ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवार रोमश श्रेष्ठले आफू निर्वाचित भएमा गोदावारीलाई ग्रिनसिटीको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।
गोदावारी नगरपालिका ५ मा को वडाअध्यक्षको उम्मेदवार रहेका श्रेष्ठले घरदैलो कार्यक्रममा मतदाताहरुसँग छलफल गर्दै पाँच वर्षमा गोदावरीलाई नमुना नगरका रुपमा विकास गर्न आफूहरुको भूमिका प्रमुख रहने बताए ।
उनले गोदावारी नगरपालिका काठमाडौंबाट केही किलोमिटर टाढा मात्रै रहेपनि यातायातको समस्या रहेकोले त्यसलाई यथाशिघ्र समाधान गर्ने, सो क्षेत्रमा रहेका लिच्छवीकालीन सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, पर्यटन प्रवद्र्धन लगायतका आफ्ना एजेन्डा जनताका सामु राखेको जानकारी दिए ।
नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनतान्त्रिक मोर्चाको तर्फबाट उनी वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका छन् ।
अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता समेत रहेका उनले चुनाव जिते पाँच वर्षको तलव भत्ताले वृद्वहरुको लागि वृद्वाश्रमको निर्माण गर्ने घोषणा गरे ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ट राजनीति सँगसँगै पर्यटन व्यवसायमा समेत सक्रिय रहँदै आएका छन् ।