर्न असफल भएमा इरानले परमाणु परीक्षण गर्ने निश्चित छ, जसले विश्वको सामरिक नक्सालाई नै सदाका लागि परिवर्तन गरिदिनेछ। अमेरिका र इरानबीचको यो महासंग्राम अब केवल दुई राष्ट्रको प्रतिष्ठाको लडाई मात्र रहेन। यो त शताब्दीको सबैभन्दा जटिल र निर्दयी रणनीतिक चक्र बन्न पुगेको छ। एकातिर इरानले आफ्नो अस्तित्व रक्षाका लागि खाडीका समृद्ध राष्ट्रहरुलाई मिरर अट्याकको निशानामा पारेर विश्वकै उर्जा र डिजिटल मेरुदण्डमाथि प्रहार गरिरहेको छ भने अर्कोतिर इजराइलले यो विध्वंशभित्र आफ्नो क्षेत्रीय सर्वोच्चताको सपना देखिरहेको छ। इजराइल इरानलाई यति धेरै उत्तेजित बनाउन चाहन्छ कि उसले आफ्नो सारा रिस र मिसाइल खाडीका अरब राष्ट्रहरुमाथि खन्याओस्। यदि इरानको आणविक क्षमता ध्वस्त हुन्छ र खाडीका अघोषित शत्रु मानिने अरब देशहरुको दशकौको आर्थिक समृद्धि र पूर्वाधार खरानी हुन्छ भने त्यसको पावर भ्याकुममा इजराइल मात्र मध्य पूर्वको निर्विकल्प र एकमात्र शक्तिशाली नायक बनेर उदाउने छ। यो इजराइलको एक तिर दुई निशानाको त्यो क्रुर रियल पोलिटिक हो, जहाँ छिमेकीहरुको विनाश नै उसको विकासको आधार बन्न सक्छ ।
मध्यपूर्वका ६ देशमा रहेका आप्रवासी श्रमिक जोखिममा
मध्यपूर्वका देशमा भएको तनावका कारण ती क्षेत्रका ६ देशमा रहेका आप्रवासी श्रमिकले सुरक्षा जोखिमसँगै मानसिक तनाव, खर्च र जागिरको चिन्ता बढ्नुका साथै आम्दानी घट्न थालेको बताएका छन् । उनीहरूले सुरक्षित रहने ज्ञानको कमी भएको, आप्रवासीमाथि विभेद गरिएको, कामको समय (वर्किङ आवर)घटेको तथा जीवनयापनको खर्च बढेको बताएका हुन् ।
मानव अधिकार तथा श्रमिक अधिकारमा काम गर्ने संस्था इक्विडेमले गरेको अनुसन्धानले श्रमिक विभिन्न रूपमा जोखिममा रहेको देखाएको हो । साउदी अरब, युएई, कतार, ओमान, बहराइन र कुवेतमा रहेका एसिया र अफ्रिकाका ४४ जना श्रमिकसँग गरिएको कुराकानी र अनुसन्धानबाट श्रमिकमा गम्भीर असर परेको देखाएको हो । उनीहरूले ‘सुरक्षा जोखिम, आम्दानीमा अवरोध, जीवनयापन खर्च बढ्दो अवस्थामा पुगेको’ बताएका हुन् ।
अमेरिका इजरायल–इरानबिचको युद्धले मध्यपूर्व तनावग्रस्त हुँदा त्यहाँ रहेका तीन करोड ५० लाखभन्दा बढी आप्रसावी श्रमिक सबैभन्दा ठुलो जोखिममा परेको इक्विडेमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । अमेरिका र इजरायलले १७ फागुनमा इरानमा संयुक्त हमला गरेपछि त्यसको जवाफमा इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डा तथा अन्य पूर्वाधारमा आक्रमण गरिरहेको छ । हालसम्म दक्षिण एसियाबाट गएका दुई दर्जन हाराहारी श्रमिकको निधन भइसकेको छ ।
इक्विडेमले गरेको अध्ययनका क्रममा युएईमा रहेका एक श्रमिकले भनेका छन्, ‘हामीलाई सुरक्षित रहन भनिएको छ, तर कसरी भनिएको छैन, हामी कहाँ जाने, भित्र बस्ने कि बाहिर जाने ? कसैले भनेका छैनन् ।’ अर्कातर्फ श्रमिकले कामको समयावधि कटौती गरिएको, पारिश्रमिक आउन ढिलाइ हुने गरेको तथा जागिरकै चिन्ता बढ्न थालेको समेत श्रमिकले बताएका छन् । बहराइनमा रहेका एक आप्रवासी श्रमिकले भनेका छन्, ‘मेरो काम गर्ने समय कटौती गरिएको छ, मैले काम गर्ने क्याफे केही दिन बन्द नै रहने गर्छ, तलब कटौतीका विषयमा भनिएको छैन, यदि यस्तै अवस्था रहे मेरो परिवारलाई कसरी सहयोग गर्ने ? चिन्ताले सुत्नै सकेको छैन ।’
इक्विडेमको अनुसन्धान विभागका प्रमुख तथा इक्विडेम रिसर्च नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालले मध्यपूर्वमा रहेका नेपालसहितका आप्रवासी श्रमिकमा धेरै ठुलो मनोवैज्ञानिक त्रासमा रहेको बताए । ‘यो अनुसन्धानका लागि हामी करिब दुई सय आप्रवासी श्रमिकसँग सम्पर्कमा पुगेका थियौँ,’ यो अनुसन्धानमा संलग्न उनले भने, ‘आप्रवासी श्रमिकले सुरक्षा जोखिमसँगै तलब घट्न वा नपाउन सक्ने, जागिर गुम्न सक्नेलगायत धेरै चिन्ता गरेका छन्, कतिपयले यस्ता समस्या सुरु भइसकेको बताएका छन् ।’ इक्विडेमको यो अनुसन्धानका क्रममा नेपाल, बंगलादेशलगायत दक्षिण एसियाली देश र अफ्रिकाका गरी ४४ आप्रवासी श्रमिकसँग भने अन्तर्वार्ता नै गरिएको उनले बताए । आप्रवासी श्रमिकले देशकै श्रमिकलाई सरह समान व्यवहार गर्न, युद्ध तथा सम्भावित आक्रमणको विषयमा सूचना तथा जानकारी दिन, श्रमिकको हक–अधिकारको सुनिश्चितता गर्नलगायत मागसमेत गरेका छन् ।
यसअघि श्रम तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा आप्रवासी श्रमिकले धेरै जोखिम भोग्ने गरेको र खाडी क्षेत्रमा यो जोखिम अझ बढी हुन सक्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । कोसिन अन लेबर जस्टिस फर माइग्रेन्ट इन गल्फ, एन्टी स्लेभरी इन्टरनेसनल, इक्विडेम, ग्लोबल लेबर जस्टिस, श्रमिक सञ्जाललगायत संस्थाले विज्ञप्ति जारी गर्दै आप्रवासी श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नसमेत माग गरेका थिए ।
(एजेन्सीहरुको सहयोगमा)































